विद्यार्थीद्वारा सेवाघरमा सहयोग

दाङ,१५ फागुन । घोराही उपमहानगरपालिका–१६ सर्रामा रहेको ज्ञानमाला एकेडेमीका विद्यार्थीले खाजा खर्च कटाएर मानव सेवा आश्रमद्वारा सञ्चालित सेवाघरलाई सहयोग गरेका छन् ।
विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको मानव सेवा आश्रमद्वारा सञ्चालित सेवाघरमा बसोवास गर्ने बेसहरा तथा अनाथ नागरिकलाई १७ हजार रुपैयाँ सहयोग गरेका हुन । विद्यालयमा विद्यार्थीका लागि बनाइएको नियम उल्लंघन गर्ने विद्यार्थीलाई गरिएको जरिवानासँगै विद्यार्थीले खाजा खर्चबाट कटाएको करिव १७ हजार रुपैयाँ विद्यालयमा रहेको सिर्जनशिल बाल क्लवकी अध्यक्ष स्मारिका चौधरी, विद्यालयका प्रिन्सीपल महेश बस्नेतलगायतले मानव सेवा आश्रम नारायणपुरकी संयोजक सुस्मिता श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
विद्यालयमा अध्ययनसँगै विद्यार्थीलाई सामाजिक सेवाको कार्यक्रममा सहभागी गराउने कार्यक्रमअमन्तर्गत विद्यार्थीले सेवाघरलाई सहयोग गरेको विद्यालयका प्रिन्सीपल बस्नेतले जानकारी गराए । सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीले प्रत्येक बर्ष ज्येष्ठ नागरिक, अनाथलयलगायतका ठाउँमा सहयोग गर्ने कार्यक्रमअन्तर्ग यो बर्ष सेवाघरमा सहयोग गरेको भन्दै प्रिन्सीपल बस्नेतले आगामी बर्षहरुमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बताए ।
सिर्जनशिल बाल क्लवकी अध्यक्ष स्मारिका चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले विद्यालयमा शिक्षा आर्जन गर्दै गरेका विद्यार्थीले मानव सेवा आश्रमका लागि गरेको सहयोग महत्वपूर्णसँगै अरुका लागि सिकाई भएको बताए । विद्यालयमा अध्ययनरत बालबालिकाले गरेको सानो सहयोगले समाजमा ठुलो अर्थ राख्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष सुवेदीले बालबालिकालाई शैक्षिक ज्ञानसँगै सामाजिक कार्यमा हरेक विद्यालयले जोड्दै अघि बढ्नुपर्ने बताएका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रमद्वारा सञ्चालित सेवा घरका बारेमा संयोजक सुस्मिता श्रेष्ठले जानकारी गराएकी थिइन । उनका अनुसार सेवा घरमा अहिले ५४ जना अनाथ तथा बेसहरा नागरिकहरु बसोवास गर्दै आएको भन्दै उनीहरुमध्ये पाँच महिनाकी बालिकादेखि ९० बर्षसका जेष्ठ नागरिक रहेका छन् । एकेडेमीमा रहेको जुनियर रेडक्रस सर्कलका संयोजक सुदाम भट्राईको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमका सहभागीलाई सिर्जनशिल बाल क्लवका उपाध्यक्ष बुद्धिप्रकाश चौधरीले धन्यावाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजीकरण बाल क्लवकी सचिव अदिती केसीले गरेकी थिइन । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।