लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

छवि पुरी
घोराही, २२ जेठ । लुम्बिनी प्रदेशस्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । जेठ २३ गतेदेखि दाङको बेलझुण्डी रंगशालामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक लुम्बिनी प्रदेश खेलकुद परिषदले जनाएको छ ।
जेठको २३, २४ र २५ गते तीन दिनसम्म चल्ने प्रतियोगितामा प्रदेशका ११ जिल्लाका खेलाडीहरु सहभागी हुन थालेको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रतियोगितामा रोल्पा जिल्लाबाहेक सवै जिल्लाका खेलाडी सहभागी हुनेछन् ।
रोल्पाले तयारी नपुगेको भन्दै सहभागी नहुने जनाएको बताउनुभयो । प्रतियोगितामा लुम्बिनी प्रदेशका ११ जिल्लाबाट खेलाडी, प्रशिक्षिक र अफिसियल गरी करिब एक हजार तीन सय बढीको सहभागी हुनेछन् । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलमा महिला÷पुरुष, कवड्डीमा महिला÷पुरुष, एथ्लेटिक्स तथा मार्सल आर्टमा उसु, कराँते र तेक्वान्डो गरी छ विधाका प्रतियोगिता समावेश गरिएको छ । उक्त प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने वा १८ वर्ष मुनिका सहभागी हुनेछन् ।
जसअनुसार एथ्लेटिक्सका सबै खेलहरु बेलझुण्डी रंगशालामा, उसु र कराँतेका खेलहरु ओम शान्ति स्केट पार्कमा, तेक्वान्दोका खेलहरु प्रदेश तेक्वान्दो हल कृष्ण मन्दिरमा गर्ने गरी तालिका तयार पारिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव गौतमले जानकारी दिनुभएको छ । कवड्डी प्रतियोगिता संस्कार पाठशालामा, भलिबलका खेलहरु अरनिको मैदानमा हुने भएको छ । स्थानीय पालिका हुँदै जिल्लामा प्रतिष्पर्धा गरेका तथा जिल्ला हुँदै प्रदेशस्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु यही जेठको २८, २९ र ३० गते काठमाडौको दशरथ रंगशालामा हुने प्रतियोगितामा भाग लिन पाउनेछन् ।
खेलकुदको विकाससँगै युवाहरुलाई अनुशासित बनाउन प्रतियोगिताले भुमिका खेल्ने प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोकाले बताउनुभयो । उहाँका अनुसार प्रदेशस्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उदघाटन विहिवार बिहान ८ बजे हुने भएको छ । प्रतियोगिताको उदघाटन लुम्बिनी प्रदेशकी उर्जा जलस्रोत तथा सिंचाईमन्त्री सीता चौधरीले गर्ने कार्यक्रम तय भएको प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोकाले जानकारी दिनुभएको छ ।