घोराहीको नीति तथा कार्यक्रम : कृषि, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकास प्राथमिकतामा

अमरराज आचार्य
दाङ, २७ जेठ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति कार्यक्रम ल्याएको छ । नगरको १७ औं अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीले कृषि, उद्यम, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता राख्दै सार्वजनिक गरेका हुन् ।
नगर अधिवेशनमा नगर प्रमुख चौधरीले पुँजीगत बजेट खर्च क्षमता अभिवृद्धि गर्न आवधिक योजना, मध्यकालीन खर्च संरचना र आयोजना बैंकलाई आधार मारेर वार्षिक योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गरिने जानकारी गराएका हुन । उपमहानगरपालिकाबाट पहिचान गरिएका स्थानीय गौरवका आयोजनाहरूमा प्राथमिकताका साथ लगानी गरिने र अधुरा तथा क्रमागत आयोजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने नगर प्रमुखले जानकारी गराए ।
‘नागरिकसँगै विकास’ भन्ने अवधारणा अनुरूप स्रोत सुनिश्चिततासहित नगर–नागरिक सम्पूरक आयोजनाहरू ५०÷५०, ३५÷६५ र २०÷८० प्रतिशतको आधारमा प्राथमिकताका साथ सञ्चालन गरिने, साना तथा कम लागतका टुक्रे आयोजनाहरूलाई कम गर्दै परिणाममुखी, बहुसङ्ख्यक जनतामा प्रत्यक्ष लाभ हुने आयोजना तयार गरिने, आयोजनाहरूको गुणस्तर परीक्षण गर्न उपमहानगरपालिकाले आफ्नै परीक्षण प्रयोगशाला स्थापनाको लागि आवश्यक पूर्वाधारको तयारीको सुरुवात गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी बेलदमार–चाक्लिघाट हुँदै सुर्केडाँगी र नैनवार–रज्जे–मन्नामे हुँदै रिहार जोड्ने सडकलाई घोराही(लमही सडकखण्डको वैकल्पिक सडकका रूपमा विकास गरिने, संघ तथा प्रदेश सरकारको सहकार्य र समन्वयमा औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम पूर्वाधार निर्माणमा जोड दिइने, घोराही क्षेत्रभित्र उपलब्ध कृषियोग्य भूमिमा नियमित तथा भरपर्दो सिँचाइ सुविधा सुनिश्चित गर्न सम्भावित खोला, सिमसार तथा अन्य जलस्रोतहरूको संरक्षण र व्यवस्थापन गरिने छ ।
घोराहीले उत्पादनको आधारमा विभिन्न वडाहरूलाई बाली विशेषको पकेट क्षेत्र पहिचान तथा विस्तार गरी विभिन्न खाद्यान्न बाली, नगदे बाली तथा फलफूल खेतीको रूपमा विकास एवम् विस्तार गरिने नीति लिइएको छ । बाँझो तथा प्रयोगविहीन जमिनलाई कृषि उपयोगमा ल्याई उत्पादनशील बनाउने उद्देश्यले ‘भूमि बैंक’सम्बन्धी कानून बनाई कार्यान्वयनमा ल्याइने, जैविक विविधता संरक्षण तथा परम्परागत कृषि ज्ञानको प्रवर्धनका लागि परम्परागत तथा रैथाने बाली प्रवर्धन कार्यक्रम संचालन गरिने र प्राङ्गारिक मलको उत्पादन र प्रयोगमा जोड दिइने भएको छ ।
‘स्वस्थ पशु स्वच्छ उत्पादन’ कार्यक्रमअन्तर्गत नियमित पशु उपचार, आकस्मिक पशु स्वास्थ्य शिविर र डोर टु डोर जस्ता किसानमुखी कार्यक्रमलाई निरन्तरता दिइने, सामुदायिक विद्यालयलाई न्यूनतम पूर्वाधारयुक्त बनाउँदै लगिने र सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट सिकाइ सहजीकरण गरिरहेको अभ्यासलाई प्रोत्साहन गरिने, चिकित्साशास्त्र र इन्जिनियरिङलगायतका उच्चस्तरीय शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख चौधरीले नगर सभामा जानकारी गराएका थिए ।
थारु भाषाको कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक निर्माण गरी लागू गरिने र मगर भाषाको पाठ्यपुस्तक निर्माण गरी मातृभाषामा पढाई संचालन गरिने, अस्थायी, करार शिक्षक नियुक्तिको लागि शिक्षक बैंक तयार गरिने, राष्ट्रिय मान्यता प्राप्त खेलहरूका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण र सुदृढीकरणमा विशेष प्राथमिकता दिइने, घोराही–१८ स्थित नवलपुर खेलमैदानलाई ‘मिनी रङ्गशाला’को रूपमा विकास गरिने, घोराही–१७ स्थित गुलरिया क्रिकेट मैदान तथा घोराही–१४ स्थित कर्भडहल परिसरमा कराँते, तेक्वान्दो, बक्सिङलगायत इनडोर खेलहरूको पूर्वाधार विस्तार गरिने र वडा नं. १६ को नेत्रलाल स्मृति रङ्गशाला स्थापना गर्न प्रदेश सरकारसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाइने छ ।
नगरवासीको आपतकालीन स्वास्थ्य सेवामा सहज पहुँचका लागि असहाय, विपन्न, ‘क’वर्गका अपाङ्गता भएका तथा प्रसूतिजन्य सेवाको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइने, पूर्ण संस्थागत प्रसूति सेवा युक्त वडा हुँदै पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा गर्ने गरी कार्यक्रम अगाडि बढाइने, ‘स्वस्थ नागरिक’ कार्यक्रम सञ्चालन गरी नगरभित्रका नागरिकलाई नसर्ने रोगबाट बच्नका लागि सचेतना, परामर्श सेवालगायत कार्यक्रम सञ्चालन गरिने भएको छ । विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नीति बमोजिम असहाय, अशक्त र आर्थिक रूपले विपन्न वर्गलाई मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर, कलेजोलगायत रोगको उपचारमा आर्थिक सहायता प्रदान गरिने भएको छ ।
बालविवाह न्यूनीकरण गर्न ‘विवाहबारी बीस वर्ष पारि’ भन्ने अभियानलाई निरन्तरता दिइने, अनाथ, जोखिममा रहेका तथा सडक बालबालिकाको पुनःस्थापनाका लागि विशेष संरक्षणको नीति अवलम्बन गरिने, एकीकृत फोहरपानी, ढल, मानव मल–मूत्रजन्य फोहर तथा ठोस फोहरको व्यवस्थापनका लागि दीर्घकालीन गुरुयोजना बनाई लागु गरिने, शून्य वा न्यूनतम फोहरमैला वा फोहरपानी उत्सर्जन गर्ने उद्योगहरूलाई प्रोत्साहन गरिने, सहकारी क्षेत्रको सुदृढीकरण र गुणात्मक सुधारका लागि समान प्रकृतिका सहकारी संस्थाहरूबीच एकीकरणलाई प्रोत्साहन गरिने, परम्परागत, लोपोन्मुख सिप, कलाको संरक्षण तथा प्रवर्धन गर्दै त्यसलाई रोजगारी र आय आर्जनसँग जोडिने नीति लिइएको छ ।
पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न डिजिटल प्रविधिको प्रयोगमा जोड दिइने र स्थानीय खाना परिकारलाई प्रवर्धन गर्न फुड फेस्टिभल कार्यक्रम सञ्चालन गरिने, ‘एक वडा एक उत्पादन, एक घर एक उद्यम’ लाई व्यवहारिक कार्यान्वयन गर्दै स्थानीय उत्पादनको प्याकेजिङ, ब्रान्डिङ तथा बजारीकरणमा संलग्न उद्यमीहरूको क्षमता अभिवृद्धि तथा नवउद्यम प्रवर्धनमा जोड दिइने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
सडक दुर्घटनाको न्यूनीकरण तथा आम नागरिक र सवारी साधनको सहज आवागमनका लागि वडा तथा नगरस्तरीय ट्राफिक नियम तथा सडक दुर्घटनासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । स्थानीय तहले साना सवारी साधनको सवारी कर संकलन गर्न सक्ने कानूनी व्यवस्थालाई आत्मसाथ गर्दै घोराही उपमहानगरपालिकाभित्र संचालनमा रहेका टाँगा, रिक्सा, अटोलगायत सबै तीन पाङ्ग्रे सवारी साधनहरूलाई सवारी करको दायरामा ल्याइने भएकोे नगर प्रमुख चौधरीले जानकारी गराएका थिए ।
असहमति राख्दै सभासद उभिए
घोराही उपमहानगरपालिकाले नीति तथा कार्यक्रमको छलफलमा सञ्चारकर्मीलाई पनि सहभागी गराउनु पर्ने नगर सभा सदस्य लेखनाथ बुढाथोकीले माग गरेका छन् । नगर सभाको १७ औँ अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा नगर सभा सदस्य बुढाथोकीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा जस्तै छलफलमा पनि सञ्चारकर्मीलाई सहभागिता गराउनुपर्ने माग गरेका हुन् ।
यस्तो माग गर्दै नगर प्रमुख चौधरीले नीति कार्यक्रम वाचन गर्दाको करिब सवा घण्टा सभाहलमा उभिएर आफ्नो मागप्रति ध्यानाकर्षण गराएका थिए । घोराही उपमहानगरपालिका–१५ का वडा सदस्यसमेत रहेका बुढाथोकीले भने, ‘अहिले जसरी सञ्चारकर्मीको सहभागिता छ, त्यो सहभागिता नीति कार्यक्रम माथिको छलफलमा हुनुपर्छ ।’
नगर सभा सदस्य बुढाथोकीले उठाएको विषयमा जवाफ दिँदै नगर प्रमुख चौधरीले आफूले एक्लै चाहेर गर्न नसक्ने भन्दै नगरको नीति, नियम र कानून अनुसार अगाडि बढ्ने बताएका थिए । नगर प्रमुखको चित्तबुझ्दो जवाफ नआएको भन्दै बुढाथोकीले उभिएर विरोध जनाएका थिए ।