Ad Area

साहित्यकार गिरीको कविता संग्रह ‘पसिनाको पोको’ को समिक्षा


घोराही, २६ पुस । साहित्यकार कृष्ण गिरीको कविता संग्रह पसिनाको पोको कृतिको समिक्षा गरिएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको १९४ औँ शृङ्खला अन्तरगत शुक्रबार घोराहीमा उक्त कृतिको समिक्षा गरिएको हो ।

परिषदका जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा साहित्यकार एवम् लोक संस्कृतिविद डा. गोविन्द आचार्यको प्रमुख आतिथ्य, साहित्यकारहरु पुरुषोत्तम खनाल र गणेश विषमको विशिष्ट आतिथ्यमा कविता संग्रह पसिनाको पोको कृतिको समिक्षा गरिएको हो ।

कार्यक्रममा साहित्यकारहरुले पसिनाको पोको कृतिले समाजको वर्तमान परिवेशसँगै कविताको चेतनाबोधलाई उजागर गर्न सफल भएको बताउनुभयो । कृतिमा उल्लेख कविताले समाज, मानवता, राजनीतिलगायत विषय र सर्जकका आफ्नै भोगाई पनि समावेश गरेर विविधता प्रदान गरेको बताउनुभयो ।

प्रमुख अतिथि आचार्यले विचार बिनाको कला साहित्य हुन नसक्ने भन्दै कला, विचारसहितको प्रस्तुतिमा साहित्यकार गिरीले कवितामार्फत कृती ल्याउन सकेको बताउनुभयो ।

कवि, लेखकले विचार र कलालाई सृङ्गारिक रुपमा कलात्मक ढंगले व्यक्त गर्ने प्रयास गर्नुपर्ने भन्दै सर्जक गिरीको कविता संग्रह पसिनाको पोकोमा वैचारिक रुपमा विविधता भरेर कृति ल्याएको टिप्पणी गर्नुभयो ।

कृतिको समिक्षा गर्दै डा. पन्थीले साहित्यकार गिरीको २४ वटा कविता संग्रहित पसिनाको पोकोमार्फत समाजको उत्पीडितलाई व्यङ्ग्यात्मक र सिर्जनात्मक रुपमाब उजागर गरेको बताउनुभयो । ४ दशक लामो शैक्षिक क्षेत्रमा क्रियाशील गिरीले यसअघि दहखोले महन्थहरुको गिरी वंशावली खकन कविता संग्रह २०६४ प्रकाशन गरिसक्नु भएको छ ।

राप्ती साहित्य परिषद दाङका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो ।