प्रदेश स्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि दाङलाई

छवि पुरी
घोराही, २५ जेठ । लुम्बिनी प्रदेश स्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ मा दाङ च्याम्पियन बनेको छ । दाङको बेलझुण्डी रंगशालामा भएको प्रतियोगितामा ३ पटकको अपराजित बाँकेलाई पछि पार्दै दाङ च्याम्पियन बनेको हो ।
जेठको २३, २४ र २५ गते तीन दिनसम्म चलेको प्रतियोगितामा दाङले १६ स्वर्ण, १८ रजत र १६ कास्यसहित पचास पदकका साथ च्याम्पियन बन्न सफल भएको हो ।
आईतबार अबेर सम्पन्न रनिङ शिल्डमा रुपन्देहीले दोस्रो स्थान हासिल गरेको छ । रुपन्देहीले १३ स्वर्ण,९ रजत र ११ कास्यसहित ३३ पदक प्राप्त गर्यो । साविक विजेता बाँके यो पटक तेस्रो भएको छ । बाँकेले १२ स्वर्ण, १७ रजत र १७ कास्यसहित ४६ पदक हात पार्दा कपिलवस्तु चौथो भएको छ । कपिलवस्तुले ९ स्वर्ण, ५ रजत र ४ कास्यसहित १८ पदक जितेको छ ।
बर्दियाले पाँचौं स्थान हासिल गरेको छ । बर्दियाले ६ स्वर्ण, ५ रजत र २५ कास्यसहित ३६ पदक हात पार्दा नवलपरासी छैठौं भएको छ । उसले ६ स्वर्ण, ४ रजत र १० कास्यसहित २० पदकमाथि कब्जा जमाएको छ ।
पाल्पा सातौँ स्थान हासिल गर्दै २ स्वर्ण, १ रजत र ४ कास्यसहित ६ पदक जितेको छ ।
रुकुम पूर्व आठौं हुँदा २ स्वर्ण, २ कास्यसहित ४ पदक जितेको छ । प्युठान, अर्घाखाँची र गुल्मी स्वर्ण पदक विहिन रहे ।
दाङले एथलेटिक्समा ८ सय मिटर, चार सय मिटर, १६ सय मिटर, सटपुट, त्रिपल जम्प, थाउलो, सान्सौमा ४२, ४५ र ४८ किलो तौलमा, कराते ४२ किलो तौल, कराते एकल काता, ४० किलो, ४५ किलो, तेक्वान्दो एकल पुम्से, ४८ किलो, ५९ किलोमा स्वर्ण जितेको हो ।
प्रतियोगितामा विधागत रुपमा भलिबल छात्रातर्फ रुपन्देहीकी प्रतिभा चौधरी, एथलेटिक्समा छात्रातर्फ बाँकेकी आरुषी भट्टराई, छात्रतर्फ रुपन्देहीका शुभम बमरेल, कबड्डीमा छात्रातर्फ बर्दियाकी खुशी घर्ती मगर, छात्रतर्फ रुपन्देहीका क्षितिज गैरे उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
रोल्पा जिल्लाबाहेक ११ वटै जिल्लाका खेलाडी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १ हजार ३ सय बढी खेलाडीले सहभागीता जनाएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार, प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलमा महिला(पुरुष, कवड्डीमा महिला(पुरुष, एथ्लेटिक्स तथा मार्सल आर्टमा उसु, कराँते र तेक्वान्डो गरी ६ विधाका खेल भएको हो ।
प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने वा १८ वर्ष मुनिका बालबालिका सहभागी भएका थिए।
स्थानीय पालिकाहुँदै जिल्लामा प्रतिष्पर्धा गरेका तथा जिल्ला हुँदै प्रदेश स्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले अब यही जेठको २८, २९ र ३० गते काठमाडौको दशरथ रंगशालामा हुने प्रतियोगितामा भाग लिनेछन् ।
खेलकुदको विकाससँगै युवाहरुलाई अनुशासित बनाउन प्रतियोगिताले भुमिका खेलेको प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोकाले बताउनुभयो ।
बेलझुण्डी रंगशालामा उदघाटन भएको प्रतियोगिताका खेलहरु विभिन्न स्थानमा गरिएको थियो । जसअनुसार, एथ्लेटिक्सका सबै खेलहरु बेलझुण्डी रंगशालामा, उसु र कराँतेका खेलहरु ओम शान्ति स्केट पार्कमा, तेक्वान्दोका खेलहरु प्रदेश तेक्वान्दो हल कृष्णमन्दिरमा, कवड्डी प्रतियोगिता संस्कार पाठशालामा, भलिबलका खेलहरु अरनिको मैदानमा गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव गौतमले जानकारी दिनुभयो ।