Ad Area

दाङका ३ पालिकामा एसडब्लुएफएचए परियोजना लागू


घोराही, १० बैशाख । ग्रामीण महिला उत्थान केन्द्र र अमेरिकास्थित निवास संस्थाको साझेदारीमा दाङका ३ वटा स्थानीय तहमा ‘महिला परिवारलाई सुरक्षित आवासमार्फत सुदृढीकरण र भूमिमा महिलाको स्वामित्व सचेतना’ परियोजना ‘एसडब्लुएफएचए’ लागू भएको छ ।

समुदायमा रहेका विपन्न, सिमान्तकृत, एकल महिला र बस्ने आवास नभएका १६ वर्ष मुनिका बालबालिकाहरुका लागि सुरक्षित आवाससँगै लक्षित महिलालाई सीप प्रदान गरी आत्मनिर्भर उन्मुख बनाउन र बालबालिकाहरुको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यसहित परियोजना लागू भएको हो ।

मार्चदेखि लागू भएको परियोजनाले आगामी डिसेम्बर २०२५ सम्ममा लक्षित कार्यक्रम सम्पन्न गर्ने गरी जिल्लाका गढवा गाउँपालिका, राजपुर गाउँपालिका र घोराही उपमहानगरपालिकामा कार्यक्रम तय गरेको छ ।

जिल्लाको गढवा गाउँपालिकामा विपन्न, सिमान्तकृत, एकल महिला र १६ वर्ष मुनिका बालबालिकाहरुको लागि लागत साझेदारीमा ३ वटा सुरक्षित आवास निर्माणसँगै पुनर्ताजगी घर निर्माण सम्बन्धी तालिम, भूमिमा महिलाको स्वामित्व सचेतना प्रदान गरिने छ । राजपुर गाउँपालिकामा भने १ वटा सौँचालयसहितको अपांगतामैत्री आवास परियोजनाका तर्फबाट तथा २ वटा आवास लागत साझेदारीमा निर्माण गर्ने गरी काम अघि बढाईएको परियोजना संयोजक पार्वती बस्नेतले जानकारी दिनुभयो ।

परियोजनाबाट प्रति घर निर्माणका लागि ४ लाख २१ हजार रुपैयाँ विनियोजन समेत भईसकेको उहाँले बताउनुभयो । यसैगरी, घोराही उपमहानगरपालिकामा भूमिमा महिलाको स्वामित्व सचेतना तालिम प्रदान गरेर क्षमता विकाससँगै आत्मनिर्भर उन्मुख बनाउने गरी परियोजनाले काम गर्ने उहाँले बताउनुभयो ।

यसका लागि ग्रामीण महिला उत्थान केन्द्रले परियोजनाका तर्फबाट गढवा र राजपुरमा सरोकारवाला निकायहरुसँग समन्वयात्मक बैठक बसी परियोजनाका बारेमा जानकारी गराउँदै काम अघि बढाएको छ ।

ग्रामीण महिला उत्थान केन्द्रले गढवामा मंगलबार र राजपुरमा बुधबार सरोकारवाला निकायहरुसँग समन्वयात्मक बैठक बसेर परियोजनाले तय गरेका कार्यक्रम र लक्ष्य बारे जानकारी गराएको छ ।

सुरक्षित आवासका लागि परियोजनाले यसअघि पहिचान गरेका लक्षित घर परिवारका बारेमा जानकारी गराउँदै सरोकार सबैको सहकार्यमा लाभग्राही हुने घर परिवारको पहिचान गरी काम अघि बढाउने भएको छ ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले परियोजनाले घर नभएकाहरुका लागि घर बनाउने कार्यक्रमले निकै राम्रो प्रभाव पारेको बताउनुभयो । परियोजनाले पालिकामा दोस्रो चरणमा गर्न थालेको काममा साथ सहयोग र सहकार्य रहने बताउनुभयो ।
सो अवसरमा, अब बन्ने सुरक्षित आवास बारे इन्क्लुसिभ ईन्जिनियरिङका तर्फबाट भवनको नक्सा र डिजाईन सम्बनधी जानकारी गराईएको थियो ।

राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले घर नभएकालाई घर बनाएर बस्ने आधार बनाउनु नै सबै भन्दा ठूलो मानवीय कार्य रहेको बताउनुभयो । परियोजनाले परिकल्पना गरेको काममा वडा कार्यालयदेखि पालिका पनि घर बनाउने अभियानमा जोडिन आवश्यक रहेको भन्दै अभियानमा पालिका साथमा रहेको बताउनुभयो ।

ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवामा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, वडा अध्यक्षहरु, इन्जिनियर, शाखा प्रमुखलगायत सहभागी हुनु भएको थियो भने राजपुरमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष शरदकुमार बुढ़ाथोकी, उपाध्यक्ष धनपती देवी यादव, प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगी, वडा अध्यक्षलगायत सहभागी हुनुभएको थियो । कार्यक्रमको विषय बारे ग्रामीण महिला उत्थान केन्द्रका मीरा चौधरीले प्रकाश पार्नु भएको थियो भने सहजीकरण पार्वती बस्नेतले गर्नुभएको थियो ।

सो अवसरमा यसअघि ग्रामीण महिला उत्थान केन्द्र दाङ, निवास संस्था तथा गढवा गाउँपालिका र राजपुर गाउँपालिकासँगको सहकार्य र साझेदारीमा सञ्चालन भएको महिला परिवारलाई सुरक्षित आवासमार्फत सुदृढिकरण परियोजनाले गरेका कामको सामाजिक परीक्षण प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।

गढवा गाउँपालिकामा ४ वटा र राजपुर गाउँपालिकामा ४ वटा दुई–दुई कोठाको भूकम्प प्रतिरोधी घर निर्माण गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ । गढवा र राजपुर गाउँपालिकामा २–२ वटा परियोजनाकै सतप्रतिशत लागतमा र अरु ४ वटा आवास परियोजना, स्थानीय सरकार र लाभग्राहीको त्रिपक्षीय लागत सहभागीतामा निर्माण गरी कुल ८ वटा आवास सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिएको हो ।