घोराहीका युवा क्लवलाई जलवायु न्याय बारे सचेतीकरण

घोराही, १० जेठ । घोराहीका युवा क्लबसँग जलवायु न्यायका लागि नेतृत्व विकास, योजना तयारी र कार्यान्वयनका विषयमा छलफल गरिएको छ ।
मुक्त कमलरी विकास मञ्च, स्वच्छ सफा नेपालको आयोजना तथा आइएम नेपालको सहयोगमा आज घोराहीमा जलवायु परिवर्तनका कारण पार्ने असर र यसको जोखिम न्यूनीकरणका लागि नेतृत्व विकास, योजना तयारी र कार्यान्वयनका विषयमा छलफल गरिएको हो ।
स्वच्छ सफा नेपालका कार्यक्रम संयोजक कैलाश विक्रम शाहीले युवा पुस्तालाई जलवायु परिवर्तनका कारण पर्ने असर र वातावरण स्वच्छ राख्न अपनाउनु पर्ने तरिकाका विषयमा जानकारी गराईएको बताउनुभयो ।
उहाँले जलवायु परिवर्तनले मानिसमा पार्ने असर, यसलाई न्यूनीकरण गर्न सरोकारवालाको दायित्व, युवा सञ्जालको भूमिकाका विषयमा छलफल गरि प्रभावकारी कार्यान्वयनमा अपनाउनु पर्ने सावधानी बारे जानकारी गराईएको बताउनुभयो ।
मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले स्वच्छ वातावरण राख्न घर परिवारबाट शुरुवात गर्नुपर्ने र त्यसका लागि युवा क्लवका परिवार, समुदाय र विद्यालयमा सचेतनाका कार्यक्रम पुर्याउन सके यसको भुमिका महत्वपूर्ण रहने बताउनुभयो ।
स्वच्छ सफा नेपालका पैरवी तथा अभियान सल्लाहकार प्रेमप्रकाश नेपालीले जलवायु परिवर्तन र चुनौतीका बारेमा जानकारी गराउँदै हरित गृह ग्यास उत्सर्जनका स्रोतहरुका बारेमा बताउनुभयो । उहाँले खानेपानी र खाद्य सुरक्षासँगै स्वच्छ वातावरण नागरिकको मौलिक अधिकार सुनिश्चित गर्न अपनाउनु पर्ने उपायका बारेमा जानकारी गराउनुभयो ।
स्वच्छ सफा नेपालले वातावरण कसरी स्वच्छ बनाउने विषयमा दाङको घोराही उपमहानगरपालिकाका आमा समूह, युवा क्लवमार्फत विभिन्न कार्यक्रम गर्दै आएको अभियानका सल्लाहकार नेपालीले बताउनुभयो ।