Ad Area

लुम्बिनी प्रदेश टी-२० क्रिकेटमा पाल्पालाई हराउँदै दाङ सेमिफाइनलमा


छवि पुरी
घाेराही, २६ चैत । लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता-२०८१ मा दाङले पाल्पालाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । पाल्पालाई हराउन दाङका तुलबहादुर थापाले अलराउण्डर प्रदर्शन गरे ।

लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा जारी प्रतियोगिता अन्तरगत घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा १६३ रनको विजयी लक्ष्य पछ्याएको पाल्पाले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४६ रन मात्रै बनाएपछि दाङले १६ रनको जीत हासिल गरेको हो ।

निकै प्रतिष्पर्धात्मक खेलमा पाल्पाका लागि नरबहादुर सार्की र लीला शर्माले ८६ रनको साझेदारी गर्दै जीत नजिक पुर्याएपनि दाङले उत्कृष्ट पुनरागमन गरेपछि पाल्पा क्वाटरफाइनलबाट बाहिरिएको हो । १० बलमा २२ रन चाहिएको अवस्थामा पाल्पाका लीला शर्मा लङअनबाट किशन भारतीले गरेको थ्रो मा रनआउट भएपछि दाङलाई जीतको आधार बनेको हो । १९ औँ ओभरमा दाङका बीरबहादुर घर्तीले पाल्पाको साझेदारी तोड्दै जित दिलाए । १८ दशमलव ३ ओभरमा पाल्पाका लीला आउट हुँदा लगत्तै १८ दशमलव ४ ओभरमा अर्का सेट ब्याटर नरबहादुर सार्की बोल्ड आउट भए ।

लीलाले ३४ बलमा ३ छक्का र ४ चौकाको मद्दतमा ४६ रन जोडेर आउट भए । यसैगरी, नरबहादुरले २३ बलमा ३ छक्का र ४ चौकासहित ४५ रन जोडे । पाल्पाका मनिष न्यौपानेले १३ रन, रुपेश बस्याल र बिपिन खातीले समान ६-६ रन जोडे ।
दाङका किशन भारतीले २ ओभरमा ५ रन दिएर २ विकेट लिए । बीरबहादुर घर्ती, राजकुमार कुमाल र तुलबहादुर थापाले समान १-१ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दाङका लागि तुलबहादुर थापाले उत्कृष्ट पारी खेल्दै अविजित ६३ रन बनाए । जारी प्रतियोगितामा यो दोस्रो अर्धशतक पनि हो । दाङले ७ विकेटको क्षतिमा १६२ रन बनायो । तुलबहादुरले जम्मा ३० बलमा ५ छक्का र ३ चौकाको मद्दतमा अविजित ६३ रन जोडे ।
मनोज पुनले ३६ बलमा ३० रन, शिशिर डिसीले २७ बलमा २४ रन, बीरबहादुर घर्तीले ६ बलमा ११ रन र किशन भारतीले १० बलमा ७ रनको योगदान दिए ।
पाल्पाका केशव पहरियाले २ विकेट लिँदा विपिन भट्टराई, नरबहादुर सार्की र रुपेश बस्यालले समान १-१ विकेट लिए ।
प्रतियोगितामा दाङका तुलबहादुर थापा प्लेयर अफ द म्याच भए ।

प्रदेश सरकारको खेलकुद परिषदले पहिलो पटक आयोजना गरिएको प्रतियोगिता दाङको दुई खेल मैदानमा भईरहेको छ । प्रदेशमा क्रिकेटको विकासका लागि खेलकुद परिषदले लुम्बिनीका खेलाडीलाई एकैथलोमा राखेर प्रतियोगिता आयोजना गरेको लुम्बिनी प्रदेश खेलकुुद परिषदका सदस्य कैलाश रोका मगरले बताए ।

दाङमा पछिल्लो समय क्रिकेट प्रतियोगिता भईरहेका छन् । जिल्लामा पर्याप्त क्रिकेट पूर्वाधार र प्राविधिक जनशक्ति उपलब्धताका कारण सहज रुपमा प्रतियोगिता आयोजना गर्न सम्भव भईरहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैँयाले जानकारी दिए । उनले लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र घोराहीको घोराही क्रिकेट रंगशालामा एकै पटक खेल आयोजना हुँदा समय र लागत वचतसँगै खेलको प्रभावकारिता बढेको उनले बताए ।
चैत २८ गतेसम्म चल्ने प्रतियोगिताले खेलाडीका क्षमता विकाससँगै आगामी जेठमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका आधार तय गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए । उनले परिषदले पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीको अन्तरनिहित प्रतिभा उजागर गर्न सघाउ पुग्ने बताए । साथै, नेपाल क्रिकेट संघ क्यानले मान्यता नदिएका जिल्लामा रहेका प्रतिभावान खेलाडी पहिचान गर्ने प्रतियोगिताले उद्देश्य राखेको पनि बताए ।