Ad Area

तीनकुने घटनाको दोषीलाई कडा कारवाही गर्न माग


घोराही, ३१ चैत । नागरिक समाज दाङले गत चैत १५ गते काठमाडौँको तीनकुने घटनाको निष्पक्ष छानबीन गरी दोषी उपर कडा कारवाही गर्न माग गरेको छ ।

समाजका संयोजक नीमबहादुर थापाको अध्यक्षतामा आईतबार घोराहीमा बसेको बैठकले आन्दोलनका नाममा भएको अवाञ्छित र अप्रिय घटनाका कारण मानवीय र भौतिक क्षतिका कारण अहिले आम जनमानसका असहज परिस्थिती सिर्जना गरेको भन्दै घटनाको यथार्थ छानबीन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको हो ।

यस्तै, बैठकले हाल शिक्षकहरुको काठमाडौ केन्द्रित आन्दोलनको आवाज सुन्न र माग सम्बोधनका लागि पहलकदमी लिई समस्या समाधानमा केन्द्रित हुन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैगरी, दाङका विद्यालयहरुमा यस वर्षको कक्षा ८ को नतिजा अत्यन्तै कमजोर रहेको देखिएकाले शैक्षिक सुधारका लागि सरोकारवाला पक्षहरुलाई गम्भीर बन्न पनि ध्यानाकर्षण गराएको छ ।

बैठकले हाल देशमा देखा परेको राजनीतिक तरलताले लोकतन्त्रको संस्थागत विकासमा असर पुग्ने हुँदा सबै पक्ष गम्भीर बन्न र राजनीतिक दलका नेतृत्वले जिम्मेवारी बोध गर्न पनि अपिल गरेको छ ।

यसैगरी, बैठकले २०८१ सालमा नागरिक समाजले गरेका कामको समिक्षा गर्दै भावी योजनाका बारे छलफल गरेर नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान पनि गरेको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।