Ad Area

लुम्बिनी प्रदेशमा उद्योगबाट करिब चार करोड राजस्व सङ्कलन


अमरराज आचार्य
दाङ, १० जेठ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१÷०८२ को नौ महिनाको अवधिमा घरेलु तथा साना उद्योगबाट करिब चार करोड राजस्व सङ्कलन भएको छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालयको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशमा नयाँ उद्योग, दर्ता, बन्द, संशोधनलगायतबाट उद्योगतर्फ तीन करोड ८८ लाख ५३ हजार पाँच सय ९९ रुपैयाँ सङ्कलन भएको हो ।

सङ्कलित राजस्वमध्ये वाणिज्य प्रशासनतर्फ चार करोड ४० लाख ८९ हजार नौ सय ७२ रुपैयाँ सङ्कलन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । रुपन्देहीबाट उद्योगतर्फ एक करोड ३४ हजार २७ र वाणिज्यतर्फ ५९ लाख ८३ हजार आठ सय १९ रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसैगरी बाँकेमा उद्योगतर्फ ५८ लाख ५८ हजार नौ सय ७५ र वाणिज्यतर्फ एक करोड सात लाख ५९ हजार सात सय १० रुपैयाँ, नवलपरासी पश्चिममा उद्योगतर्फ २४ लाख ६० हजार एक सय ९८ र वाणिज्यतर्फ ४६ लाख ९३ हजार चार सय चार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यसैगरी कपिलवस्तुमा उद्योगतर्फ २८ लाख ८२ हजार चार सय ६० र वाणिज्यतर्फ ३७ लाख ८५ हजार नौ सय ७९ रुपैयाँ, दाङमा उद्योगतर्फ ५३ लाख छ हजार छ सय ७२ र वाणिज्यतर्फ ७६ लाख ५७ हजार छ सय १४ रुपैयाँ राजश्व सङ्कलन भएको छ । यसैगरी बर्दियामा उद्योगतर्फ ६१ लाख पाँच हजार एक सय ८० र वाणिज्यतर्फ ३१ लाख ५९ हजार छ सय ९० रुपैयाँ, पाल्पामा उद्योगतर्फ १५ लाख ७२ हजार चार सय ३७ रुपैयाँ र वाणिज्यतर्फ २३ लाख ३३ हजार छ सय ४६ रुपैयाँ, गुल्मीमा उद्योगतर्फ १५ लाख २४ हजार २५ रुपैयाँ र वाणिज्यतर्फ २४ लाख ६६ हजार १० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यसैगरी अर्घाखाँचीमा उद्योगतर्फ पाँच लाख १७ हजार तीन सय २५ र वाणिज्यतर्फ तीन लाख ७० हजार चार सय ७५ रुपैयाँ, प्युठानमा उद्योगतर्फ नौ लाख ५६ हजार छ सय ९० र वाणिज्यतर्फ ११ लाख ७० हजार पाँच सय १५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसैगरी रोल्पामा उद्योगबाट १३ लाख ८५ हजार छ सय ७५ र वाणिज्यतर्फ १३ लाख ७१ हजार चार सय १५ रुपैयाँ, रुकुम पूर्वमा उद्योगतर्फ दुई लाख ४८ हजार आठ सय ४५ र वाणिज्यतर्फ तीन लाख ३७ हजार छ सय १५ रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयका सूचना अधिकारी सन्तोष सुवेदीले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारले उद्योग र नयाँ उद्यमी बढाउन चालु आर्थिक वर्षमा विविध योजना ल्याए पनि नयाँ उद्योगी भने तुलनात्मक रूपमा उद्यमी थपिन सकेनन् । चालु आर्थिक वर्षमा नयाँ दर्ता हुन आउने उद्योगलाई उद्योग दर्तामा लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । तीमध्ये अपाङ्ग, महिला, दलितको लागि थप ५० प्रतिशत छुटको व्यवस्था गरेर दर्ता हुने व्यवस्था मिलाइएको थियो ।

प्रदेश आर्थिक ऐनको दफा १२ को उपदफा १ मा ‘आर्थिक वर्ष २०७८÷०७९ सम्म वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरी सञ्चालनमा रहेका वा सञ्चालनमै नरहेका दर्ता भएका प्राइभेट तथा साझेदारी फर्मले २०८१ चैत मसान्तभित्र विवरणसहित नवीकरण वा दर्ता खारेज गर्न चाहेमा नियमानुसार लाग्ने नवीकरण शुल्क र जरिवाना रकमको पाँच प्रतिशतले हुन आउने रकम दाखिला गरेमा बाँकी शुल्क वा जरिवाना मिनाहा गरी नवीकरण वा दर्ता खारेज गरिने’ उल्लेख छ ।

दफा २ मा लघु, घरेलु तथा साना उद्योगको रूपमा दर्ता गर्ने उद्योगलाई दर्ता गर्दा प्रचलित व्यवस्था अनुसार लाग्ने अन्तिम दर्ता शुल्कको ५० प्रतिशत छुट दिई दर्ता गरिने व्यवस्था गरिएको छ । छुटको व्यवस्था २०८१ चैत मसान्तसम्म रहेको थियो । गत वर्ष एक वर्षको अवधिमा लुम्बिनी प्रदेशमा उद्योगतर्फ तीन हजार छ सय ३९ र वाणिज्य फर्मतर्फ तीन हजार नौ सय ३२ व्यवसाय दर्ता भएका थिए ।

उद्योग दर्तामा उत्साह नदेखिए पनि नवीकरणमा भने छुटको प्रभाव देखिएको छ । यस वर्षको नौ महिनामा प्रदेशभरका १२ जिल्लामा उद्योगतर्फ छ हजार चार सय ५७ र वाणिज्यतर्फ सात हजार एक सय नौ फर्म नवीकरण भएका छन् । गत वर्ष एक वर्षको अवधिमा उद्योगतर्फ सात हजार चार सय २९ र वाणिज्य फर्मतर्फ सात हजार आठ सय ३१ नवीकरण भएका थिए ।

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको नौ महिनामा दुई हजार पाँच सय ७९ उद्योग र तीन हजार ९८ वाणिज्य फर्म दर्ता भएका छन् । चालु आर्थिक वर्षको नौ महिनामा रुपन्देहीमा उद्योगतर्फ छ सय ८० र वाणिज्य फर्म नौ सय ४५ दर्ता भएका छन् । बाँकेमा पाँच सय २६ उद्योग र पाँच सय ७६ वाणिज्य फर्म दर्ता भएका छन् ।

नवलपरासी पश्चिममा दुई सय ५२ उद्योग र तीन सय २३ फर्म दर्ता भएका छन् । कपिलवस्तुमा दुई सय ६६ उद्योग र तीन सय २४ फर्म, दाङमा तीन सय २८ उद्योग र चार सय ५६ वाणिज्य फर्म, बर्दियामा दुई सय ४० उद्योग र दुई सय १९ वाणिज्य फर्म, पाल्पामा ६४ उद्योग र ६४ नै फर्म नयाँ दर्ता भएका छन् ।

गुल्मीमा ४२ उद्योग र ४५ वाणिज्य फर्म, अर्घाखाँचीमा ५८ उद्योग र २५ वाणिज्य फर्म, प्युठानमा २५ उद्योग र ४४ वाणिज्य फर्म, रोल्पामा ६२ उद्योग र ५३ वाणिज्य फर्म दर्ता भएका छन् । रुकुम पूर्वमा यस वर्षको नौ महिनाको अवधिमा ३६ उद्योग र २४ फर्म दर्ता भएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एक वर्षको अवधिमा गत वर्ष रुपन्देहीमा उद्योगतर्फ आठ सय ३७ र एक हजार दुई सय ८९ वाणिज्य फर्म दर्ता भएका थिए । बाँकेमा सात सय २९ उद्योग र छ सय ४८ वाणिज्य फर्म, नवलपरासी पश्चिममा चार सय ८४ उद्योग र चार सय ५३ फर्म, कपिलवस्तुमा चार सय पाँच उद्योग र तीन सय ५३ फर्म गत वर्ष दर्ता भएका थिए ।

दाङमा पाँच सय १३ उद्योग र पाँच सय ९६ वाणिज्य फर्म, बर्दियामा दुई सय ८२ उद्योग र दुई सय ५४ वाणिज्य फर्म, पाल्पामा ९७ उद्योग र ९१ फर्म, गुल्मीमा ७३ उद्योग र ६२ फर्म दर्ता, अर्घाखाँचीमा ५४ उद्योग र ३६ फर्म, प्युठानमा ३६ उद्योग र ४७ वाणिज्य फर्म, रोल्पामा ६८ उद्योग र ६१ वाणिज्य फर्म दर्ता भएका थिए भने गत वर्ष एक वर्षको अवधिमा रुकुम पूर्वमा ६१ उद्योग र ४१ फर्म दर्ता भएका थिए ।