Ad Area

चौघेरा स्पोर्टस् एकेडेमी र बिएफएल लखन थापा फुटबलको सेमिफाईनलमा


घोराही, ७ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा घोराहीमा जारी खुल्ला नकआउट प्रतियोगितामा चौघेरा स्पोर्टस् एकेडेमी र बिएफएल सेमिफाईनल प्रवेश गरेका छन् ।

नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा जारी खुल्ला नकआउट प्रतियोगितामा बुधबार भएको पहिलो क्वाटरफाईनलमा खेलमा चौघेरा स्पोर्टस् एकेडेमीले माडीचौर फुटबल क्लब रोल्पालाई ५–१ गोलले तथा दोस्रो क्वाटरफाईनलमा बिएफएलले खोजरफ्तारको टीमलाई ५–० गोलले हराउँदै सेमिफाईनल प्रवेश गरेका हुन् ।

चौघेरा स्पोर्टस् एकेडेमीले माडीचौर फुटबल क्लबलाई शुरुदेखि नै दवावमा राख्दै सहज जित निकाल्दा बिएफएलले पनि खोजरफ्तारमाथि सहज जित निकाल्यो । बिएफएलले खोजरफ्तार विरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएपनि दोस्रो हाफ पुरै दबावमा राखेर खेल्यो । दोस्रो हाफमा चार गोल गरेको बिएफएलका खेलाडीले गोल गर्ने थुप्रै अवसर खेर फालेका थिए । गोललाईनमा पुगेर पनि फिनिसिङमा चुक्दा खोजरफ्तार धेरै गोल अन्तरको हारबाट भने जोगियो ।

पहिलो क्वाटरफाईनलमा चौघेरा स्पोर्टस् एकेडेमी केशमान बुढा प्लेयर अफ म्याच हुँदा दोस्रो क्वाटरफाईनलमा बिएफएलका निराजन शाही प्लेयर अफ द म्याच हुनुभयो ।

अब प्रतियोगिता अन्तरगत बिहीबार पनि क्वाटरफाईनलका दुई खेल हुनेछ । जस अनुसार दिउँसो १२ बजे तेस्रो क्वाटरफाईनलमा युएनबीसी र युनाइटेड लालमटिया एफसी र अन्तिम क्वाटर फाईनलमा दिउँसो २ बजेपछि टरीगाउँ र नवलपुर फुटबल एकेडेमी बीच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक इराक घर्तीले जानकारी दिनुभयो ।

दाङसहित सल्यान, रोल्पाका गरी कुल १६ टीमको सहभागीता रहेको प्रतियोगिता संयोजक घर्तीले बताउनुभयो । फागुन १० गते फाईनल खेल हुने गरी खेल तालिका सार्वजनिक गरिएको प्रतियोगिता सहसंयोजक अशोक घर्तीले जनाउनुभयो ।

शहीद थापा मगरको स्मृति दिवसको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको भन्दै आयोजक नेपाल मगर संघले खेलकुदको विकाससँगै शहीदको सम्मानका लागि कार्यक्रम आयोजना गरेको जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्वितीय हुने टिमलाई पचास हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ । यसैगरी विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकको भनाई छ ।