कुक्कीवन कपमा महिला टिम च्याम्पियनसहित अल्फालाई १४ पदक

दाङ । ओल्ड तेक्वान्दो हेडक्वार्टर कुक्कीवनको सहयोगमा नेपालमा पहिलो पटक आयोजना गरिएको कुक्कीवन कप मा दाङस्थित अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै महिला टिम फाइटतर्फ च्याम्पियनको उपाधि जित्न सफल भएको छ ।
महिला टिम फाइटतर्फ अल्फा तेक्वान्दो डोजाङ टिमले उत्कृष्ट समन्वय र कौशल प्रदर्शन गर्दै च्याम्पियनको ट्रफी हात पार्न सफल भएको हो। प्रतियोगितामा अल्फा टिमले ४ स्वर्ण, ३ रजत र ७ कांस्य पदक जित्दै शानदार प्रदर्शन गरेको हो। स्वर्ण पदक विजेताहरूमा अन्जना बिष्ट, अदिती सुनार र प्रकृति लामा (ग्रुप फाइट), वर्षा जि.एम. (साइड ब्रेकिङ), प्रिती चन्द (हाइ जम्प ब्रेकिङ) र समिर तामाङ (सिङ्गल पुम्से) रहेका छन्। रजत पदक विजेतामा दामु शर्मा (सिनियर पुम्से र नाइफ हेन्ड ब्रेकिङ – दुई विधामा), तथा सुमित लामा (साइड किक ब्रेकिङ) रहेका छन्।
त्यस्तै, कांस्य पदक जित्ने खेलाडीहरूमा जस्मिन चौधरी, कमल खड्का र किसोर रोका (ग्रुप फाइट), आयुष न्यौपाने, शुभम केसी र अस्मिता बुढा (ग्रुप पुम्से), किरन घले (साइड किक ब्रेकिङ), अपिल केसी र जेनि थापा (हाइ जम्प ब्रेकिङ), बिमल योगी (ग्रुप पुम्से), तथा संगीत थापा, आबेग सुनार र शुभम केसी (ग्रुप फाइट) रहेका छन्। नेपाल तेक्वान्दो संघको आयोजनामा २०८२ बैशाख ४ देखि ६ गतेसम्म सातदोबाटो, ललितपुरस्थित संघको केन्द्रीय कार्यालयमा सम्पन्न प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए।
कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत विशेष अतिथि रहेका थिए । प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित देशभरका विभिन्न डोजाङहरूबाट करिब ७०० खेलाडीहरू सहभागी थिए। अल्फा तेक्वान्दो डोजाङबाट डोजाङ प्रमुख तथा रेफ्री सुनिता बिष्ट, मुख्य प्रशिक्षक सुमित लामा र टिम व्यवस्थापक दामु शर्माको नेतृत्वमा १४ जना खेलाडीहरूले विभिन्न विधामा सहभागिता जनाएका थिए।
प्रतियोगितालाई विशेष बनाउन ग्रुप पुम्से, फ्री स्टाइल किक, पन्च एन्ड नाइफ हेन्ड ब्रेकिङ, एरोबिक, ग्रुप फाइट जस्ता नयाँ विधाहरू पनि समावेश गरिएको थियो। उक्त सफलतापछि प्रशिक्षक तथा डोजाङ परिवारले सम्पूर्ण खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरेका छन्।