गजल अभियानमा गुन्जिए युवा गजलकार
छवि पुरी
घोराही, ७ बैशाख । गजल अभियान दाङद्वारा शनिबार घोराहीमा आयोजित गजल महफिलमा बर्दियाकी गजलकार निर्मला शर्मा, दाङका गजलकारद्वय सुशील पुन ‘विरही’, अभि क्षेत्री ‘समर्पण’ ले प्रेमरस, विद्रोह र विछोड मिश्रित आशयका गजल सुनाउँदा दर्शक दीर्घाबाट उत्साह र हौसला भरिएको वाहवाही पाएका छन् ।
स्रष्टात्रयको गजलले शनिबार घोराहीमा आयोजित गजल महफिलको वातावरण नै गजलमय बनाई दियो । बर्दियाकी गजलकार शर्माले गीति गजलमा सुमधुर आवाजसहित मुखडाबाट ढोका उघार्दा ताली बज्यो ।
दिल बनेर आउँछन् धडकन बनेर आउँछन्
नजारा देखाउन कोही नयन बनेर आउँछन् ।।
उहाँले अर्को गजलमा आवाज भर्नुभयो । दुई बीचको सम्बन्धमा दरार कसरी आयो रु सबै ठीकठाक भएकै अवस्थामा पनि सम्बन्ध कसरी टुट्छ भन्ने कुरा गजलमा यसरी सुनाउनुभयो ।
कहाँ चुक्यो वचन तिम्रो र मेरो
कसिलै थ्यो वन्धन तिम्रो र मेरो ।।
उहाँले अर्को गजलमा मनका कुण्ठा उजागर गर्नुभयो । अहिलेको वर्तमान बारे उजागर गर्दै युवा वर्गले देख्ने गरेको सपनामा परेको कुठाराघातबाट आजित विषयलाई गजललाई गीति भाकामा सुनाउनुभयो ।
उहाँले दिलमा पीडाको निशानी छ मेरो
भनेर नसक्ने कहानी छ मेरो ।।
पक्कै पनि तिमीलाई आदत थिएन मेरो
मजधार मै छोडेर गयो जरुरत थिएन मेरो
मात्रै म देख्छु छायाँ तड्पिन्छु सम्झनामा
दिन्छौ अपार माया तड्पिन्छु सम्झनामा
अनि,
म तिम्रै मायाको पुजारी बनेर
थाप्नेछु झोली भिखारी बनेर
जीवनका हरेक यात्राहरुमा
आउनेछु पक्कै सवारी बनेर लगायत गजल वाचन गर्नुभयो । अर्का सर्जक तथा गजलकार सुशील पुन ‘विरही’ ले जोशिलो र चोटिलो रुपमा गजल वाचन गर्नुभयो । हिमाल पहाड र तराईको सम्बन्ध अनि यसले समाजलाई जोडेको कुरालाई सुशीलले यसरी सुनाउनुभयो ।
तिमी भोटमा बस्छौ भोटी पठाई देऊ
सुन बेचेर यता रोटी पठाई देऊ ।
उहाँले समाजका बिम्बलाई शब्दमा उनेर विचारोत्तेजक भावमा अर्को गजल सुनाउनुभयो ।
कोशी आईदियो लौन माडी आईदियो
तराईसम्म बगेर पहाडी आई दियो ।।
जस्तो फलामलाई फलामकै घन परेको छ
उस्तै मलाई आफन्त कै वचन परेको छ ।।
उहाँले झर्छ मान्छे हदै तल झर्छ धनका लागि
मार्छ अनि स्वयं मर्छ यौवनका लागि ।।
रहेन अचेल यो प्यार पनि प्यार जस्तो
सबै चिजमा देख्छु यहाँ व्यापार जस्तो ।।
बरु यही बेहोसीमा हराउन दामी लाग्छ
कारण तिम्रा यादहरु सुनामी लाग्छ ।।
कहिले गजल बनायो कहिले भजल बनायो
यो जिन्दगीले नि सारै सरल बनायो ।।
अर्का युवा गजलकार अभि क्षेत्री ‘समर्पण’ ले पनि उपस्थित दर्शकको ध्यान गजलमार्फत भरपूर तान्नुभयो ।
देख्दै पनि डाहा हुन्छ जीवन के आहा हुन्छ
विहे पहिले वाहा हुन्छ, विहे पछि स्वाहा हुन्छ ।।
एउटाको सिन्दुर मिल्यो अर्काको घर मिल्यो
कसरी भनु सम्बन्ध र सिन्दुरको स्तर मिल्यो ।।
होला कतिपयलाई यो कुरा अवगत नभएको
मत भीरफूल हुँ गमलालाई जरुरत नभएको ।।
यहाँ मित्रहरु बराबर प्यार अरु कसले गर्छ
अंगालो हालेर पिट्युमा प्रहार अरु कसले गर्छ ।।
गजलप्रेमीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमले दाङमा गजल साहित्यको महत्व प्रगाढ बनाउन सघाएको छ । घोराहीमा चौथो दाङ गजल महफिलमा गजल साहित्यको प्रवर्धन र गजल विधालाई उजागर गर्न कार्यक्रम गरिएको आयोजकको भनाई छ ।
क्रियाशील स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यसहित दाङमा घोराहीमा आयोजित चौथो दाङ गजल महफिल–२०८२ मा गजलकारहरुले गजल वाचन गरिरहँदा वातावरण नै गजलमय बन्न पुग्यो । गजल अभियान दाङका उपाध्यक्ष आदिम केसीको अध्यक्षता तथा राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष डा। टीकाराम उदासीको प्रमुख आतिथ्यमा आयोजित दाङ गजल महफिलमा संगितकार तथा गायक सन्तोष रजौरेले गीति गजल सुनाउनुभयो । उहाँले
कसले चोर्यो मेरो निद आँखाबाट, के लेख्यो खै भाग्य रेखा तिमीलाई पाउन लेखेन न छ, जिन्दगीले ओझेल पार्यो दैवले नि देखेन छ लगायत गीति गजल सुनाउनुभयो ।
यादवनाथ योगीले पनि सुन्दर गजल सुनाउनुभयो । उहाँले हार्मोनियम वादक मदन रेग्मी, तबला वादक विकास मजगैयाको सहयोगमा हाम्रो मायाको हावा चल्यो मन्दमन्द, डाहा गर्नेहरुको मुटु जल्यो मन्दमन्दलगायत गजल गाउनुभयो । गजल अभियान दाङले जिल्लामा नियमित रूपमा गजल महफिल गर्दै आएको छ । गजल लेखनको विकाससँगै गजलको संस्थागत विकासका लागि यस प्रकारको अभियान चलाईएको साहित्यकारहरुको भनाई छ ।
गजलले साहित्यको माहोल सिर्जना गर्ने मात्रै भनाई हरेक परिवेशलाई रचनात्मक रुपमा उजागर गर्ने शैली शिल्प पनि देखाउने गर्छ । साहित्य विधाको एक सशक्त माध्यम गजलको विकासका लागि आफुहरु आगामी दिनमा अझ वृहत रुपमा अघि बढ्ने गजल अभियान दाङका सचिव प्रकाश केसी बताउनुहुन्छ ।
समकालीन साहित्यमा गजलको महत्व र भुमिका बढ्दै गएको छ । नेपाली साहित्यमा ८० को दशकलाई गजलको दशकका रुपमा समेत अघि बढाउने काम भईरहेको छ । यो अवस्थामा यस प्रकारका कार्यक्रमलाई अझ व्यापक बनाउन सके गजलको विकासमा टेवा पुग्ने गजलकार शशी शर्मा मजगैयाको भनाई छ ।
साँच्चै जगलले मनको आवाज बोल्छ । नसुन्नेलाई सुन्ने बनाउँछ । गजलका आफ्नै सीमा र नियम हुन्छन् । त्यही परिधिमा रहेर गजलको रचना हुने हुँदा यो साहित्यको खास विधा पनि हो । समकालीन समयमा नेपाली गजलको धार समयको आवाज बोल्ने परिवेशबाट अघि बढेको छ । यसलाई समाजको विम्बका रुपमा जोडेर लैजानु आवश्यक रहेको राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा। टीकाराम उदासीको धारणा छ ।
गजल अभियानले गजल गायन र गजल वाचनका साथै पुरस्कार तथा सम्मान कार्यक्रम पनि गरेको छ । गजलकार तथा सर्जक रामगोपाल यादव, यादवनाथ योगी र शशी शर्मा मजगैँयालाई सम्मानसहित पुरस्कृत गरेको छ । प्रतीक संग्रामीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रकाश केसी र कपिल लामिछानेले गर्नुभएको थियो ।