वैकल्पिक सडक निर्माणमा ढिलाइ

दाङ, १० वैशाख । सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्पर सञ्चालनका लागि निर्माणाधीन वैकल्पिक मार्ग निर्माणमा ढिलाइ भएको छ । बजेट अभाव र उक्त खण्डमा कडा चट्टानसँगै नियमित काम हुन नसक्दा ट्रयाक निर्माणमा ढिलाइ भएको हो । वैकल्पिक मार्ग निर्माणको काम सुरु भएको करिब पाँच वर्षको अवधिमा ७५ प्रतिशत मात्र काम भएको छ ।
घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योगलगायतका सिमेन्ट उद्योगका लागि टिप्पर सञ्चालनका लागि २०७६ सालदेखि बंगलाचुली गाउँपालिका–४ जुम्लेपानी–जौलेबाँध–ओखलढुङ्गा–उर्जा–बाछी–सुकाखोला मार्गको ट्रयाक खोल्ने काम सुरु भएको थियो । सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण घोराही–कमिरेचौर–मुर्कुटी सडकखण्ड जीर्ण भएपछि लुम्बिनी प्रदेश सरकारको लगानीमा वैकल्पिक मार्ग निर्माणको काम अघि बढेको थियो । वैकल्पिक मार्ग अन्तर्गत पाँच किलोमिटर सडकमध्ये हालसम्म करिब चार किलोमिटर सडकको ट्रयाक खन्ने काम भएको सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी एवम् इन्जिनियर लीलाधर गिरीले जानकारी दिएका छन् ।
वैकल्पिक सडक अन्तर्गत जुम्लेपानी–जौलेबाँध–ओखलढुङ्गासम्मको सडकको ट्र्याक खन्ने काम सकिएको छ भने उर्जा–बाछी–सुकाखोला खण्डमा ट्रयाक खोल्ने काम बाँकी रहेको छ । बाँकी रहेको खण्डमा ट्रयाक खन्ने काम सकिएपछि टिप्पर सञ्चालन गर्न सकिने सूचना अधिकारी तथा इन्जिनियर गिरीले बताए । ट्रयाक खोल्नका लागि बजेट अभावसँगै पहाडी क्षेत्रमा भएका ठुला–ठुला चट्टान फोड्नमा बढी समय लागेकाले सडक निर्माणमा ढिलाइ भएको सूचना अधिकारी गिरीले बताए ।
सडकको ट्रयाक निर्माणसँगै जोखिमपूर्ण ठाउँमा वाल लगाउनु पर्ने, कल्र्भटसँगै नाला निर्माण गर्नुपर्ने भए पनि बजेट अभावका कारण यो आर्थिक वर्षम काम हुन नसकेको बताए । गत वर्ष काम गरेको पैसा यो वर्ष भुक्तानी दिइएको र यो वर्ष काम हुन नसकेको बताए । गत वर्ष ट्रयाक निर्माणसँगै चट्टान फोड्ने काम उपभोक्ता समितिमार्फत् गरिएको थियो ।
‘वैकल्पिक मार्गको ट्रयाक खोल्न पाँच वर्षअघि सुरु भए पनि बजेट अभावका कारण नियमित काम हुन सकेको छैन’, सूचना अधिकारी गिरीले भने, ‘नियमित काम भएको भए अहिलेसम्म काम सकिन्थ्यो । बजेटको समस्याले नियमित काम हुन सकेको छैन ।’ वैकल्पिक मार्गको ट्रयाक खन्न हालसम्म करिब दुई करोड ५० लाख बढी रकम खर्च भइसकेको र पूर्णरूपमा सडक सञ्चालन गर्न थप सात करोड बढी बजेट आवश्यक पर्ने सूचना अधिकारी गिरी बताउँछन् । सडकको ट्रयाक खन्ने काम लगभग ७०÷७५ प्रतिशत भए पनि खोलामा कल्भर्ट, जोखिमपूर्ण ठाउँमा जाली, वाल लगाउनेदेखि नाला निर्माणलगायतका काम गर्नुपर्ने भएकाले सात करोड बढी बजेट आवश्यक पर्ने उनको अनुमान छ ।
वैकल्पिक सडक निर्माण भए सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परसँगै बंगलाचुली गाउँपालिका वडा नं. ३, ४, ६, र ८ नम्बर वडाबासीलाई सेवा लिन करिमरेचौरमा रहेको गाउँपालिकाको कार्यालय पुग्न सहजा हुने बंगलाचुली गाउँपालिका–४ का अध्यक्ष डाँसबहादुर डाँगी बताउँछन् । गाडी हिड्ने मोटरबाटो नहुँदा अहिले वडाबासीलाई गाउँपालिका पुग्न हिड्नुपर्ने र गाडीमा जानुपरे घोराही बजारसम्म पुगेर कमिरेचौर पुग्नुपर्ने बाध्यता रहेको भन्दै वडाध्यक्ष डाँगीले वैकल्पिक मार्ग निर्माण भए सहज हुने बताए ।
त्यससँगै वैकल्पिक मार्ग निर्माण भए सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका लागि छोटो बाटो हुने र घोराही–कमिरेचौर–मुर्कुटी हुँदै प्युठान जाने सडकको अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । टिप्पर सञ्चालनका लागि वैकल्पिक मार्ग नहुँदा बंगलाचुली गाउँपालिका हुँदै प्युठान जोड्ने सडक जीर्ण अवस्थामा पुगेको छ ।