निःशुल्क कम्प्युटर तालिम सुरु

प्रियास्मृती गजमेर
लमही,१० वैशाख । सूचना प्रविधिको युगसँगै स्थानीयस्तरमा सीपमूलक तालिममार्फत युवाहरूलाई सक्षम बनाउने उद्देश्यले लमही नगरपालिका–६ मा दुई महिने निःशुल्क कम्प्युटर तालिम सुरु भएको छ ।
उक्त तालिमको बुधबार लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले उद्घाटन गरेका हुन । निःशुल्क कम्प्युटर तालिमको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले सिपलाई सही रुपमा सदुपयोग गर्न आग्रह गरेका थिए ।
आजको युग प्रविधिको युग भएको भन्दै नगर प्रमुख चौधरीले युवाहरू प्रविधिसँग जोडिन सके मात्र समृद्धि प्राप्त गर्न सकिने बताए । स्थानीय सरकारले निःशुल्क रुपमा तालिमको आयोजना गरेर युवालाई प्रविधिको ज्ञानसँगै आफ्नै ठाउँमा रोजगारी प्रदान गर्न खोजेको भन्दै तालिममा सहभागी युवालाई अवसरलाई सही रुपमा सदुपयोग गर्न आग्रह गरेका थिए ।
नगर प्रमुख चौधरीले भने,‘हामी युवालाई आत्मनिर्भर बनाउने, उनीहरूलाई रोजगारमूलक सीपमा दक्ष बनाउने र डिजिटल साक्षरतामा पहुँच पु¥याउने लक्ष्यमा छौँ।’ कार्यक्रममा उपप्रमुख लक्ष्मी योगीले स्थानीयस्तरमै आयोजना गरिएको तालिमले युवालाई ज्ञान दिनका साथै रोजगारीमा जोड्न सहयोग गर्ने बताइन । वडा अध्यक्ष श्याम नारायण चौधरीले स्थानीय युवा शक्तिलाई प्रविधिमा दक्ष बनाउन यस्तो तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
लमही नगरपालिका–६ को आर्थिक सहयोग तथा सक्सेस टेक्निकल ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा वडाका युवा तथा विद्यार्थीलगायत ४२ जना सहभागी छन् । तालिममा कम्प्युटरको आधारभूत ज्ञान, माइक्रोसफ्ट अफिस प्याकेज, इन्टरनेटको प्रयोग, टाइपिङ अभ्यास, तथा अन्य आवश्यक डिजिटल सीपहरू सिकाइने छ ।