सातौँ संस्करणको मेयरकप फुटबल शुरु, वडा १३ को विजयी शुरुवात

घोराही, ५ पुस । घोराहीमा सातौँ संस्करणको मेयरकप फुटबल प्रतियोगितामा वडा नम्बर १३ ले विजयी शुरुवात गरेको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारबाट शुरू भएको मेयरकपको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर १७ लाई ३–२ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १३ ले विजयी शुरुवात गरेको हो ।
घोराही १८ नवलपुर फुटबल मैदानमा भएको खेलमा वडा नम्बर १३ का विक्रम जिएम, कपील बुढा र प्रमोद बुढाले १–१ गोल गरे । वडा नम्बर १७ का विक्रम बिक र सौरभ चौधरीले १–१ गोल गरे । पहिलो हाफ २–० गोलले अग्रता बनाएको वडा नम्बर १३ ले दोस्रो हाफमा वडा नम्बर १७ ले लगातार २ गोल गर्दै बराबरीमा पुर्याएको थियो ।
खेलको अन्तिम समयमा १३ वडाले पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दै साविक विजेता वडा नम्बर १७ लाई हराउँदै ३ अंक जोडेको छ ।
प्रतियोगिता अन्तरगतका सबै खेल नवलपर खेल मैदानमै हुनेछ । प्रतियोगिताको फाइलन खेल पुस २३ गते हुनेछ । प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडम, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ ।
लिग कम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा पालिकाभरका १८ वटा वडाको सहभागीता रहेको छ । अब शनिबारदेखि लिग चरणका खेलहरु दैनिक तीन वटा हुनेछ । शनिबार बिहान ११ बजे वडा नम्बर ११ र ७, दिउँसो १ बजे वडा नम्बर ५ र १० तथा ३ बजे वडा नम्बर १८ र १२ बिच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितिले जनाएको छ ।
नाम, सम्मान कमाउने गरी अनुशासित रुपमा खेल क्षेत्रमा लाग्न नयाँ पुस्तालाई आग्रह
प्रतियोगिताको उदघाटन घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनको अध्यक्षता तथा नगरप्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यमा भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि चौधरीले खेलमा पालिकाले एक वडा एक खेल मैदान, स्वस्थ युवा बनाउने अभियानलाई सफल बनाउन पालिकामा तालिका बनाएरै हरेक प्रकारका खेलकुदका गतिविधि शुरू गरेको बताउनुभयो । युवाहरूलाई खेलकुदमा जोड्दै उनीहरूको खेल क्षमताको विकास गर्न र खेल क्षेत्रलाई व्यावसायिक बनाउने नीतिलाई अघि सारेर हरेक वर्ष मेयर कप थालनी गरिएको भन्दै खेल पूर्वाधार सुधारमा पनि ध्यान दिएको बताउनुभयो ।
उहाँले खेल क्षेत्रबाट नाम, दाम, सम्मान कमाउन सक्ने गरी अनुशासित रुपमा खेल क्षेत्रमा लाग्न नयाँ पुस्तालाई आग्रहसमेत गर्नुभयो । राज्यले खेल क्षेत्रको वृहत विकासका लागि वातावरण बनाउँदै लगेको हुँदा यसको लाभ लिन सक्ने गरि खेल क्षेत्रमा लाग्न खेलाडी तथा नयाँ पुस्तालाई आग्रह गर्दै स्थानीय सरकारले यसमा सघाउँदै आएको बताउनुभयो ।
दक्ष खेलाडी उत्पादनका लागि प्रतिष्पर्धा आवश्यक हुने हुँदा उपमहानगरले धेरै ठाउँमा खेलकुद मैदान बनाएर युवाहरुलाई खेलमा आकर्षण गर्ने काम गरेको नगर प्रमुख चौधरीको भनाई थियो । उहाँले नवलपुर फुटबल मैदानको स्तर वृद्धिका लागि योजना अनुसार काम भईरहेको बताउनुभयो ।
सामाजिक विकास समिति संयोजक तथा नगरप्रवक्ता राममणि पाण्डेले अबका युवालाई सुधार गृह नभई खेल मैदान अति आवश्यक भएकाले हरेक वडामा खेल मैदान निर्माण गरेर उनीहरुको रुची अनुसारको खेलमा लाग्न प्रेरित गर्ने काम उपमहानगरले गरिरहेको बताउनुभयो ।
कार्यक्रममा घोराही १७ का वडा अध्यक्ष रामलौटन चौधरीले खेलकुद क्षेत्रको विकास र पवद्र्धनमा वडा कार्यालयदेखि सिंगो पालिका लागि परेको उल्लेख गर्दै खेल अनुशासन दैनिक जीवनमा पनि कार्यान्वयनमा लागू गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।
पालिकाको सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले उपमहानगरले भौतिक विकासलाई दिगोे राख्न सामाजिक विकाससँगै मानवीय विकासका लागि नागरिकको व्यवहार, आचरण तथा सोँच परिवर्तनमा पनि ध्यान दिएको बताउनुभयो ।
संस्थागत विद्यालयर्फबाट नगर खेलकुद विकास समिति सदस्य केशव थापाको स्वागत मन्तव्यबाट शुरु भएको उदघाटन सत्रको सहजीकरण नगर खेलकुद विकास समितिका सदस्य श्रवणकुमार खनालले गर्नुभएको थियो ।