कविता : क्रान्ति

श्रीराम दहित
तिव्र गतिमा यात्रा गरौं, सम्हालिएर अघि बढौं,
सकारात्मक परिवर्तनका द्वारहरू, संयमता साथ खोलौं।
सुरक्षित, विवेकी क्रान्तिका पाइलाहरू चालौं,
नवदिशामा उज्यालो सिर्जना गरौं।
विचारलाई व्यवहारमा ल्याउने साधना गरौं,
आराधना मार्फत जन–जनमा समृद्धि झरौं।
सिर्जनशील सोच, सक्रिय कर्म, मानव मात्रभित्र
शोध र चेतनाका दियो बलौं।
व्यक्तिबाट परिवार, समाज हुँदै राष्ट्रसम्म
शान्तिको स्पन्दन फैलाऔं, विश्वसमेत उज्यालो बनाऔं।
पवित्र चिन्तन, उचाइ मनन — चेतनामा गरौं विकास,
आध्यात्मिक, भौतिक, राजनीतिक र आर्थिक क्रान्तिको होस् प्रकाश।
सनातन नीति र धर्मको मार्गदर्शनमा,
नैतिक आदर्शलाई मन–मस्तिष्कमा राखौं।
समाजमा मानवता र सहअस्तित्वको
गहिरो र सङ्कल्पित जरा गाडौं।
समय, युग र परिस्थितिअनुसार कर्म गरौं,
त्याग र समर्पणबाट जीवन सार्थक बनाऔं।
क्रान्ति नायक उद्देश्य र लक्ष्य बोकी
संकल्पमा अडिग हुँदै अघि बढून्।
बालबालिका, आजका साझेदार,
संस्कार र ज्ञानका उज्याला दीप होऊन्।
सफलता त्यहीँ आउँछ जहाँ विभेदको अन्त्य हुन्छ,
सत्य, सौन्दर्य, र भाइचारा जहाँ व्यवहारमा झल्किन्छ।
क्रान्तिको नायक बन्न, दियोझैं जल्नुपर्छ,
सपना साकार पार्न, संगै पाइला चाल्नुपर्छ।
गाउँ–बस्तीको भोक र शोकमा मलम लगाउनु क्रान्ति हो,
राष्ट्रको ढुकुटी लुटेर नेतृत्वमा बस्नु — त्यो त भ्रान्ति हो।