Ad Area

नयाँ दररेट कायम भएसँगै अण्डाको मूल्य बढ्यो


घोराही, २६ बैशाख । नयाँ दररेट कायम भएसँगै अण्डाको मूल्य बढेको छ । बिहीबार बसेको नेपाल लेयर्स कुखुरापालक संघको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेसँगै एक पेटीमा कम्तीमा चार सय रुपैयाँ मूल्य बढेको संघका सचिव मदन पोख्रेलले जानकारी दिनुभयो ।

अण्डाको मूल्य बढ्दा अण्डा उत्पादक किसानलाई केही राहत भएपनि अण्डाको उत्पादनमा भने गिरावट आएको उहाँ बताउनुहुन्छ । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य समायोजन गरि नयाँ रेट कायम गर्दा मूल्य बढेको नेपाल लेयर्स कुखुरापालक संघ दाङका सदस्य हरपल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, आज शुक्रबारदेखि नै लागू हुने गरी अण्डाको समर्थन थोक मुल्य एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) तीन हजार ५ सय ५० रुपैयाँ, ठूलो अण्डा तीन हजार ४ सय रुपैयाँ र मझौलाको ३ हजार ५० रुपैयाँ कायम गरिएको छ ।

यसअघि एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) तीन हजार १ सय ४० रुपैयाँ, ठूलो अण्डा तीन हजार रुपैयाँ र मझौलाको २ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी तीन हजार छ सय ७५ रुपैयाँसम्म पुगेको थियो । ठूलो आर्थिक लगानी गरेर कुखुरापालन गरेपनि लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।

अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो भईरहेको अवस्थामा मुल्यमा सुधार आउँदा केही राहत हुने गरेको नेपाल लेयर्स कुखुरापालक सघ दाङका कोषाध्यक्ष ईश्वर अर्यालको भनाइ छ ।

अण्डा उत्पादनमा लागत बढ्दै जाने तर कुखुराले अपेक्षा गरिए अनुसार अण्डा नदिने, विभिन्न किसिमका रोग संक्रमणले समस्या थप्दा लगानी उठाउन चुनौति हुने गरेको संघका कोषाध्यक्ष अर्यालले बताउनुभयो ।

अहिले गर्मीका कारण अण्डा उत्पादनमा गिरावट आएको र बजार माग बढ्दा मुल्य बढेको उहाँले जानकारी दिनुभयो । ‘गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो । उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ । अण्डा उत्पादन अहिले झण्डै २५ प्रतिशत गिरावट आएको हुँदा मूल्य अझ बढ्न सक्ने अवस्था रहेको छ’ उहाँले भन्नुभयो ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी तीन हजार छ सय ७५ रुपैयाँसम्म पुगेको थियो । यता, दाङमा हाल दैनिक १७ सय पेटी अण्डा उत्पादन हुने गरेको नेपाल लेयर्स कुखुरापालक संघ दाङले जनाएको छ ।