पुल निर्माणमा लापरवाही, डेढ वर्षमा बन्नुपर्ने पुल चार वर्षसम्म बनेन

लीलाधर वली
दाङ, २ जेठ । दाङमा निर्माण व्यवसायीको चरम लापरवाहीका कारण डेढ बर्षमा बन्नुपर्ने पुल साढे चार बर्षसम्म पनि निर्माण हुन सकेको छैन । राप्ती गाउँपालिका–४ को नयाँगाउँ र वडा नं. ८ को बिजौरीलाई जोड्ने गरी दोलई खोलामा निर्माण हुन थालेको ३५ मिटर लम्बाईको पुल निर्माणमा ढिलाइ भएको हो ।
१८ महिनामा पुल निर्माणको काम सक्ने गरी २०७७ भदौ २१ गते जयबुद्ध विराट जेभीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार २०७८ फागुनमा पुल निर्माणको काम सकिनुपर्ने भए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण दुई पटक म्याद थपिँदासमेत पुल निर्माण सम्पन्न हुन सकेको छैन ।
थपिएको म्याद सकिन करिब दुईसाता मात्र समय रहँदा पुल निर्माणको भौतिक प्रगति ५० प्रतिशत मात्र भएको सडक पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर लोकेन्द्र पुन बताउँछन् । उनका अनुसार पाँच करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हालसम्म दुई करोड २४ लाख रुपैयाँ भुक्तानी भएको छ । म्याद थप गरिएको समयमा निर्माण व्यवसायीले इमानदारीपूर्वक काम गरेको भए अहिलेसम्म पुल निर्माणको काम सकिने अवस्था रहेको भन्दै इन्जिनियर पुनले भने, ‘निर्माण व्यवसायीले काम गर्छु भन्ने तर नगर्ने प्रवृत्तिले लामो समयसम्म पुल बन्न सकेको छैन । जसले गर्दा जनताले दुःख पाउनेदेखि प्रदेश सरकारकै बदनाम गर्ने काम निर्माण व्यवसायीले गरेको छ ।’
दोस्रो पटक थपिएको एक वर्षको म्याद २०८२ जेठ १६ गते सकिनै लागे पनि पुल निर्माणको काम सकिने अवस्था नरहेको उनले बताएका छन् । पुल निर्माणका लागि व्यवसायीलाई बोलाउनेदेखि पत्र काटेर पटक–पटक ताकेता गर्दासमेत पुल निर्माणमा ढिलाई भइरहेको बताए । पुल निर्माणको काम जतिसक्यो चाँडै सक्ने गरी लाग्न ताकेतासँगै ठेक्का सम्झौता रद्द गर्नेसम्मको चेतावनी दिएको भन्दै इन्जिनियर पुनले भने, ‘त्यही पनि निर्माणको काममा लापरवाही भइरहेको छ ।’ रद्द गर्दा प्रक्रिया लामो हुने र सकेसम्म अहिलेकै निर्माण व्यवसायीबाटै काम गराउने प्रयास भएकाले पहिलेको ठेक्का तोड्न नसकिएको भन्दै साइटइन्चार्जसमेत रहेका पुनले अब के गर्ने भन्नेमा कार्यालय रहेकोे बताए ।
उनले निर्माण व्यवसायीलाई सम्पर्क गर्दा जेठको पहिलो सातासम्म निर्माणका सामग्री छड, सिमेन्टल झार्ने भनेको र ती सामग्री नझारे ठेक्का सम्झौता रद्द गर्नुको विकल्प नभएको उनले बताए । स्थानीयका अनुसार निर्माण व्यवसायीले गत वर्षदेखि नै काम गरेको छैन । गत वर्ष नै खोलमा पिलरसँगै एउटा सल्याव राख्ने काम गरेको निर्माण कम्पनीले यो वर्ष फागुनमा अर्काे सल्याव राख्नका लागि माटो उठाउने काम मात्र गरेको बिजौरी निवासी आशा चौधरीले बताए ।
निर्माणका क्रममा भएको ढिलासुस्तीले पुल निर्माण हुन थालेपछि खुसी भएका नागरिकमा अहिले निराशा छाएको भन्दै चौधरीले भने, ‘बर्सात्को समयमा वर्षाँैदेखि दुःख पाइरहेको खोलामा पुल निर्माण हुन थालेपछि खुसी भएका थियाँै तर पुल निर्माणमा ढिलासुस्ती हुँदा निराश हुने अवस्था छ ।’ पुल निर्माणमा ढिलाइ हुँदा बर्सात्को समयमा स्थानीयलाई खोला वारपार गर्न समस्या हुने गरेको बताएका छन् ।