Ad Area

लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेटको सेमिफाईनल समीकरण पूरा


छबि पुरी
घोराही, २६ चैत । दाङमा जारी लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ मा सेमिफाईनल खेल्ने चार टीमको टुंगो लागेको छ । मंगलबारका खेल सकिएसँगै जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

सेमिफाईनलमा दाङ, कपिलबस्तु, रुपन्देही र बर्दिया प्रवेश गरेका छन् । फाईनल प्रवेशका लागि अब लमहीमा रुपन्देही र बर्दिया बीच बुधबार खेल हुनेछ भने घोराहीमा दाङ र कपिलबस्तु टीम बीच बुधबार खेल हुनेछ ।

लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा जारी प्रतियोगिता अन्तरगत मंगलबार लमही–५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा गुल्मीलाई दिएको लो स्कोरिङ लक्ष्य बचाउँदै बर्दियाले ७ रनको जीत निकाल्दै सेमिफाईनल प्रवेश गरेको छ ।

बर्दियाले दिएको ८३ रनको सामान्य लक्ष्य पछ्याएको गुल्मी १९ दशमलव १ ओभरमा अल आउट हुँदै ७५ रनमा समेटिएपछि बर्दियाले ७ रनको रोमाञ्चक जीत हासिल गरेको हो । लो स्कोरिङ टार्गेटमा पनि गुल्मीलाई हराउन निखिल खत्री र निर्मल गुरुङले धातक बलिङ गर्नुभयो ।

१२ द शमलव ५ ओभरमा ५ विकेटको क्षतिमा ५० रनको अवस्थामा रहेको गुल्मी थप २५ रन जोड्दा अलआउट हुन पुग्यो । गुल्मीका लागि सम्राट थापाले ३७ बलमा २१ रन बनाउनुभयो । विवेक भण्डारीले १३ बलमा १० रन जोड्नु बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बर्दियाका लागि निखिल खत्रीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट हात पार्नुभयो । निर्मल गुरुङले ४ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिँदा समन बुढा र सौगात खत्रीले समान १–१ विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको बर्दियाले पनि राम्रो शुरुवात गर्न सकेन । २८ रन बनाउँदा ४ विकेट गुमाएर खेलेको बर्दियाका लागि सबै ब्याटरले रन बनाउन संघर्ष गर्नुपर्यो । बर्दियाले १८ दशमलव ४ ओभरमा अलआउट हुँदै ८२ रन मात्रै बनाउन सक्यो । बर्दियाका समीर आचार्यले १५ रन, रिहान शेखले १२ रन, हर्षल भण्डारीले १० रन जोड्नु बाहेक अरु खेलाडीले रन बनाउन सकेनन् ।

गुल्मीका लागि प्रदीप भण्डारीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट हात पार्दा त्रिदेव कार्कीले पनि ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिनुभयो । यसैगरी, सुरज सारु र प्रमिश पुनले समान १–१ विकेट लिनुभयो । बर्दियालाई कम रन टार्गेटमा पनि जीत दिलाउन कसिलो बलिङ गर्नुभएका निखिल खत्री प्लेयर अफ द म्याच हुनुभयो ।

यसअघि मंगलबार बिहान भएको खेलमा घोराहीे खेलमा दाङ र रुपन्देही विजयी हुँदै सेमिफाईनल प्रवेश गरेका छन् । घोराहीमा भएको प्रतियोगितामा पाल्पालाई हराउन दाङका तुलबहादुर थापाले अलराउण्डर प्रदर्शन गर्नुभयो ।

घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा १६३ रनको विजयी लक्ष्य पछ्याएको पाल्पाले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४६ रन मात्रै बनाएपछि दाङले १६ रनको जीत हासिल गरेको हो ।

निकै प्रतिष्पर्धात्मक खेलमा पाल्पाका लागि नरबहादुर सार्की र लीला शर्माले ८६ रनको साझेदारी गर्दै जीत नजिक पुर्याएपनि दाङले उत्कृष्ट पुनरागमन गरेपछि पाल्पा क्वाटरफाइनलबाट बाहिरिएको हो । १० बलमा २२ रन चाहिएको अवस्थामा पाल्पाका लीला शर्मा लङअनबाट किशन भारतीले गरेको थ्रो मा रनआउट भएपछि दाङलाई जीतको आधार बनेको हो ।

लीलाले ३४ बलमा ३ छक्का र ४ चौकाको मद्दतमा ४६ रन जोडेर आउट हुनुभयो । यसैगरी, नरबहादुरले २३ बलमा ३ छक्का र ४ चौकासहित ४५ रन जोड्नुभयो । पाल्पाका मनिष न्यौपानेले १३ रन, रुपेश बस्याल र बिपिन खातीले समान ६–६ रन जोड्नुभयो ।

दाङका किशन भारतीले २ ओभरमा ५ रन दिएर २ विकेट लिनुभयो । बीरबहादुर घर्ती, राजकुमार कुमाल र तुलबहादुर थापाले समान १–१ विकेट लिनुभयो । यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दाङका लागि तुलबहादुर थापाले उत्कृष्ट पारी खेल्दै अविजित ६३ रन बनाउनुभयो । जारी प्रतियोगितामा यो दोस्रो अर्धशतक पनि हो । यसअघि प्रज्वल थापाले ५० रन बनाउनुभएको थियो । दाङले पाल्पा बिरुद्ध ७ विकेटको क्षतिमा १६२ रन बनायो । तुलबहादुरले जम्मा ३० बलमा ५ छक्का र ३ चौकाको मद्दतमा अविजित ६३ रन जोड्नुभयो ।

मनोज पुनले ३६ बलमा ३० रन, शिशिर डिसीले २७ बलमा २४ रन, बीरबहादुर घर्तीले ६ बलमा ११ रन र किशन भारतीले १० बलमा ७ रनको योगदान दिनुभयो । पाल्पाका केशव पहरियाले २ विकेट लिँदा विपिन भट्टराई, नरबहादुर सार्की र रुपेश बस्यालले समान १–१ विकेट लिनुभयो । प्रतियोगितामा दाङका तुलबहादुर थापा प्लेयर अफ द म्याच हुनुभयो ।

यसैगरी, लमहीमा भएको बिहानको अर्को खेलमा कप्तान देव खनाल र अजय चौहानको कसिलो बलिङमा बाँके सबै विकेट गुमाउँदै ९७ रनमा समेटिएपछि रुपन्देहीले १८ रनको जीत हासिल गर्दै सेमिफाइनल प्रवेश गरेको छ । लमही–५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १ सय १६ रनको मध्यम लक्ष्य पछ्याएको बाँके ५१ रन बनाउँदा ४ विकेट गुमाएर खेलीरहेको अवस्थामा थप ४६ रन जोड्दा अलआउट भयो ।

१९ दशमलव ३ ओभरमा अलआउट भएको बाँकेका लागि शुभेन्दु पाण्डेले अविजित २३ रन बनाए पनि हार टार्न सक्नु भएन । उहाँ २७ बलमा ३ चौकासहित २३ रनमा अविजित रहँदा मध्यक्रमका अरु ब्याटर क्रिजमा टिक्न नसक्दा बाँकेले १८ रनको हार व्यहोर्यो ।

बाँकेका लागि सुनिल भण्डारीले १८ बलमा १६ रन, युवराज शर्माले १० बलमा १३ रन, सदाब अन्सारीले १५ बलमा १० रन जोड्नुभयो । बाँकेलाई अलआउट गर्न कसिलो बलिङ गरेका रुपन्देहीका अजय चौहानले ४ ओभरमा जम्मा २ रन खर्चेर ४ विकेट हात पार्नुभयो । कप्तान देव खनालले ३ ओभरमा १४ रन दिएर २ विकेट लिँदा सुरज खड्काले पनि ४ ओभरमा २४ रन दिएर २ विकेट लिनुभयो । बिप्रशन केसीले २ ओभरमा २१ रन दिएर १ विकेट लिँदा कृष्ण कार्कीले पनि ३ दशमलव ३ ओभरमा ८ रन खर्चेर १ विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनायो । रुपन्देहीका लागि सुमन पाण्डेले २१ बलमा १ छक्का र ४ चौकासहित ३३ रन बनाउनुभयो । कप्तान देव खनालले ११ बलमा १२ रन, मृनाल गुरुङले ३२ बलमा १९ रन, मनिष थापाले २० बलमा ११ रन, प्रज्वल थापाले ८ बलमा १० रन बनाउनुभयो । बाँकेका लागि अजय सहनी र विजय चौधरीले समान ३–३ विकेट लिनुभयो । अजयले ३ दशमलव ४ ओभरमा १९ रन दिएर ३ विकेट लिँदा विजयले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिनुभयो ।

यसैगरी, अनिमेश शाहीले ३ ओभरमा २२ रन दिएर २ विकेट लिँदा सलाउद्दिन खानले ४ ओभरमा २३ रन खर्चेर १ विकेट हात पार्नुभयो ।
प्रतियोगितामा बाँकेलाई हराउन कसिलो बलिङ गर्नुभएका रुपन्देहीका अजय चौहान प्लेयर अफ द म्याच हुनुभयो।

प्रदेश सरकारको खेलकुद परिषदले पहिलो पटक आयोजना गरिएको प्रतियोगिता दाङको दुई खेल मैदानमा भईरहेको छ । प्रदेशमा क्रिकेटको विकासका लागि खेलकुद परिषदले लुम्बिनीका खेलाडीलाई एकैथलोमा राखेर प्रतियोगिता आयोजना गरेको लुम्बिनी प्रदेश खेलकुुद परिषदका सदस्य कैलाश रोका मगरले बताउनुभयाे ।

दाङमा पछिल्लो समय क्रिकेट प्रतियोगिता भईरहेका छन् । जिल्लामा पर्याप्त क्रिकेट पूर्वाधार र प्राविधिक जनशक्ति उपलब्धताका कारण सहज रुपमा प्रतियोगिता आयोजना गर्न सम्भव भईरहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैँयाले जानकारी दिनुभयो । उहाँले लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र घोराहीको घोराही क्रिकेट रंगशालामा एकै पटक खेल आयोजना हुँदा समय र लागत वचतसँगै खेलको प्रभावकारिता बढेको बताउनुभयो ।

चैत २८ गतेसम्म चल्ने प्रतियोगिताले खेलाडीका क्षमता विकाससँगै आगामी जेठमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका आधार तय गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिनुभयो । उहाँले परिषदले पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीको अन्तरनिहित प्रतिभा उजागर गर्न सघाउ पुग्ने बताउनुभयो । साथै, नेपाल क्रिकेट संघ क्यानले मान्यता नदिएका जिल्लामा रहेका प्रतिभावान खेलाडी पहिचान गर्ने प्रतियोगिताले उद्देश्य राखेको पनि बताउनुभयो ।