Ad Area

घोराही कारागारमा दिशाजन्य फोहोरबाट बायोग्यास उत्पादन


सुशीला ओली
घोराही, २७ जेठ । दाङको घोराही कारागारमा दिशाजन्य फोहोरबाट बायोग्यास उत्पादन गरिएको छ । पछिल्लो समय फोहोरको समस्या बढिरहेको हुँदा यसलाई व्यवस्थापन गर्नका लागि बायोग्यास उत्पादन गरिएको कारागार कार्यालय घोराहीका कार्यालय प्रमुख लक्ष्मण सिँह राठौर बताउनुहुन्छ ।

“बायोग्यास प्लान्ट रु १२ लाखको लागतमा निमार्ण गरिएको छ”,कार्यालय प्रमुख राठौरले भन्नुभयो, “दिशाजन्य फोहोरलाई व्यवस्थापनमा निकै चुनौति भईरहेको समयमा यसबाट बायोग्यास उत्पादन गर्दा प्रभावकारीता राम्रो भईरहेको छ ।” ५० घनमिटर क्षमताको बायोग्यासबाट अहिले पनि ८० जनाको लागि खाना पकाउनमा सहयोग पुगेको उहाँ बताउनुहुन्छ ।

अहिले पर्याप्त फोहोर नभएकाले यसमा गोबर र अन्य पनि पनि प्रयोग गर्न सकिने उहाँको भनाई छ । विभिन्न ठाउँमा फोहोर जन्य वस्तुलाई व्यवस्थापनमा समस्या भईरहेको समयमा आफुहरुले गरेको यस कार्यले फोहोरको व्यवस्थापन संगै बायोग्यास समेत उत्पादनले थप टेवा पुगेको उहाँ बताउनुहुन्छ ।

‘भोलीका दिनमा फोहोरलाई बढाउन सकियो भने अझ धेरै प्रयोगमा ल्याउन सकिन्छ,’ कायालय प्रमुख राठौरले भन्नुभयो, ‘यसले गर्दा एलपी ग्यासँको बचत र दिशाजज्य फोहोरलाई समेत व्यवस्थापन गर्न निकै सहज भएको छ ।’ अहिले यहि बायोग्यासबाटै क्षमता अनुसार खाना पाक्ने गरेको उहाँको भनाई छ । हाल घोराही कारागार कार्यालयमा चार सय २७ जना कैदिबन्दी रहेका छन् ।

बायोग्यास प्लान्ट निर्माणका प्रतिनिधि हरीशरण श्रेष्ठले यो कार्य जिल्लामा नयाँ नै रहेको बताउनुहुन्छ । फोहोर व्यवस्थापनमा यसले निकै प्रभावकारी भूमिका खेल्ने र ग्याँस पनि उत्पादन गर्न सकिने उहाँको भनाई छ । अन्य ठाउँमा दिशाजन्य फोहोरलाई व्यवस्थापनमा समस्या हुने हुँदा यस कारागार कार्यालय घोराहीले गरेको यस कार्य निकै उत्कृष्ट रहेको श्रेष्ठ बताउनुहुन्छ । अन्य ग्यास जस्तै बायोग्यासबाट पनि खाना पकाउन मिल्ने हुँदा यहाँ फाहोर अझ बढाउन आबश्यक रहेको उहाँको भनाई छ ।