Ad Area

युवाहरुमा व्यक्तित्व र नेतृत्व विकास गर्न जिल्ला स्तरीय सञ्जाल गठन


घोराही, १० जेठ । दाङका युवाहरुमा व्यक्तित्व र नेतृत्व विकास गर्न गठित युवा क्लबहरुको जिल्ला स्तरीय सञ्जाल गठन गरिएको छ ।
मुक्त कमलरी विकास मञ्चको आयोजना तथा आईएम नेपालको सहयोगमा मुक्त कमलरी सशक्तीकरण परियोजना लागू भएको घोराही, तुलसीपुर र लमहीका युवा क्लबका पदाधिकारीको उपस्थितिमा जिल्ला स्तरीय सञ्जाल गठन गरिएको हो ।

मञ्चकी अध्यक्ष हिरामोती चौधरीको अध्यक्षतामा घोराहीमा शनिबार भएको कार्यक्रमले जिल्ला स्तरीय युवा सञ्जालको अध्यक्षमा शम्भु नेपालीलाई चयन गरेको छ । जिल्ला सञ्जालको उपाध्यक्षमा अन्जना चौधरी, सचिवमा करुणा पौडेल, कोषाध्यक्षमा सिम्रन डाँगी चयन हुनुभएको छ भने सदस्यहरुमा पारस वली, दिपीका चौधरी, अनिता चौधरी, कृतिका चौधरी, मन्सु परियार, अन्जली चौधरी, प्रकृति चौधरीसहितको ११ सदस्यीय कार्यसमिति चयन हुनु भएको छ ।

कार्यक्रममा मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष चौधरीले नयाँ पुस्तालाई नेतृत्वका लागि तयार गर्ने उद्देश्यले कार्यक्रम लागु भएका पालिकाको काम प्रभावकारी बनाउन एकीकृत क्लब गठन गरिएको बताउनुभयो । एक्लैले गरेको काम भन्दा सामुहिक रुपमा गरिएको काम बढी फलदायी हुने भएकाले समूह आवश्यक रहेको बताउनुभयो । स्वच्छ सफा नेपालका कैलाश विक्रम शाहीले समाज परिवर्तनका सम्वाहक युवाहरुलाई संगठित गरेर पैरवी गर्ने गरिएको बताउनुभयो ।

मुक्त कमलरी सशक्तीकरण परियोजनाका परियोजना अधिकृत सुबोध चौधरीले जिल्लास्तरीय युवा सञ्जाल गठन गरेर तीन वटा पालिकालाई जोड्ने काम गरेको बताउनुभयो । युवा सञ्जालका माध्यमबाट युवाहरुको अधिकार, काम कर्तव्यका विषयमा वकालत गर्ने सचेत र सक्षम युवा तयार गर्न थालिएको बताउनुभयो ।

युवालयका दाङ कार्यक्रम संयोजन विद्या बिष्टले युवाहरुले काम गर्दा खुलेर गर्नुपर्ने, सहकर्मीहरूको बिचमा छलफल गरेर काम गर्नुपर्ने र सकारात्मक तरिकाले समाजमा स्थापित हुनुपर्ने विषयमा पैरवी गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक सरिता चौधरी गर्नुभएको थियोे ।