Ad Area

मेयर कप फुटबलको उपाधि वडा नं. १३ ले जित्यो


घोराही, २३ पुस । सातौँ संस्करणको वडा स्तरीय घोराही मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १३ ले जितेको छ ।

घोराही १८ नवलपुर फुटबल मैदानमा मंगलबार भएको फाईनल खेलमा वडा नम्बर १३ ले वडा नम्बर १५ लाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो । वडा नम्बर १३ लाई जित दिलाउन रेवन बुढा र प्रमोद बुढाले १–१ गोल गरे । हजारौं दशर्कको उपस्थिति रहेको फाईनल खेलमा वडा नम्बर १३ ले शुरुवाती अग्रता बनाउँदै अन्तिम समयमा अर्काे गोल थपेर उपाधि हात पारेको हो ।

खेल शुरु भएको ६ मिनेटमै वडा  नम्बर १३ ले गोल गर्दै अग्रता बनाएको थियो । मिडफिल्डबाट प्रमोद बुढाले दिएको पासलाई अघि बढाउँदै मैदानको बायाँतर्फबाट देब्रै खुृट्टाले दोस्रो बार च्याप्दै गरेको प्रहार सिधै गोल भएको थियो । वडा नम्बर १५ का गोल किपरले डाइभ हानेर गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।

त्यसपछिको खेल निकै प्रतिष्पर्धात्मक रह्यो । दुवै टीमले गोल गर्ने थुप्रै मौका पाएपनि सदुपयोग गर्न सकेनन् । गोल गर्दै १–० को नतिजा उल्ट्याउने प्रयास गरेको वडा नम्बर १५ का खेलाडीले गरेका थुप्रै प्रहार वडा नम्बर १३ का गोल रक्षक भीम पुनले विफल पारेका थिए भने कतिपय प्रहार गोल पोष्ट भन्दा बाहिरबाट गएको थियो ।

१–० को अग्रता कायम राख्न वडा नम्बर १३ ले ५–२–३ को फम्र्याटमा खेल्दै डिफेन्स लाईन बलियो बनाएपछि वडा नम्बर १५ लाई गोल गर्न असहज बनेको थियो । दोस्रो हाफको अतिरिक्त समयमा दवावपूर्ण खेल खेलेको वडा नम्बर १५ का एक डिफेन्डर मात्रै पछि राखेर अघि बढेको मौकामा वडा नम्बर १३ का मिडफिल्डर प्रमोद बुढाले त्यसको फाईदा उठाउन भ्याए । मिडबाट रेवन बुढाले दिएको पासलाई एक जना डिफेन्डरलाई बिट गरेर सहजै गोल गरे  । दोस्रो गोलसँगै वडा नम्बर १३ ले उपाधि माथि कब्जा गरेको हो ।

प्रतियोगितामा चार समुह बनाएर खेलाईएको लिग कम नकआउट प्रतियोगितामा समुह ए, बी र सीका सबै टीम क्वाटर फाईनल, सेमीफाईनलबाट बाहिरिँदा समुह डी का यी दुई टीमले फाईनल खेलेका हुन् । यसअघि समुह चरणको खेलमा वडा नम्बर १५ सँगको २–१ गोलको हारको बदला पनि फाईनलमा लिएको छ ।

पुस ५ गतेबाट शुरु भएको प्रतियोगितामा कुल ३९ खेल भएको हो ।  प्रतियोगितामा उपाधि जितेको वडा नम्बर १३ ले नगद १ लाखसहित शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको वडा नम्बर १५ ले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर १३ का सुगम पुन हुनुभयो । उत्कृष्ट प्रशिक्षक वडा नम्बर १३ का इराक घर्ती, उत्कृष्ट गोल रक्षक वडा नम्बर १३ कै भीम पुन, उत्कृष्ट मिडफिल्ड वडा नम्बर १३ का प्रमोद बुढा, उत्कृष्ट डिफेन्डर वडा नम्बर १३ कै उज्वल कुमार चौधरी हुनुभयो ।

यसैगरी, प्रतियोगिताभर खेलेको खेलका आधारमा वडा नम्बर १५ का  सुशील बानियाँ सर्वाधिक गोलकर्ता बन्नुभएको छ । उहाँले कुल १४ गोल गर्नुभयो । वडा नम्बर १५ का जीवन बुढाथोकी उत्कृष्ट फरवार्ड हुनुभयो । प्रतियोगितामा सहभागी कुल १८ टीम मध्ये अनुशासित टीम वडा नम्बर १ बनेको छ ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता अन्तरगत पालिकाभरका कुल १९ वडा मध्ये वडा नम्बर ९ बाहेक सबै वडाको सहभागीता रहेको थियो । फाईनल खेलमा भएको दुई गोलसँगै कुल ३९ खेलबाट १ सय ८८ गोल भएको छ ।

घोराही मेयर कप फुटबलमा प्रथम संस्करण वडा नम्बर १५ ले, दोस्रो र तेस्रो संस्करण वडा नम्बर १३ ले, चौथो र पाँचौं संस्करण वडा नम्बर १८ ले र छैठौं संस्करण वडा नम्बर १७ ले मेयर कप फुटबलको उपाधि जितेको थियो । यसअघि सेमिफाइनलमा वडा नम्बर १३ ले वडा नम्बर ६ लाई तथा वडा नम्बर १५ ले १४ लाई हराउँदै फाईनलमा प्रवेश गरेका थिए ।

यो वर्ष उपाधि जितेसँगै वडा नम्बर १३ तीन पटक उपाधि जित्न सफल भएको हो । २०७५ सालदेखि शुरु भएको मेयर कप फुटबल प्रतियोगितासँगै पालिकाले नगर खेलकुद विकास समिति गठन गरेर वार्षिक कार्यतालिका बनाएर खेल आयोजना गर्दै आएको नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले जानकारी दिनुभयो । पालिका स्तरमा खेलकुदको विकास गर्न घोराही उपमहानगरपालिकाले खेलकुदका गतिविधि संचालन गर्दैआएको छ ।

मेयर कपबाट उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीहरुबाट आगामी फागुनमा हुने घोराही गोल्डकपका लागि छनौट गरिने छ । प्रतियोगिता समापनको अवसरमा खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै उपप्रमुख हुमा डिसीले खेलकुदको विकासका लागि पालिकाले विशेष ध्यान दिएको बताउनुभयो । खेलकुदको विकाससँगै स्वस्थ नागरिक उत्पादनका लागि हरेक वडामा खेल मैदानको अवधारण अनुसार काम अघि बढाइएको उहाँको भनाई थियो ।

यसैबिच, खेलाडीलाई हौसला स्वरुप मेयर कप विजेता वडा नम्बर १३ लाई बडहरास्थित गोदावरी ईंग्लिश मिडियम स्कुल जेम्सले नगद २१ हजार रुपैयाँ प्रदान गरेको विद्यालयका प्रवन्ध निर्देशक विष्णुप्रसाद दाहालले बताउनुभयो ।