Ad Area

लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेटमा रोमाञ्चक जीत निकाल्दै बर्दिया सेमिफाईनलमा


छबि पुरी
घोराही, २६ चैत । दाङमा जारी लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ मा गुल्मीलाई बर्दियालाई हराएसँगै सेमिफाईनलमा खेल्ने चार टीमको टुंगो लागेको छ । मंगलबारका खेल सकिएसँगै जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । प्रतियोगिताको सेमिफाईनलमा दाङ, कपिलबस्तु, रुपन्देही पनि प्रवेश गरेका छन् ।

आज भएको खेलमा बर्दियाले रोमाञ्चक जीत हासिल गर्यो । गुल्मीलाई दिएको लो स्कोरिङ लक्ष्य बचाउँदै बर्दियाले ७ रनको जीत निकाल्दै सेमिफाईनल प्रवेश गरेको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा जारी प्रतियोगिता अन्तरगत मंगलबार लमही–५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बर्दियाले दिएको ८३ रनको सामान्य लक्ष्य पछ्याएको गुल्मी १९ दशमलव १ ओभरमा अल आउट हुँदै ७५ रनमा समेटिएपछि बर्दियाले ७ रनको रोमाञ्चक जीत हासिल गरेको हो । लो स्कोरिङ टार्गेटमा पनि गुल्मीलाई हराउन निखिल खत्री र निर्मल गुरुङले धातक बलिङ गरे ।

१२ दशमलव ५ ओभरमा ५ विकेटको क्षतिमा ५० रनको अवस्थामा रहेको गुल्मी थप २५ रन जोड्दा अलआउट हुन पुग्यो । गुल्मीका लागि सम्राट थापाले ३७ बलमा २१ रन बनाए । विवेक भण्डारीले १३ बलमा १० रन जोड्नु बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बर्दियाका लागि निखिल खत्रीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट हात पारे । निर्मल गुरुङले ४ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिँदा समन बुढा र सौगात खत्रीले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको बर्दियाले पनि राम्रो शुरुवात गर्न सकेन । २८ रन बनाउँदा ४ विकेट गुमाएर खेलेको बर्दियाका लागि सबै ब्याटरले रन बनाउन संघर्ष गर्नुपर्यो । बर्दियाले १८ दशमलव ४ ओभरमा अलआउट हुँदै ८२ रन मात्रै बनाउन सक्यो । बर्दियाका समीर आचार्यले १५ रन, रिहान शेखले १२ रन, हर्षल भण्डारीले १० रन जोड्नु बाहेक अरु खेलाडीले रन बनाउन सकेनन् ।

गुल्मीका लागि प्रदीप भण्डारीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट हात पार्दा त्रिदेव कार्कीले पनि ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । यसैगरी, सुरज सारु र प्रमिश पुनले समान १–१ विकेट लिए । बर्दियालाई कम रन टार्गेटमा पनि जीत दिलाउन कसिलो बलिङ गर्नुभएका निखिल खत्री प्लेयर अफ द म्याच भए । प्रतियोगिताको सेमिफाईनल खेल भोलि हुनेछ ।

सेमिफाईनलमा दाङ, कपिलबस्तु, रुपन्देही र बर्दिया प्रवेश गरेका छन् । फाईनल प्रवेशका लागि लमहीमा रुपन्देही र बर्दिया बीच बुधबार खेल हुनेछ भने घोराहीमा दाङ र कपिलबस्तु टीम बीच बुधबार खेल हुने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए ।