Ad Area

पर्यटन प्रवद्र्धनमा पालिकाको सहकार्य, आकर्षण बन्दै बंगलाचुली पार्क


लीलाधर वली
दाङ, २६ जेठ । बढ्दै गरेको गर्मीमा हरियाली दृश्य र शीतलताले जोकोहीलाई लोभ्याउने ठाउँ हो, बंगलाचुली पार्क । बंगलाचुली गाउँपालिका–५ र प्युठानको माण्डवी गाउँपालिका–२ को सीमा क्षेत्रमा पर्ने बंगलाचुली पार्क पछिल्लो समय सबैको रोजाइँमा पर्ने गरेको छ । घोराही बजारदेखि पूर्व–उत्तरमा रहेको बंगलाचुली पार्क पर्यटकीय केन्द्रका रूपमा विकास भएको छ । पार्क क्षेत्रमा रहेको हरियाली प्राकृतिक सुन्दरतासँगै दृश्यावलोकनका लागि निर्माण गरिएको भिउटावर, पार्कलगायतका संरचनाले सबैको ध्यान तान्ने गरेको छ ।

करिब २८ हजार पाँच सय ६० स्वायर मिटर क्षेत्रफलमा फैलिएको उक्त पार्क निर्माणका लागि बंगलाचुली र माण्डवी गाउँपालिकाले सहकार्य गरेका छन् । दुवै पालिकाले गरेको लगानी र संरक्षणका कारण कुनै समय गौ चरिचरनका रूपमा रहेको ठुलीपहाड अहिले पर्यटकीय केन्द्रका रूपमा विकास भएको बंगलाचुली गाउँपालिका–५ मुकुर्टी निवासी सीमा पुन बताउँछिन् ।

बंगलाचुली गाउँपालिकामै अग्लो पहाडका रूपमा रहेको पहाडलाई संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गरेकाले पछिल्लो समय स्थानीयलाई घुमफिर तथा वनभोज खाने राम्रो ठाउँका रूपमा विकास भएको बताइन् । पार्कले बंगलाचुलीको मुर्कटीलगायतका क्षेत्रमा चहलपहल समेत बढाएको उनले बताइन् ।

ठुली पहाडलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि बंगलाचुली र माण्डवी गाउँपालिकासँगै प्रदेश र सङ्घीय सरकारबाट करिब पाँच वर्षको अवधिमा पाँच करोड रुपैयाँ बढी लगानी गरिएको छ । पार्क क्षेत्रलाई संरक्षणका लागि पर्खाल निर्माणसँगै दृश्यावलोकनका लागि भिउटावर, पार्क र प्रवेशद्वार, पिक्निक घर, बस्ने ठाउँ र प्रतीक्षालय, कार्यक्रम गर्ने स्थलसँगै हिड्ने ठाउँमा टायल विछ्याउने र रातको समयमा बस्न मिल्ने गरी सोलार बत्ती समेत जडान गरिएको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी बताउँछन् ।

उपाध्यक्ष जिसीका अनुसार सङ्घीय सरकारको तर्फबाट पार्क संरक्षणका लागि एक करोड रुपैयाँबाट पर्खालसँगै प्रवेशद्वार निर्माण भइरहेको छ । उनका अनुसार ०७७÷०७८ बाट पार्क निर्माणको कामलाई अघि बढाइएको थियो । यो वर्ष क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री रेखा शर्माको पहलमा परेको एक करोड बजेटबाट पार्कलाई संरक्षणका लागि गेटसँगै बंगलाचुलीको क्षेत्रबाट प्रवेशद्वारा निर्माण भइरहेको बताए ।

त्यससँगै तत्कालीन डिभिजन वन कार्यालयबाट ५० लाख, तत्कालीन बंगलाचुली गाविसबाट आठ लाख र गाउँपालिकाले करिब ४३ लाख लगानी गरेको छ । माण्डवी गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने पार्क क्षेत्रमा पर्यटन प्रवर्धनका लागि प्रवेशद्वार, गेट, पिक्निक घर, पार्क, मन्दिरलगायतका संरचना निर्माणका लागि करिब दुई करोड ५७ लाख रुपैयाँ लगानी गरेको उपाध्यक्ष पूर्णप्रसाद कालाथोकी बताउँछन् ।

दुई पालिकाको सहकार्यमा ठुली पहाडलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने गरी लगानी गरिएको भन्दै गाउँपालिका उपाध्यक्ष कालाथोकीले भने, ‘पर्यटन प्रवर्धनका लागि बंगलाचुली पार्कको राम्रो सम्भावना देखिएको छ । पार्कमा घुमफिर तथा पिक्निकका लागि टाढाटाढाबाट मानिस आउन थाल्नुभएको छ ।’ संरक्षण निर्माणकै क्रममा रहेकाले अहिले शुल्क नलिने गरेको भन्दै सबै काम सकिएपछि प्रवेश शुल्क निर्धारण गरेर लिने योजना रहेको बताए । उनका अनुसार पार्कलाई आकर्षक बनाउने गरी अहिले पनि काम भइरहेको छ ।

पार्कमा पछिल्लो समय दाङ, प्युठानसँगै रोल्पाबाट समेत मानिस घुम्न तथा पिक्निकका लागि आउने गरेका छन् । गर्मी मौसममा शीतलतासँगै बंगलाचुली पार्कमा रहेको भिउटावरबाट दृश्यावलोकन र ्राकृतिक सुन्दरतासँग रमाउन मानिस आउने गरेको स्थानीय टेकबहादुर वली बताउँछन् । पार्कस्थल पुग्नका लागि बाटो नहुँदा वर्षात्को समयमा पार्क पुग्न स्थानीयलाई समस्या हुने गरेको भन्दै स्थानीय वलीले भने, ‘बंगलाचुली पार्क पछिल्लो समय जिल्लामै आकर्षक पार्कका रूपमा विकास भएको छ तर मुर्कुटीबाट पार्कस्थल पुग्नका लागि राम्रो बाटो नहुँदा वर्षात्को समयमा दुःख हुने गरेको छ, त्यसतर्फ स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।’