आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै

काठमाडौं, १८ जेठ, । स्कटल्याण्डमा सोमबारदेखि आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखला सुरु हुँदैछ ।
शृंखलाको पहिलो खेलमा नेपालले सोमबार नै स्कटल्याण्डसँग खेल्दै छ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । नेपालले स्कटल्याण्डसँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । अमेरिकामा गत अक्टोबरमा भएको लिग २ शृंखलामा नेपालले स्कटल्याण्डसँग एक खेल जित्दा एक खेल वर्षाका कारण हुन सकेन ।
हालसम्म नेपाल र स्कटल्याण्डबीच ओडिआईमा भएका ८ खेलमध्ये ४ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ । पछिल्ला चार खेलमा नेपाल अपराजित छ जहाँ ३ जित निकाल्दा १ नतिजाविहीन थियो । अमेरिकाको शृंखलाअघि सन् २०२३ मा कीर्तिपुरमै भएको शृंखलामा नेपालले दुवै खेलमा जित हात पारेको थियो । यसपटक स्कटल्याण्डको होममा खेल भएकाले केही चुनौती भने हुनेछ ।
अंकतालिकामा १२ खेलबाट ६ अंक भएको नेपाल ८ टिममध्ये हाल पुछारमा रहेको छ । नेपाली टोलीका लागि यो अवे शृंखला अंक बटुल्ने हिसाबले महत्वपूर्ण हुनेछ ।नेपालले स्कटल्याण्ड आउनुअघि बेलायतमा विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेल खेल्दै अपराजित रहेको थियो भने स्कटल्याण्ड आएर ए टोलीसँग पनि अभ्यास खेलेको थियो ।
स्कटल्याण्ड ए सँगको एक खेल गुमाएको नेपालले अर्को खेलमा पहिले ब्याटिङ गरेर ४५ ओभरमा २५३ रन बनाएपनि वर्षाका कारण दोस्रो इनिङ भने पूरा हुन सकेन । विशेषगरी स्कटल्याण्डको कन्डिशनमा संयमित ब्याटिङ गरेर अभ्यास खेलको जस्तै लय निरन्तरता दिन सके नेपालका लागि यो शृंखलाबाट केही महत्वपूर्ण जित प्राप्त हुन सक्छ ।