Ad Area

प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला क्रिकेटको फाईनलमा दाङ र बाँकेले खेल्ने


लमही, २८ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिताको फाईनलमा दाङ र बाँकेको टीम खेल्ने भएका छन् ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगिता अन्तरगत चौथो दिन आईतबार भएको प्रदेश स्तरीय छनोट खेलमा बाँकेले रुपन्देहीेलाई ९ रनले तथा दाङले नवलपरासीलाई ७९ रनले पराजित गर्दै फाईनलमा पुगेका हुन् । आईतबार भएको पहिलो सेमिफाइनलमा बाँकेले दिएको १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देहीले १ सय १४ रन मात्रै बनाउन सकेपछि ९ रनको जित निकाल्दै बाँके फाईनलमा पुगेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बाँकेले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २३ रन बनायो । बाँकेका लागि ओपनर रञ्जु श्रेष्ठले ४४ रन बनाउँदा सुस्मिता बजगाईले २३ रन, मनिषा रानाले १८ रन, श्रृष्टि डाँगीले ११ रन बनाउनुभयो । पहिलो ओभरको चौथो बलमा सुरक्षा पुन आउट भएपछि रुपन्देहीले खेल दवावमा राख्ने कोशिस गरेपनि सुस्मिता बजगाईले रन बनाउँदै उकास्नु भएको थियो ।

बलिङमा रुपन्देहीकी सीमा थापाले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिनुभयो । कविता खड्काले ३ ओभरमा १० रन खर्चचेर २ विकेट लिँदा सरु तिवारी र एन्जिला पाठकले १–१ विकेट लिनुभयो ।

१ सय २४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमाा उत्रिएको रुपन्देहीको टिम निर्धारित २० ओभरमा १ सय १४ रनमा समेटियो । रुपन्देहीका लागि एन्जिला पाठकले ४० रन बनाउनुभयो । कृति अधिकारीले १४ रन, श्रुति बुढाथोकी र कविता खड्काले ११–११ रनको योगदान दिए पनि हार टार्न सक्नु भएन ।

रुपन्देहीलाई हराउन बाँकेकी सुरक्षा पुन र सिर्जना खड्काले समान ४ ओभरमा २२ र २१ रन खर्चेर २–२ विकेट लिनुभयो । सम्झना पुन र स्वस्तिका बजगाईले १–१ विकेट लिनुभयो । बाँकेका लागि सर्वाधिक रन ४४ रन बनाउनुभएकी ओपनर रञ्जु श्रेष्ठ प्लेयर अफ द म्याच हुनुभएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिनुभयो ।

यसैगरी, दिउँसो भएको दोस्रो सेमिफाईनलमा दाङले नवलपरासीलाई ७९ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको दाङले राम्रो शुरुवात गर्दै २ विकेटको क्षतिमा १ सय ६० रनको योगफल बनायो । पहिलो विकेटका लागि अनिता चौधरी र सुप्रिया बुढाले ७४ रनको साझेदारी गर्दै बलियो स्थितीमा पुर्याउनुभएको थियो ।

ओपनर सुप्रिया बुढा १७ रन बनाउँदै रनआउट भएपछि दोस्रो विकेटका लागि अनिता र मधु डिसीले थप १६ रनको साझेदारी गर्दा कृष्णा खनालको बलमा बोल्ड आउट हुँदै मधु १ रनमा पेभेलियन फर्किएपछि कप्तान सरस्वती जिएम र अनिताले टिकेर खेल्दै टीमका लागि राम्रो योगफल जोड्नुभयो । दुवैले ७० रनको साझेदारी गर्दै १ सय ६० रन बनाउनुभयो । जसमा अनिता चौधरीले अनुभवी पारी खेल्दै अविजित ५९ रन बनाउँदा कप्तान सरस्वतीले पनि अविजित २९ रन बनाउनुभयो । नवलपरासीका लागि कृष्णा खनालले १ विकेट लिनुबाहेक अरु खेलाडीले बलिङमा प्रभाव देखाउन सकेनन् ।

१ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको नवलपरासी १५ दशमदव ४ ओभरमा अलआउट हुँदै ८१ रनमा समेटियो । नवलपरासीका लागि साक्षी पाण्डेले १२ रन, साक्षी भण्डारीले ११ रन, सरिता शाहीले १० रन बनाउनु बाहेक अरु खेलाडीले रन जोड्न सकेनन् । नवलपरासीलाई सस्तैमा समेट्न दाङकी अनिता चौधरीले अलराउण्डर प्रदर्शन गर्नुभयो । ब्याटबाट अविजित ५९ रन बनाउनुभएकी अनिताले बलिङमा २ ओभर गर्दै ४ रन दिएर ३ विकेट लिनुभयो । मधु डिसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिँदा आश्ना चौधरी र समिक्षा केसीले पनि समान २–२ विकेट लिनुभयो । टीमलाई जिताउन अलराउण्डर प्रदर्शन गर्नुभएकी अनिता चौधरी प्लेयर अफ द म्याच हुनुभएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव रोका मगरले जानकारी दिनुभयो ।

दुई समुह विभाजन गरी खेलाईएको छनोट प्रतियोगितामा समुह ‘ए’ मा रहेका रुपन्देही, नवलपरासी र बर्दिया बाहिरिएका छन् । अब समुह ‘बी’ मा रहेको दाङ र बाँके बीच उपाधिका लागि सोमबार बिहान प्रतिष्पर्धा हुनेछ । दाङ अपराजित टीम हो । बाँके यसअघि समुह चरणको खेलमा दाङसँग ५ विकेटले पराजित भएको थियो ।

लुम्बिनीका ६ जिल्लाको सहभागीतामा पुस २५ गतेदेखि शुरु भएको छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कपका लागि प्रदेशको टीम तयार पारिनेछ ।

प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । माघमा हुने प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै ८ वटै टोलीले एकअर्कासँग खेल्ने छन् र अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

यस्तै, तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।