Ad Area

घोराहीमा कोरोना राहत : मृतकका परिवारलाई ५० हजार


दाङ, १७ मंसिर । घोराहीमा कोरोना संक्रमणबाट मृतक परिवारलाई ५० हजार सहयोग गरिएको छ । घोराही उपमहानगरपालिकाले विहीवार एक कार्यक्रमको आयोजना गरी घोराही नगरभित्र बसोवास गर्ने कोरोना संक्रमणबाट मृत्यु भएका ५४ जनाको ५२ घरपरिवारलाई ५० हजारका दरले २७ लाख रूपैयाँको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले मृतकका परिवारलाई चेक हस्तान्तरण गरेका थिए । कोरोना संक्रमणका कारण मृत्यु भएको परिवारलाई आर्थिक रूपमा सहयोग पुगोस् भन्ने उद्देश्यले घोराही उपमहानगरपालिकाले मृतकका परिवारलाई ५० हजार रूपैयाँ सहयोग गरेको नगर प्रमुख चौधरीले बताए । ‘कोरोना संक्रमणबाट मृत्यु हुँदा मानवीय क्षतिसँगै आर्थिक खर्च भएको छ । त्यसमा पीडित परिवारलाई सानै भए पनि सहयोग पुगोस भन्ने उद्देश्यले केही समय पहिले ५० हजार रूपैयाँ सहयोग गर्ने निर्णय गरेका थियौँ’, नगर प्रमुख चौधरीले भने, ‘त्यहीअनुसार अहिले मृतकका परिवालाई चेक हस्तान्तरण गरेका छौँ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले अझै पनि कोरोना संक्रमणको अवस्था सामान्य नभएको र नयाँ भेरिएन्टको जोखिम समेत रहेकाले स्वास्थ्य सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका थिए । ‘कोरोना संक्रमणको दर कम भएको छ तर जोखिम सकिएको छैन’, उनले भने, ‘त्यसैले जोखिमबाट बच्नका लागि सावधानी सबैले अपनाउन आवश्यक छ ।’ कार्यक्रममा कोरोना संक्रमणबाट विभिन्न समयमा मृत्यु भएका ५४ जनाको परिवारलाई चेक हस्तान्तरण गरिएको थियो ।

घोराहीमा कोरोना संक्रमणबाट मृत्यु भएका तर प्रक्रियामा रहेका १५ परिवार जना र नयाँ दर्ता भएका २० परिवारलाई अर्काे चरणमा राहत वितरण गरिने घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले बताए । उनकाअनुसार उपमहानगरपालिकाले घोराही उपमहानगरपालिकाकै बासिन्दा हुनुपर्ने छ । घोराहीमा बसोवासका क्रममा मृत्यु भएको र उक्त नागरिकको नागरिकता वा मतदाता नामावली घोराहीमै भएका मात्र व्यक्तिहरूको परिवारलाई राहत रकम उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए । कोरोना संक्रमणका कारण मृत्यु भएका परिवारहरूलाई राहत स्वरूप प्रदेश सरकारले पनि एक लाख रूपैयाँ दिने भएको छ ।

प्रदेशको राहतको लागि निवेदन संकलन

यसैबीच कोरोना संक्रमणका कारण मृत्यु भएका परिवारहरूलाई राहत स्वरूप प्रदेश सरकारले उपलब्ध गराउने भनेको एक लाख रूपैयाँ दिनका लागि जिल्लामा निवेदन संकलन भइरहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारहरूबाट आएका निवेदनहरू अध्ययन गरेर राहतका लागि जिल्ला कोरोना संकट व्यवस्थापन समितिमा करिब २ सय ५० बढी निवेदनहरू पठाएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए । ‘कोरोनाबाट मृत्यु भएका परिवारहरूलाई राहत उपलब्ध गराउनका लागि स्वास्थ्य कार्यालयमा आएका निवेदनहरू अध्ययन गरेर प्रक्रिया पूरा भएका निवेदनहरू समितिमा पठाएका छौँ’, उनले भने, ‘दुई चरणमा करिब २ सय ५० बढी निवेदनहरू समितिमा पठाएका छौँ ।’

उनले अहिले पनि निवेदनहरू आउने क्रम जारी रहेको भन्दै आएका निवेदनहरू अध्ययन गर्दै प्रक्रिया पूरा भएका निवेदनहरू राहतका लागि पठाइदिने बताए ।

एक लाख ४६ हजारलाई खोप

जिल्लामा कोरोना विरूद्धको खोप करिब डेढ लाख व्यक्तिहरूलाई लगाइएको छ । जिल्लामा तीन लाख ७१ हजार ९ सय ७१ जनसंख्या मध्य एक लाख ४६ हजार ५ सय ९२ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन कमल चन्दले बताए । जसमध्ये २ लाख ४५ हजार ७ सय ९३ जनाले फस्ट डोज कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad