Ad Area

दाङमा सात वटा बाघ भेटिए


लीलाधर वली
दाङ, ९ जेठ । दाङमा सातवटा वयस्क बाघ भेटिएका छन् । डिभिजन वन कार्यालय घोराहीको संयोजन तथा डिभिजन वन कार्यालय देउखुरीको समन्वय र सहकार्यमा दाङका चार स्थानीय तह अन्तर्गतको मध्यतराई भूपरिधि क्षेत्रमा गरिएको सर्वेक्षणका क्रममा सात वटा वयस्क बाघ फेला परेका हुन् ।

फेला परेका बाघमध्ये एउटा भाले, दुई पोथी र चारवटा लिङ्ग पहिचान हुन नसकेको डिभिजन वन कार्यालय दाङ घोराहीका सिनियर डिभिजन वन अधिकृत वसेन्द्रराज सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार २०८१ मङ्सिर २४ गतेदेखि माघ ४ गतेसम्म ४० दिनसम्म गरिएको सर्वेक्षणका क्रममा सात वटा बाघ क्यामेरामा कैद भएका थिए ।

डिभिजन वन कार्यालय घोराहीका सिनियर डिभिजन वन अधिकृत सुवेदीका अनुसार जिल्लामा पहिलो पटक गरिएको बाघ गणनाका लागि घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिकाका विभिन्न २३ स्थानमा क्यामेरा जडान गरिएको थियो । गणनाका लागि दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएका एक सय नौ वटा ग्रिडहरूमा क्यामेरा जडान गरेर चार सय ३६ वर्गकिलोमिटर वन क्षेत्रको निगरानी गरिएको बताए ।

सर्वेक्षण कार्यका लागि डिभिजन वन कार्यालयबाट आठ जना कर्मचारी, आठ जना स्थानीय बासिन्दा र १६ जना नागरिक अनुसन्धानकर्तालाई आठ समूहमा परिचालन गरिएको बताए । अहिले क्यामेरा ट्रयाप सर्वेक्षणका क्रममा सङ्कलन गरिएको तथ्याङ्कको विश्लेषण गर्ने काम भइरहेको भन्दै सिनियर डिभिजन वन अधिकृत सुवेदीले भने, ‘प्राम्भिक चरणमा अनुसन्धानबाट आएको नतिजा सार्वजनिक गरेका छौँ ।
विस्तृत अध्ययनको काम भइरहेको छ ।’

मध्य–तराई भूपरिधि क्षेत्रमा सञ्चालनमा रहेको तीन वर्षे जैविक विविधता सर्वेक्षण पनि सम्पन्न भएको सिनियर डिभिजनल वन अधिकृत सुवेदीले जानकारी गराका थिए । सर्वेक्षणका क्रममा दाङ, अर्घाखाँची र कपिलवस्तु तीन जिल्लामा भएको र त्यसक्रममा १० वटा वयस्क बाघ फेला परेको जानकारी गराएका थिए । १० वटा बाघमध्ये दुई÷दुई वटा भाले र पोथी र छ वटा पहिचान हुन नसकेको बताए ।
उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा दाङमा भेटिएका बाघहरू बाँके राष्ट्रिय निकुञ्ज वा भारतको सुहेलवा वन्यजन्तु वाइल्ड लाइफ स्याङचुरी क्षेत्रबाट कम्दी जैविक मार्ग क्षेत्र हुँदै ओहोरदोहोर गर्ने क्रममा दाङसम्म आइपुगेको हुन सक्ने बताएका छन् । सीमावर्ती क्षेत्रमा वन्यजन्तुको सुरक्षित आवागमनका लागि अन्तर सरकारी तथा अन्तर संस्थागत समन्वयलाई प्रभावकारी बनाउन आवश्यक देखिएको सिनियर डिभिजन वन अधिकृत सुवेदीले बताए ।

कार्यक्रममा डिजिन वन कार्यालय दाङ देउखुरीका सिनियर डिभिजनल अधिकृत प्रमुख महेन्द्रराज वाग्लेले बाघको संरक्षणले पारिस्थितिक प्रणाली राम्रो बनाउन सहयोग पुग्ने बताए । बाघ बस्ने वातावरण बनाउन लाग्नु पर्ने उनी बताउँछन् । वन्यजन्तुको सङ्ख्या वृद्धिसँगै मानिस तथा वन्यजन्तु दुवैलाई चुनौती रहेको बताए । मानिस र वन्यजन्तुबिच द्वन्द्व बढ्न सक्ने उनको भनाइ छ । यो द्वन्द्व रोक्नका लागि नीति बनाएर अगाडि बढ्नु पर्ने उनी बताउँछन् ।

मध्ये–तराई भू–परिधि कार्यक्रम (ताल) परियोजनाका प्रोजेकक्टर म्यानेजर राजकिशोर यादवले जिल्लामा पहिलो पटक यस प्रकारको अध्ययन गरिएको बताए । अहिले प्रारम्भिक रिपोर्ट आएको र विस्तृत रिपोर्ट प्रकाशन गरिने उनको भनाइ छ । यसका लागि काम भइरहेको उनले कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकण डिजिवन वन कार्यालय दाङका बरिष्ठ वन अधिकृत टेकनप्रसाद आचार्यले गरेका थिए ।