लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा रुपन्देही ८४ रनले विजयी

छवि पुरी
लमही, २५ चैत । लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता-२०८१ मा नवलपरासी विरुद्ध रुपन्देहीले ८४ रनको जीत हासिल गरेको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयाोग एवम् व्यवस्थापनमा शुरु भएको प्रतियोगितामा १ सय ४७ रनको लक्ष्य पछ्याएको नवलपरासी १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ६२ रनमा समेटिएपछि रुपन्देहीले ८४ रनको सानदार जीत हासिल गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा विजयी लक्ष्य पछ्याएको नवलपरासीका लागि ओमकार यादवले सर्वाधिक ३१ रन जोडे । ओमकारले २२ बलमा २ छक्का र २ चौकाको मद्दमा २१ रन जोड्दै बिपर्शन केसीको बलमा बोल्ड आउट भए ।
नवलपरासीका दीलिप कुर्मीले ११ रन जोड्ने बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
मनिष तिवारी ५ रन, हिल्सन पाण्डे र शिशिर थापाले समान ४(४ रन जोडे ।
नवलपरासीलाई सस्तैमा समेट्न रुपन्देहीका रमेश कुर्मीले महत्त्वपूर्ण चार विकेट चट्काए ।
उनले चार ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । बिपर्शन केसीले ३ ओभरमा १२ रन दिएर २ विकेट लिँदा कृष्ण कार्कीले ३ दशमलव ४ ओभरमा २ विकेट लिए । अजय चौहानले ४ ओभरमा १७ रन दिएर १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रुपन्देहीले रुपन्देहीका लागि प्रज्वल थापाको अर्धशतक मद्दतमा १४६ रन बनाएको थियो । प्रज्वलले ३७ बलमा १ छक्का र ६ चौकाको मद्दतमा ५० रन जोड्दै ईक्लाक अहमद वारसीको बलमा कट एण्ड बोल्ड भए ।
मनिष थापाले २१ बलमा १ चौकासहित १६ रन, सुमन पाण्डेले १३ बलमा २ चौकासहित १५ रन जोडे ।
अजय चौहान र कप्तान देव खनालले समान १२(१२ रन जोडे ।
मृनाल गुरुङ १० जोडेर पेभेलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । नवलपरासीका लागि ईक्लाक अहमद वारसीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । यसैगरी, दीलिप कुर्मी, जितेन्द्र केवट सहनी, शिशिर थापा, यमन भण्डारीले समान १(१ विकेट लिए ।
रुपन्देहीलाई जीत दिलाउन नवलपरासीको ब्याटरलाई पेभेलियन फर्काउन महत्त्वपूर्ण चार विकेट लिएका रमेश कुर्मी प्लेयर अफ द म्याच भए ।
यसअघि, घोराहीमा भएको खेलमा दाङले रोल्पालाई १० विकेटले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ । प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रुकुम पूर्व बाहेक लुम्बिनीका ११ जिल्लाको सहभागीता रहेको छ ।
प्रदेश सरकारको खेलकुद परिषदले पहिलो पटक आयोजना गरिएको प्रतियोगिता दाङको दुई खेल मैदानमा भईरहेको छ । प्रदेशमा क्रिकेटको विकासका लागि खेलकुद परिषदले लुम्बिनीका खेलाडीलाई एकैथलोमा राखेर प्रतियोगिता आयोजना गरेको लुम्बिनी प्रदेश खेलकुुद परिषदका सदस्य कैलाश रोका मगरले बताए ।
दाङमा पछिल्लो समय क्रिकेट प्रतियोगिता भईरहेका छन् । जिल्लामा पर्याप्त क्रिकेट पूर्वाधार र प्राविधिक जनशक्ति उपलब्धताका कारण सहज रुपमा प्रतियोगिता आयोजना गर्न सम्भव भईरहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैँयाले जानकारी दिए । उनले लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र घोराहीको घोराही क्रिकेट रंगशालामा एकै पटक खेल आयोजना हुँदा समय र लागत वचतसँगै खेलको प्रभावकारिता बढेको उनले बताए ।
चैत २८ गतेसम्म चल्ने प्रतियोगिताले खेलाडीका क्षमता विकाससँगै आगामी जेठमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका आधार तय गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए । उनले परिषदले पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीको अन्तरनिहित प्रतिभा उजागर गर्न सघाउ पुग्ने बताए । साथै, नेपाल क्रिकेट संघ क्यानले मान्यता नदिएका जिल्लामा रहेका प्रतिभावान खेलाडी पहिचान गर्ने प्रतियोगिताले उद्देश्य राखेको पनि बताए ।