दोस्रो घोराही गोल्ड कपको उपाधि घोराहीलाई, राप्ती टाईब्रेकरमा पराजित

छवि पुरी
घोराही, २७ चैत । दोस्रो संस्करणको घोराही गोल्ड कप–२०८१ को उपाधि आयोजक घोराहीले जितेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा बुधबार भएको खेलमा राप्तीलाई टाईब्रेकरमा हराउँदै लगातार दोस्रो पटक उपाधि उचालेको हो ।
निर्धारित समयको खेलमा दुबै टीमले १–१ गोलको बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । टाईब्रेकरमा घोराहीले राप्तीलाई ३–१ गोलले हरायो । दोस्रो हाफको ४४ मिनेटमा राप्तीका अमित चौधरीले गोल गर्दै अग्रता दिलाए पनि अतिरिक्त समयमा राप्तीका खेलाडीले पेनाल्टी एरियामा फल गरेपछि घोराहीले पेनाल्टीमार्फत गोल गर्दै १–१ को बराबरीमा पुर्याएको थियो । खेल बराबरीमा पुर्याउन घोराहीका प्रमोद बुढाले पेनाल्टीमार्फत गोल गर्नुभयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको अन्तिम समयमा दुवै टीमबाट १–१ गोल भएपछि नतिजाका लागि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा राप्तीका १ जना खेलाडीले पोष्टको बाहिर बल प्रहार गर्दा एउटा प्रहार बारमा लागेर फर्किएको थियो । अर्को एक प्रहार गोल किपर सरीन जिसीले बिफल पारेपछि घोराहीलाई जीत सहज भएको हो ।
घोराही उपमहानगरपालिका खेलकुद विकास समितिले आयोजनामा चैत २३ गतेबाट भएको प्रतियोगिताको उपाधि विजेता घोराहीले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता भएको राप्तीको टीमले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको घोराही नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो । यस्तै प्रतियोगितामा विधागत रुपमा उत्कष्ट भएका खेलाडीलाई पनि ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । प्लेयर अफ द म्याच घोराहीका भीमसेन थापा हुनुभयो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा घोराहीका बिक्रम घर्ती हुनुभएको छ । यसैगरी, उत्कृष्ट मिडफिल्ड घोराहीका रमेश खत्री हुँदा उत्कृष्ट फरवार्ड पनि घोराहीका प्रमोद बुढा हुनुभयो । उत्कृष्ट गोलकिपर घोराहीका सरीन जिसी हुँदा उत्कृष्ट डिफेन्स राप्तीका शंकर रोका हुनुभयो । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा घोराहीका दीपक पुन, इराक घर्ती र बिनोद बिक हुँदा अनुशासित टीम राजपुर भएको छ ।
दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिका गरी ८ वटा पालिका टीमको सहभागीता रहेको थियो ।
यसैबीच, घोराहीका कप्तान बिक्रम घर्तीलाई प्रतियोगिता समापन समारोहमा भव्य बिदाई गरिएको छ । टीमलाई उपाधि दिलाउन महत्पूर्ण कप्तानी गर्नुभएका बिक्रमलाई घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी, खेलकुद विकास समितिलगायत खेलाडीहरुको भव्य बिदाई गर्नुभयो । घोराहीमा हुने मेयरकपमा लामो समयदेखि कप्तानी गर्दै उपाधिसमेत दिलाउन सफल बिक्रमलाई औपचारिक रुपमा गोल्डकपबाट बिदाई कार्यक्रम गरिएसँगै उहाँले खेल जीवनबाट सन्यास लिनुभएको छ । सफल कप्तानका रुपमा आफुलाई प्रमाणित गर्नुभएका बिक्रमलाई घोराही उपमहानगरपालिकाकी उपप्रमुख डिसीले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।