Ad Area

लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेटमा रोल्पा विरुद्ध दाङको प्रभावशाली जीत


छवि पुरी
घोराही, २५ चैत । लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता – २०८१ मा दाङले रोल्पा विरुद्ध प्रभावशाली जीत हासिल गरेको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा आजबाट दाङमा शुरु भएको प्रतियोगितामा दाङले रोल्पालाई १० विकेटको प्रभावशाली जीत हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा रोल्पाले दिएको २६ रनको सामान्य लक्ष्य दाङले ४ दशमलव २ ओभरमा बिना विकेटको क्षतिमा २७ रन बनाउँदै क्वाटरफाइनलमा पुगेको छ ।

दाङका लागि कप्तान सुशान्तसिंह थापाले १३ बलमा ३ चौकासहित १३ रन र आकाश पाण्डेले १३ बलमा ३ चौकासहित १४ रन जोड्दै सहज जीत दिलाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रोल्पाले बिर्सनलायक प्रदर्शन गर्यो । १० दशमलव ४ ओभरमा सबै विकेट गुमाएर जम्मा २५ रन बनाएको रोल्पाका लागि दुर्गेश पुरीले सबैभन्दा धेरै १३ रन जोडे । उनले २७ बलमा ३ चौकासहित १३ रन जोडेर शुभम खनालको बलमा बोल्डआउट भए ।


आकाश गुरुङले २ रन, अक्रम अलीले २ रन बनाए । अरु खेलाडीले खाता नै खोल्न सकेनन् । रोल्पाका ९ विकेट बोल्डआउटका रुपमा खसेको थियो ।

८ दशमलब ३ ओभरमा ५ विकेट गुमाउँदै २४ रन जोडेको रोल्पाले थप १ रन जोड्दा पाँच विकेट गुमायो । रोल्पाको ब्याटिङ लाईनअप धरासयी पार्न दाङका स्पिनरद्वय शुभम खनाल र किशन भारतीले घातक बलिङ गरे ।
शुभम खनालले १ दशमलव ४ ओभर बलिङ गर्दै जम्मा २ रन खर्चेर ३ विकेट लिँदा एउटा रन आउट पारे ।
किशन भारतीले पनि २ ओभर बलिङ गर्दै ४ रन खर्चेर ३ विकेट हात पारे । दाङका लागि बिरबहादुर घर्तीले २ ओभर बलिङ गर्दै २ मेडनसहित शून्य रनमा १ विकेट लिए । दिनेश बोहराले २ ओभरका १ मेडनसहित ३ रन दिएर १ विकेट लिँदा करण जिएमले १ ओभरमा १ रन दिएर १ विकेट लिए ।

कसिलो बलिङ गर्दै रोल्पालाई कम रनमा अलआउट गराउन महत्त्वपूर्ण भुमिका खेलेका दाङका शुभम खनाल प्लेयर अफ द म्याच भए ।

प्रदेश सरकारको खेलकुद परिषदले पहिलो पटक आयोजना गरिएको प्रतियोगिता दाङको दुई खेल मैदानमा भईरहेको छ । प्रदेशमा क्रिकेटको विकासका लागि खेलकुद परिषदले लुम्बिनीका खेलाडीलाई एकैथलोमा राखेर प्रतियोगिता आयोजना गरेको लुम्बिनी प्रदेश खेलकुुद परिषदका सदस्य कैलाश रोका मगरले बताए ।

दाङमा पछिल्लो समय क्रिकेट प्रतियोगिता भईरहेका छन् । जिल्लामा पर्याप्त क्रिकेट पूर्वाधार र प्राविधिक जनशक्ति उपलब्धताका कारण सहज रुपमा प्रतियोगिता आयोजना गर्न सम्भव भईरहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैँयाले जानकारी दिए । उनले लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र घोराहीको घोराही क्रिकेट रंगशालामा एकै पटक खेल आयोजना हुँदा समय र लागत वचतसँगै खेलको प्रभावकारिता बढेको उनले बताए ।
प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रुकुम पूर्व बाहेक लुम्बिनीका ११ जिल्लाको सहभागीता रहेको छ । चैत २८ गतेसम्म चल्ने प्रतियोगिताले खेलाडीका क्षमता विकाससँगै आगामी जेठमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका आधार तय गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए ।

उनले परिषदले पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीको अन्तरनिहित प्रतिभा उजागर गर्न सघाउ पुग्ने बताए । साथै, नेपाल क्रिकेट संघ क्यानले मान्यता नदिएका जिल्लामा रहेका प्रतिभावान खेलाडी पहिचान गर्ने प्रतियोगिताले उद्देश्य राखेको पनि बताए ।