दाङमा सङ्घीय सरकारको पाँच अर्ब अनुदान

अमरराज आचार्य
दाङ, २८ जेठ । दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्षमा पाँच अर्ब बढी अनुदान पाउने भएका छन् । सङ्घीय सरकारबाट जिल्लाका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि पाँच अर्ब एक करोड १० लाख अनुदान पाउने भएका हुन् । यो चालु आर्थिक वर्षभन्दा बढी हो ।
आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाका १० स्थानीय तहले चार अर्ब ९५ करोड ८३ लाख अनुदान पाएका थिए । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत सङ्घीय सरकारले समानीकरण, सशर्त, विशेष र समपुरक गरी चार शीर्षकबाट अनुदान दिने गरेको छ । जिल्लामा आउने बजेटमध्ये चालुतर्फ चार अर्ब ४३ करोड ५८ लाख र पुँजीगततर्फ ५७ करोड ५२ लाख रुपैयाँ जिल्लाले पाउने भएको छ ।
आर्थिक वर्ष ०८१÷०८२ मा चालुतर्फ चार अर्ब ३१ करोड ८२ लाख र पुँजीगततर्फ ६४ करोड एक लाख बजेट आएको थियो । समानीकरण अनुदानतर्फ आगामी वर्ष एक अर्ब ५२ करोड ९९ लाख रुपैयाँ जिल्लाले पाउने बजेटमा उल्लेख गरिएको छ । सशर्त अनुदानतर्फ तीन अर्ब ३२ करोड ४६ लाख बजेट रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी विशेष अनुदानतर्फ छ करोड तीन लाख र समपुरक अनुदानतर्फ नौ करोड ६२ लाख रुपैयाँ दाङका १० पालिकाले पाउने भएका छन् । आर्थिक वर्ष ०८१÷०८२ मा समानीकरण अनुदानतर्फ एक अर्ब ४६ करोड ३८ लाख, सशर्त अनुदानतर्फ तीन अर्ब ३२ करोड ५० लाख, विशेष अनुदानतर्फ आठ करोड ४५ लाख र समपूरक अनुदानतर्फ आठ करोड ५० लाख गरी कुल चार अर्ब ९५ करोड ८३ लाख रुपैयाँ दाङका १० पालिकाले अनुदान पाएका थिए ।
यसैगरी आर्थिक वर्ष ०८१÷०८२ मा सबैभन्दा धेरै अनुदान पाएको घोराही उपमहानगरपालिकाले चालुतर्फ एक अर्ब एक करोड ५४ लाख र पुँजीगततर्फ ११ करोड ६२ लाख गरी एक अर्ब १३ करोड १६ लाख रुपैयाँ पाएको थियो । आगामी वर्ष पनि घोराहीले चालुतर्फ एक अर्ब ९७ करोड ३९ लाख र पुँजीगततर्फ १९ करोड २५ लाख गरी दुई अर्ब १६ करोड ६४ लाख रुपैयाँ पाउने भएको छ ।
आर्थिक वर्ष ०८२÷०८३ का लागि सबैभन्दा कम अनुदान पाउने दंगीशरण गाउँपालिकाले चालुतर्फ २२ करोड ८७ लाख र पुँजीगततर्फ पाँच करोड ५५ लाख गरी २८ करोड ४२ लाख रुपैयाँ पाउने भएको छ । यस अघि दंगीशरणले चालुतर्फ २२ करोड ७६ लाख र पुँजीगत खर्च पाँच करोड ५० लाख गरी २८ करोड २६ लाख रुपैयाँ पाएको थियो ।
आर्थिक वर्ष ०८१÷८२ मा चालुतर्फ ९६ करोड ७३ लाख र पुँजीगततर्फ सात करोड ५० लाख गरी एक अर्ब चार करोड २३ लाख बजेट पाएको तुलसीपुर उपमहानगरले आगामी वर्षका लागि चालुतर्फ एक अर्ब तीन करोड ६३ लाख र पुँजीगततर्फ १० करोड ८३ लाख गरी एक अर्ब १४ करोड ४६ लाख रुपैयाँ पाउने भएको छ ।
यसैगरी लमही नगरपालिकाले चालुतर्फ ३७ करोड १२ लाख र पुँजीगत पाँच करोड ९९ लाख गरी ४३ करोड ११ लाख, गढवा गाउँपालिकाले चालुतर्फ ३६ करोड ४८ लाख र पुँजीगततर्फ पाँच करोड ११ लाख गरी ४१ करोड ५९ लाख, बंगलाचुली गाउँपालिकाले चालुतर्फ २९ करोड ८७ लाख र पुँजीगततर्फ पाँच करोड ६५ लाख गरी ३५ करोड ५२ लाख रुपैयाँ पाउने भएका छन् ।
यसैगरी बबई गाउँपालिकाले चालुतर्फ २७ करोड ६४ लाख र पुँजीगततर्फ तीन करोड ९० लाख गरी ३१ करोड ५४ लाख रुपैयाँ पाउने भएको छ । राजपुर गाउँपालिकाले चालुतर्फ २८ करोड ४९ लाख र पुँजीगततर्फ छ करोड दुई लाख गरी ३४ करोड ५१ लाख रुपैयाँ पाउने भएको छ । यसैगरी राप्ती गाउँपालिकाले आगामी वर्ष चालुतर्फ ३६ करोड छ लाख र पुँजीगततर्फ तीन करोड ८५ लाख गरी ३९ करोड ९१ लाख, शान्तिनगर गाउँपालिकाले आगामी वर्ष २७ करोड ६६ लाख चालुतर्फ र दुई करोड २० लाख पुँजीगततर्फ गरी २९ करोड ८६ लाख रुपैयाँ पाउने भएका छन् । घोराही उपमहानगरले आगामी वर्ष ३१ करोड १२ लाख पाउने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले २८ करोड ३३ लाख, लमही नगरपालिकाले १४ करोड ८९ लाख, गढवा गाउँपालिकाले १३ करोड ५१ लाख, दंगीशरण गाउँपालिकाले नौ करोड ५० लाख, बंगलाचुली गाउँपालिकाले १० करोड छ लाख, बबई गाउँपालिकाले ११ करोड एक लाख, राजपुर गाउँपालिकाले ११ करोड २५ लाख, राप्ती गाउँपालिकाले १३ करोड २७ लाख र शान्तिनगर गाउँपालिकाले १० करोड पाँच लाख रुपैयाँ समानीकरण अनुदान पाउने भएका छन् ।
यसैगरी सशर्त अनुदानतर्फ घोराही उपमहानगरले ८१ करोड ५९ लाख, तुलसीपुर उपमहानगरपालिकाले ७२ करोड ९३ लाख, लमही नगरपालिकाले २७ करोड चार लाख, गढवा गाउँपालिकाले २६ करोड ४६ लाख, दंगीशरण गाउँपालिकाले १७ करोड २६ लाख, बंगलाचुली गाउँपालिकाले २३ करोड ८६ लाख, बबई गाउँपालिकाले १८ करोड ४३ लाख, राजपुर गाउँपालिकाले २१ करोड २९ लाख, राप्ती गाउँपालिकाले २४ करोड ७९ लाख र शान्तिनगर गाउँपालिकाले आगामी वर्षका लागि १८ करोड ८१ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।
समपुरक र विशेष अनुदान
आगामी आर्थिक वर्षका लागि घोराही उपमहानगरपालिकाले विशेष अनुदान ८५ लाख रुपैयाँ पाउने भएको छ । यसैगरी तुलसीपुर उपमहानगरले समपुरक अनुदान ९२ लाख र लमही नगरपालिकाले एक करोड १८ लाख रुपैयाँ समपुरक बजेट पाउने भएका छन् ।
यसैगरी गढवा गाउँपालिकाले विशेष अनुदान ५७ लाख र समपुरक एक करोड पाँच लाख, दंगीशरण गाउँपालिकाले विशेषमा ६९ लाख र समपुरकमा ९७ लाख, बंगलाचुली गाउँपालिकाले विशेषतर्फ ९० लाख र समपूरकतर्फ ७० लाख रुपैयाँ पाउने भएका छन् ।
यसैगरी बबई गाउँपालिकाले विशेषतर्फ ९० लाख र समपूरकतर्फ एक करोड २० लाख, राजपुर गाउँपालिकाले विशेषतर्फ एक करोड २७ लाख र समपुरकमा ७० लाख, राप्ती गाउँपालिकाले विशेषतर्फ ८५ लाख र समपुरकमा एक करोड र शान्तिनगर गाउँपालिकाले समपूरक अनुदानमा एक करोड पाउने भएका छन् ।