Ad Area

हुलाकी सडक तीन वर्षमा सक्ने काम साढे पाँच वर्षमा ४५ प्रतिशत मात्र काम


प्रिया स्मृती गजमेर
दाङ, २९ जेठ । हुलाकी राजमार्ग अन्तर्गत देउखुरीको वनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक विस्तारसँगै कालोपत्रे गर्नका लागि २०७६ कात्तिक २९ गते बज्रगुरु कान्छाराम जेभीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार २०७९ कात्तिकमा निर्माण सक्नुपर्ने सडक साढे पाँच वर्षसम्म आधा काम पनि भएको छैन ।

६५ करोड रुपैँया लागतमा ठेक्का सम्झौता भएको उक्त सडकको भौतिक प्रगति ४५ प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत मात्र भएको हुलाकी राजमार्ग आयोजना नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारी बताउँछन् । आयोजना प्रमुख भण्डारीका अनुसार निर्माण कम्पनीलाई थपिएको म्याद २०८२ असार मसान्तमा सकिँदैछ ।

सडक निर्माणको काम सकिने अवस्था नभएकाले ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको आयोजना प्रमुख भण्डारी बताउँछन् । हर्जनाबापत् निर्माण व्यवसायीले थप दुई सय दिनको समय पाउने भए पनि अहिलेकै अवस्थामा सडक बन्ने विश्वास हुने आधार नभएको बताउँछन् ।

निर्माण कम्पनीले काम नगर्ने तर ठेक्का अल्झाइरहने प्रवृति देखिएकाले ठेक्का तोड्ने प्रक्रियामा अघि बढेको बताए । ठेक्का तोड्नका लागि आयोजनाको तर्फबाट सबै प्रक्रिया पूरा गरेर विभाग हुँदै हुलाकी सडक निर्देशनालयमा फाइल पठाइसकेको भन्दै आयोजना प्रमुख भण्डारीले भने, ‘निर्माण कम्पनीले अहिले पनि काम गर्छु भन्छ तर विश्वास गर्ने अवस्था छैन । दुई जना मान्छेलाई काममा लगाएर सडक बन्दैन ।’

निर्माण कम्पनीका प्रतिनिधिले काम गर्ने बताए पनि अहिलेसम्म गरेको काम, काम गर्ने जनशक्ति र निर्माण कम्पनीले सडक निर्माणमा प्रयोग गरेका सामग्रीका कारण विश्वास गर्न नसकिने अवस्था भएकाले आयोजनाले ठेक्का तोड्ने निष्कर्षमा पुगेको बताए । उनले ठेक्का अन्त्य किन नगर्ने भन्ने सूचना निकालिएको र त्यसमा चित्त बुभ्mदो स्पष्टीकरण नआएपछि कार्यालयबाट फाइल खडा गरेर ठेक्का अन्त्यको प्रक्रिया अघि बढेको बताए ।

समयमै सडक निर्माणको काम सक्न निर्माण व्यवसायलाई काममा लगाउन अनेक प्रयत्न गरेको भन्दै आयोजना प्रमुख भण्डारीले पत्रिकामा सूचना प्रकाशन गर्नेदेखि चिठी काटेर पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काममा ढिलाइ गरेको बताए । आयोजनाका अनुसार २० किलोमिटर सडकमध्ये अहिलेसम्म नौ किलोमिटर सडक मात्र कालोपत्रे गरेको, त्यो पनि दुई लेयर गर्नुपर्नेमा एक लेयर मात्रै कालोपत्रे गरिएको छ ।

गढवा बजारसम्म साढेचार किलोमिटर र कालाकाँटेतिर चार किलोमिटर पिच र बेस निर्माणको काम गर्नै बाँकी रहेको छ । निर्माण व्यवसायीले सडक निर्माण गरेको चरम ढिलासुस्तीका कारण तीन वर्षमा सक्नुपर्ने काम अहिलेसम्म नसकिएको हुलाकी राजमार्ग कार्यालय नेपालगन्जका इन्जिनियर श्रवणकुमार महतरा बताउँछन् । इन्जिनियर महतराले निर्माण कम्पनीले म्याद थप भए बाँकी काम गर्ने प्रतिबद्धता जनाएको बताउँछन् ।

निर्माण कम्पनीले भने सडक कालोपत्रे गर्नका लागि निर्माण सामग्री आइपुगेकाले अब सडक निर्माणमा ढिलाइ नहुने बताएको छ । सडक विस्तारसँगै कालोपत्रेको काम गरे पनि समयमा भुक्तानी नहुँदा त्यसको असर काममा परेको भन्दै निर्माण कम्पनी बज्रगुरु कान्छाराम जेभीका प्रतिनिधि गोपाल पौडेलले म्याद थप भए काममा ढिलाइ नहुने बताएका छन् ।

सडक कालोपत्रे गर्नका लागि आवश्यक सामग्री ल्याइसकेको भन्दै उनले भने, ‘सडक कालोपत्रे गर्नका लागि आवश्यक सामग्री आइसकेको छ, अब काममा ढिलाइ हुँदैन ।’ मौसमले साथ दियो भने साउन–भदौमै काम सकेर सडक हस्तान्तरण गर्ने गरी कामको तयारी भइरहेको उनले बताए । सडकको प्रारम्भिक चरणको काम लगभग गर्न बाँकी रामनगरदेखि गढवा बजारसम्मको पाँच किलोमिटर मात्र रहेको भन्दै उक्त सडकमा समय लाग्ने भए पनि अन्यत्र समय नलाग्ने उनी बताउँछन् ।

२०७६ मङ्सिर १ गते ६९ करोडको लागतमा सडक विस्तारसँगै कालोपत्रे गर्ने गरी ठेक्का भएको गढवा–राजपुरको गंगदीसम्म सडकखण्डको २० किलोमिटर भने निर्माण सकिएको छ । उक्त सडकखण्ड एपेक्स कन्काई खड्का कृष्ण प्रालिले निर्माण गरेको थियो । तीन वर्षमा सक्नुपर्ने उक्त सडक एक पटक म्याद थपेर २०८० साउन १० गते काम सकिएको थियो ।

पूर्व–पश्चिम हुलाकी राजमार्ग विस्तार गर्ने लक्ष्य अनुसार काम अघि बढाइए पनि सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा जङ्गलसँगै बस्ती रहेका कारण निर्माणमा ढिलाइ भएको बताए । हुलाकी सडक आयोजना प्रमुख भण्डारीका अनुसार हुलाकी सडक अन्तर्गत राजपुरको गंगदीदेखि दाङको पश्चिम अन्तिम गाउँ हाडबाससम्मको २० किलोमिटर सडकका लागि प्रारम्भिक वातावरणीय परीक्षण गर्ने काम सकिएको छ । उक्त सडकखण्डका लागि बहुवर्षीय बजेट स्रोतको सुनिश्चितता भए दुई वर्षभित्रै सडक निर्माणको काम सक्ने गरी ठेक्का आह्वान गर्ने तयारीमा रहेको बताएका छन् ।

धमाधम पुल निर्माण

हुलाकी सडक अन्तर्गत पुल निर्माणको काम भने फटाफट भएका छन् । सडक निर्माणमा ढिलाइ भइरहेको बेलामा हुलाकी सडक अन्तर्गत गढवा गाउँपालिका–१ को बौराहा खोला, पश्चिमपुरे खोला र चमारेसोता पुल ३६ करोड ३६ लाख रुपैयाँमा निर्माण भएका छन् । राजपुर गाउँपालिका–१ को गुरुङ खोला पुल र लमही नगरपालिका–४ र ६ जोड्ने सानो राप्ती पुल ३६ करोड ७६ लाख रुपैयाँमा निर्माण भएको आयोजनाले जनाएको छ ।

यसैगरी खौराह खोला पुल छ करोड ४२ लाख, रसरी खोला पुल १२ करोड ५५ लाख, बगैसोता पुल दुई करोड ९२ लाख, पुतली बजार खोला पुल तीन करोड ५२ लाख र बुकेसोता पुल तीन करोड ३७ लाख रुपैयाँमा निर्माण भएका छन् । गढवाको बौराहा खोलादेखि राजपुरको गंगदीसम्म निर्माण भइसकेको र निर्माणाधीन सडक तथा पुलहरूको लागत एक अर्ब ३४ करोड रुपैयाँ बढी रहेको हुलाकी राजमार्ग कार्यालय नेपालगन्जका इन्जिनियर श्रवण महतरा बताउँछन् ।