लुम्बिनी प्रदेश टी-२० क्रिकेटमा बाँकेलाई हराउँदै रुपन्देही सेमिफाइनलमा

छवि पुरी
लमही, २६ चैत । लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता-२०८१ मा कप्तान देव खनाल र अजय चौहानको कसिलो बलिङमा बाँके सबै विकेट गुमाउँदै ९७ रनमा समेटिएपछि रुपन्देहीले १८ रनको जीत हासिल गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा जारी प्रतियोगिता अन्तरगत लमही-५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा १ सय १६ रनको मध्यम लक्ष्य पछ्याएको बाँके ५१ रन बनाउँदा ४ विकेट गुमाएर खेलीरहेको अवस्थामा थप ४६ रन जोड्दा अलआउट भयो ।
१९ दशमलव ३ ओभरमा अलआउट भएको बाँकेका लागि शुभेन्दु पाण्डेले अविजित २३ रन बनाए पनि हार टार्न सकेनन् । उनी २७ बलमा ३ चौकासहित २३ रनमा अविजित रहँदा मध्यक्रमका अरु ब्याटर क्रिजमा टिक्न नसक्दा बाँकेले १८ रनको हार व्यहोर्यो ।
बाँकेका लागि सुनिल भण्डारीले १८ बलमा १६ रन, युवराज शर्माले १० बलमा १३ रन, सदाब अन्सारीले १५ बलमा १० रन जोडे ।
बाँकेलाई अलआउट गर्न कसिलो बलिङ गरेका रुपन्देहीका अजय चौहानले ४ ओभरमा जम्मा २ रन खर्चेर ४ विकेट हात पारे । कप्तान देव खनालले ३ ओभरमा १४ रन दिएर २ विकेट लिँदा सुरज खड्काले पनि ४ ओभरमा २४ रन दिएर २ विकेट लिए । बिप्रशन केसीले २ ओभरमा २१ रन दिएर १ विकेट लिँदा कृष्ण कार्कीले पनि ३ दशमलव ३ ओभरमा ८ रन खर्चेर १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनायो ।
रुपन्देहीका लागि सुमन पाण्डेले २१ बलमा १ छक्का र ४ चौकासहित ३३ रन बनाए । कप्तान देव खनालले ११ बलमा १२ रन, मृनाल गुरुङले ३२ बलमा १९ रन, मनिष थापाले २० बलमा ११ रन, प्रज्वल थापाले ८ बलमा १० रन बनाए ।
बाँकेका लागि अजय सहनी र विजय चौधरीले समान ३-३ विकेट लिए । अजयले ३ दशमलव ४ ओभरमा १९ रन दिएर ३ विकेट लिँदा विजयले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए ।
यसैगरी, अनिमेश शाहीले ३ ओभरमा २२ रन दिएर २ विकेट लिँदा सलाउद्दिन खानले ४ ओभरमा २३ रन खर्चेर १ विकेट हात पारे ।
प्रतियोगितामा बाँकेलाई हराउन कसिलो बलिङ गरेका रुपन्देहीका अजय चौहान प्लेयर अफ द म्याच भए ।
यता, घोराहीमा भएको क्वाटरफाइनलमा दाङले पाल्पालाई १६ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
प्रदेश सरकारको खेलकुद परिषदले पहिलो पटक आयोजना गरिएको प्रतियोगिता दाङको दुई खेल मैदानमा भईरहेको छ । प्रदेशमा क्रिकेटको विकासका लागि खेलकुद परिषदले लुम्बिनीका खेलाडीलाई एकैथलोमा राखेर प्रतियोगिता आयोजना गरेको लुम्बिनी प्रदेश खेलकुुद परिषदका सदस्य कैलाश रोका मगरले बताए ।
दाङमा पछिल्लो समय क्रिकेट प्रतियोगिता भईरहेका छन् । जिल्लामा पर्याप्त क्रिकेट पूर्वाधार र प्राविधिक जनशक्ति उपलब्धताका कारण सहज रुपमा प्रतियोगिता आयोजना गर्न सम्भव भईरहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैँयाले जानकारी दिए । उनले लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र घोराहीको घोराही क्रिकेट रंगशालामा एकै पटक खेल आयोजना हुँदा समय र लागत वचतसँगै खेलको प्रभावकारिता बढेको उनले बताए ।
चैत २८ गतेसम्म चल्ने प्रतियोगिताले खेलाडीका क्षमता विकाससँगै आगामी जेठमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका आधार तय गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए । उनले परिषदले पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीको अन्तरनिहित प्रतिभा उजागर गर्न सघाउ पुग्ने बताए । साथै, नेपाल क्रिकेट संघ क्यानले मान्यता नदिएका जिल्लामा रहेका प्रतिभावान खेलाडी पहिचान गर्ने प्रतियोगिताले उद्देश्य राखेको पनि बताए ।