दाङ महिला जेसीजको जेसीज सप्ताह हुने

घोराही, २७ जेठ । दाङ महिला जेसीजले विभिन्न रचनात्मक कार्यक्रम गरी जेसीज सप्ताह–२०२५ मनाउने भएको छ । महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघधका केन्द्रिय सचिव सविन प्रियासको प्रमुख आतिथ्यमा मंगलबार जेसीज सचिवालयमा पत्रकार सम्मेलन गरी जेसीज सप्ताह बारे जानकारी गराईएको छ ।
जस अनुसार, जेठ ३१ गते उदघाटनसँगै रक्तदान कार्यक्रम गरेर जेसीज सप्ताह शुरुवात गरिने अध्यक्ष ढकालले बताउनुभयो । उक्त कार्यक्रम पिया रोका संयोजक रहने गरी बिहान ८ बजे मातृ संस्था त्रिभुवननगर जेसीज सचिवालयमा हुने भएको छ ।
असार १ गते गीता डाँगी संयोजक रहने गरी घोराही १३ को ज्यामिरे सामुदायिक वनमा दिउँसो ४ बजे वृक्षारोपण कार्यक्रम हुनेछ । असार २ गते बिहान ८ बजे सरस्वती वली केसी संयोजक रहने गरी घोराही १४ झिँगौरास्थित अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा सहयोग हस्तान्तरण कार्यक्रम गरिने भएको छ ।
यसैगरी, असार ३ गते बिहान ११ बजे दीपा पुन संयोजक रहने गरी त्रिभुवननगर जेसीज सचिवालयमा व्यवसायिक अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । असार ४ गते बिहान साढे ११ बजे मायाकुमारी चौधरी संयोजक रहने गरी घोराही ५ धर्नामा प्रजनन् स्वास्थ्य परामर्श कार्यक्रम हुने भएको छ । असार ५ गते बिहान साढे ७ बजे प्रज्ञा स्वर्णकार संयोजक रहने गरी घोराही १७ गैरागाउँस्थित फुटसल मैदानमा महिलाहरुबीच फुटसल प्रतियोगिता हुने भएको छ ।
जेसीज सप्ताह समापनका अवसरमा असार ७ गते बिहान ११ बजे अम्बिकेश्वरी मन्दिर परिसरमा आरधना सिंह ठकुरी संयोजक रहने गरी साहित्यिक कार्यक्रम गरिने भएको अध्यक्ष ढकालले बताउनुभयो ।
सो अवसरमा वक्ताहरुले महिला जेसीजले व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रियताका साथ काम गर्दै आएको हुँदा यसले सकारात्मक प्रभाव पारेको बताउनुभयो । जेसीज सप्ताहले पनि सबै क्षेत्रलाई समेट्दै सामाजिक योगदान दिन प्रयास गरेको हुँदा सबैको साथ सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सविन प्रियासन, सञ्चारिका समुह दाङकी अध्यक्ष रञ्जिता अधिकारी, दाङ महिला जेसीजकी पूर्व अध्यक्ष ममता बिष्टलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
उपाध्यक्ष दीपा पुनको आस्थापाठबाट शुरु भएको कार्यक्रममा धन्यवाद जेसीज सप्ताह मुल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष लक्ष्मी घमालले दिनुभएको थियो । जेसीज सप्ताहको अवसरमा टिसर्ट पनि सार्वजनिक गरिएको छ ।