Ad Area

रात्रिकालीन व्यवस्थित र मर्यादित बनाउन छलफल


घोराही, २८ जेठ । दाङमा सञ्चालित रात्रिकालीन होटल व्यवसाय सुरक्षित र सहज रुपमा सञ्चालन गर्ने विषयमा सरोकारवालाहरु बिच छलफल भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीको अध्यक्षता घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको विशिष्ट आतिथ्यमा मंगलबार सरोकारवालाहरुसँग उद्योग वाणिज्य संघका हलमा छलफल भएको हो ।

कोराना महामारीपछि उत्पन्न आर्थिक मन्दीका कारण सिथिल भएका होटल व्यवसाय बिस्तारै चलायमान हुने बेलामा प्रहरी प्रशासनले सम्साँझै बन्द गर्न दबाब दिँदा मारमा परेको भन्दै रात्रिकालीन व्यवसाय सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन व्यवसायीहरु अनुरोध गरेका छन् । व्यवसायले लय समात्ने बेलामा रात्रिकालीन व्यवसाय प्रहरी प्रशासनले १० बजे नै बन्द गर्न दबाब दिई रहेको हुँदा व्यवसाय सञ्चालन गर्न कठिनाई भएको उनीहरुको दुखेसो छ ।

जिल्लास्थित रात्रिकालीन बार तथा दोहोरी साँझ सञ्चालकहरुले कम्तिमा ११ बजे रातिसम्म व्यवसाय सञ्चालनको वातावरण बनाउन गरेको आग्रहलाई अनुमोदनका लागि जिल्ला सुरक्षा समिति समक्ष पठाउने निर्णय गरेको छ । जिल्लाको लमही, घोराही, तुलसीपुर क्षेत्रको भुगोल फरक–फरक रहेको हुँदा त्यहाँको बस्तुगत परिस्थिती अनुसार समय हेरफेर गर्न सकिने मनस्थितीमा प्रशासन पुगेको छ ।

प्रारम्भिक छलफलमा रात्रिकालीन होटल व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुले गरेको अनुरोध अनुसार, पहिलो चरणमा घोराही क्षेत्रमा राति ११ बजे र तुलसीपुर क्षेत्रमा राति १० बजेसम्म होटल व्यवसाय संचालन गर्न दिन सकिने विषयमा स्थानीय प्रशासन सकारात्मक देखिएको छ । यसका लागि उद्योग वाणिज्य संघलाई खाकासहितको प्रतिवेदन प्रशासनमा बुझाउन समय दिईएको छ । उद्योग वाणिज्य संघले बुझाएको राय सुझाव र आग्रहलाई सबैको हीत हुने गरी जिल्ला सुरक्षा समितिको बैठकबाट पारित गरेर कार्यान्वयनमा ल्याईने विश्वास गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले क्षेत्रगत कार्य विधिलाई रात्रिकालीन व्यवसाय सुरक्षा रणनीतिमा जोडेर काम गर्नुपर्ने हुँदा सामाजिक मनोविज्ञानलाई पनि बुझेर अघि बढ्नुपर्ने बताउनुभयो । पारस्परिक सद्भाव, सुरक्षा र सहकार्यबाट अघि बढ्नुपर्ने आवश्यकता औँलयाउँदै उहाँले कार्यदलले सिफारिस गरेको समयलाई स्थानीय सरकार र प्रशासनको समन्वयमा निर्धारण गर्न जिम्मेवारी दिईने बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले अहिलेको सुरक्षा चुनौति कम गर्न सबै व्यवस्थापनमा जुट्नुपर्ने बताउनुभयो । उहाँले रात्रिकालीन व्यवसाय खोल्नका लागि खोल्ने कि ग्राहकको मागलाई ध्यानमा राखेर खोल्ने भन्ने विषय पनि बुझ्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष ईश्वर बुढा लगायतले अहिले देखा परेको समस्या र निकासका लागि गर्न सकिने प्रयास बारे धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।