Ad Area

देउखुरी स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


घोराही, ३ पुस । दाङको देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ बिजौरी निवासी करिव ३१ वर्षीय कृष्णबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मंगलबार राति साढे ७ बजेको समयमा रा १ प १४१८ नम्बरको गोरखा आइडियल स्कुल लालमटियाको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शाहीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ जाँदै गरेको बसले पश्चिततर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । घट्नापश्चात आक्रोशित स्थानीयहरूले पूर्व–पश्चिम राजमार्गको बिजौरी खण्डमा सडक अवरुद्ध गरेका थिए ।

मृतकको परिवारलाई क्षतिपूर्ति, मृतकको श्रीमतीलाई रोजगारी र २ बच्चालाई कक्षा १२ सम्म पढाउने लिखित सहमति भएपछि राती सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभएको छ ।