सिस्ने गाउँपालिकामा बृहत यौनिकता शिक्षा कार्यक्रम औपचारिक हस्तान्तरण

रुकुम पूर्व, ५ जेष्ठ । बृहत यौनिकता शिक्षा तथा किशोरमैत्री सूचना केन्द्र (AFIC) कार्यक्रम सिस्ने गाउँपालिकामा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
शिक्षा विकास समन्वय इकाई रुकुम पूर्वका प्रमुख तिलक गौतमको अध्यक्षता तथा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख आतिथ्यमा नेपाल परिवार नियोजन संघ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहकार्यमा सन् २०१८ देखि सिस्ने गाउँपालिकामा सञ्चालन हुँदै आएको बृहत यौनिकता शिक्षा तथा किशोरमैत्री सूचना केन्द्र (AFIC) कार्यक्रमको औपचारिक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष रेग्मीले संवेदनशील र महत्वपूर्ण कार्यक्रम सिस्ने गाउँपालिकामा प्रभावकारी रूपमा सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै स्थानीय सरकारको तर्फबाट अब यस कार्यक्रमको निरन्तरता सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले किशोर–किशोरीहरूको समग्र स्वास्थ्य र विकासमा कार्यक्रमले पुर्याएको योगदानलाई अत्यन्तै सराहनीय भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा शिक्षा विकास समन्वय इकाईका प्रमुख तिलक गौतमले किशोरमैत्री सूचना केन्द्रहरूको प्रभावकारिता कायम राख्न र ती केन्द्रहरूलाई अझ सशक्त रूपमा अघि बढाउन विद्यालयहरूले आफ्नै स्रोत साधनबाट प्रयास गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले आगामी दिनमा यौनिकता शिक्षालाई स्थानीय पाठ्यक्रम र विद्यालयगत क्रियाकलापहरूमा समावेश गर्ने दिशामा सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनालले कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका गतिविधि, प्राप्त उपलब्धि, र यसले समुदायमा पुर्याएको प्रभावबारे जानकारी गराउँदै कार्यक्रमको स्थायित्वका लागि स्थानीय तहको भूमिका अपरिहार्य रहेको धारणा राख्नुभयो ।
साे अवसरमा सहभागी विद्यालयका प्रधानाध्यापकहरू, AFIC फोकल शिक्षक, विद्यालय व्यवस्थापन समिति प्रतिनिधिहरूले कार्यक्रममा प्राप्त सिकाइ र अनुभवहरूलाई निरन्तरता दिँदै स्थानीय तह र विद्यालयको समन्वयमा किशोरमैत्री सूचना केन्द्रलाई दिगो रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमले किशोरहरूमा आत्मविश्वास, निर्णय क्षमता, लैंगिक समानता र स्वास्थ्य सम्बन्धी जानकारी अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा सिस्ने गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरू, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख, सामाजिक विकास समिति सदस्य, सञ्चारकर्मी लगायतकाे उपस्थिति रहेको थियो।
सहभागिहरूले कार्यक्रममा देखिएको सफलतालाई संस्थागत गर्न, विद्यालय तथा समुदाय स्तरमै यस्ता सूचना केन्द्रलाई सक्रिय राख्न र स्थानीय नीति तथा योजना निर्माणमा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
कार्यक्रमले अफिसीयल रूपमा AFIC कार्यक्रमको स्थानीय स्वामित्वमा हस्तारण गर्दै स्थायित्व, निरन्तरता र प्रभावकारिताका लागि नयाँ चरणको थालनी गरेको छ। यसले शिक्षा र स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।