Ad Area

बंगलाचुलीमा ‘पोषणमार्फत् जीवन रुपान्तरण परियोजना’को समीक्षा


मधुसुदन गिरी
कमिरेचौर, ९ जेठ । बंगलाचुली गाउँपालिकामा ‘पोषणमार्फत् जीवन रुपान्तरण परियोजना’ को सरोकारवालासँग बैठक तथा समीक्षा कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

हेलेन केलर इन्टरनेसनल र बेस संस्थाको आयोजनामा र बंगलाचुली गाउँपालिकाको समन्वयमा एक बर्षको अवधिमा गरेका काम र आगामी बर्ष गरिने कार्यक्रमको बारेमा समीक्षा गरिएको हो ।बेस संस्थाका संयोजक सुरेश चौधरीले बंगलाचुली गाउँपालिकामा एक बर्षको अवधिमा परियोजनाअन्तर्गत गरेका काम र परियोजनाबारे जानकारी गराएका थिए । परियोजनाको अवधि पाँच वर्षको रहेको र दाङका १० वटै स्थानीय तहमा छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गर्दै पोषणमार्फत जीवन रुपान्तरण परियोजना कार्यक्रम सञ्चालन भइरहेको बताएका थिए ।

विशेष गरेर पोषणमैत्री राष्ट्रिय कार्यविधिको सोच र लक्ष्य अनुसार स्वस्थ, समृद्ध, बौद्धिक र सभ्य मानव पुँजीको निर्माण गरि २०८७ सम्म सबै स्थानीय तहलाई पोषणमैत्री बनाउने सो परियोजनको उद्देश्य रहेको जानकारी गराएका थिए । कुपोषणका कारण देखा पर्ने रक्तअल्पता, पुड्कोपन, ख्याउटेपन जस्ता समस्याहरूको न्युनीकरणमा उक्त परियोजनाले काम गर्दै आएको छ । जिल्लामा एक हजार ३ सय २५ जना बालबालिकाहरू मध्यम शीघ्र कुपोषण र ४९ जना बालबालिका कडा सीघ्र कुपोषण रोगबाट संक्रमित भएको जानकारी दिएका थिए ।

त्यसमध्ये बंगलाचुली गाउँपालिकामा ६८ जनामा मध्यम कुपोषण र एक जना बालबालिकामा कडा कुपोषण फेला परेको तथ्यांक सार्वजनिक गरिएको छ । बंगलाचुलीमा ९३ प्रतिशत बालबालिका उपचार पछि निको भइसकेको जानकारी गराइएको थियो । समिक्षा कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले भविष्यमा जनशक्ति उत्पादन गर्न पनि विशेष गरेर पोषणमा ध्यान दिनुपर्ने बताए । बंगलाचुली गाउँपालिकामा उमेर नपुग्दै बिबाह गर्ने समस्या बढि भएकोले पनि बालबालिकामा विभिन्न खालका समस्या आउने गरेको यसमा न्युनिकरणमा पनि सबैले जोड दिनुपर्ने बताए ।

पोषण मार्फत जिवन रुपान्तरण परियोजनालाई बंगलाचुली गाउँपालिकाले आगामी दिनमा पनि साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डाँगी, ६ का अध्यक्ष डोमबहादुर केसी, स्वास्थ्य शाखा प्रमुख नेबबहादुर केसी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका कल्पना केसी, कृषि शाखा प्रमुख ज्ञानबहादुर कंडेललगायतका कर्मचारीको सहभागिता रहेको थियो ।