Ad Area

वायु प्रदुषण न्युनीकरणका लागि आनीबानी सुधार जरुरी


घोराही, १९ जेठ । बढ्दो जलवायु प्रदुषणका कारण भई रहेको क्षति न्यूनीकरण गर्न मानिसले आफ्नो आनीबानी सुधार गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

स्वच्छ सफा नेपालको आयोजना र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको समन्वय र आइएम स्वीडिस डेभलपमेन्ट पाट्र्नरको आर्थिक सहयोगमा इन्टरसेक्शनल ग्रिन फ्युचर्सः एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजना अन्तरगत सोमबार कपिलवस्तुका युवा क्लब, कृषक समूह, सहकारीका प्रतिनिधि, साझेदार संस्थाका प्रतिनिधि र सरोकारवालाबीच भएको जलवायु न्याय सम्बन्धि छलफलका सहभागीले वायु प्रदुषण नियन्त्रण गर्न जलवायु अनुकुलनका असल अभ्यासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

स्वच्छ सफा नेपालका कार्यक्रम संयोजक कैलाश विक्रम शाहीले जलवायु परिवर्तन न्यूनीकरण गर्दै वातावरण स्वच्छ राख्न अपनाउनुपर्ने विषयमा जानकारी गराएको बताउनुभयो ।

उहाले जलवायु परिवर्तनले मानिसमा पार्ने असर, यसलाई न्यूनीकरण गर्न सरोकारवालाको दायित्व, नागरिकको भूमिका बिषयमा सचेत गराउने काम भईरहेको उहाँले बताउनुभयो ।

स्वच्छ सफा नेपालका पैरवी तथा अभियान सल्लाहकार प्रेमप्रकाश नेपालीले जलवायु परिवर्तन र चुनौतीका बारेमा सबै नागरिक सचेत हुनुपर्ने बताउनुभयो ।

छलफलमा सहभागी कपिलवस्तुकी रिता यादवले घर तथा समुदाय सरसफाइ गर्ने र प्लास्टिकको प्रयोग कम गर्न आनीबानीमा सुधार गर्न सबैलाई सचेत गराउने बताउनुभयो । स्वच्छ सफा नेपालले पर्यावरणीय स्वच्छताका विषयमा दाङ, कपिलवस्तु र सल्यानका आमा समूह, युवा क्लबमार्फत विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।