अनुजाले जितिन स्वर्ण पदक

दाङ, ३० जेठ । दाङकी अनुजा चौधरीले एथलेटिक्समा तीन स्वर्ण पदक जितेकी छिन । नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा जेठको २५ देखि २९ गतेसम्म काठमाडौंमा भएको विद्यालयस्तरीय यु–१४ विद्यालय खेलकुद प्रतियोगिता–२०८२ मा एथलेटिक्सका तीन विधामा स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
प्रतियोगितामा लुम्बिनी प्रदेशस्तरीय टिमबाट सहभागी भएकी चौधरीले लङजम्प, दुई सय मिटर दौड र सय मिटरको रिलेमा स्वर्ण पदक जित्न सफल भएको नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष निर्मल आचार्यले जानकारी दिएका छन् । घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चौधरीले पहिलो पटक सहभागी भएको प्रतियोगितामा एथलेटिक्सतर्फ तीन स्वर्ण पदक जित्दै लुम्बिनी प्रदेशलाई प्रतियोगितामा एथलेटिक्सतर्फ पहिलो बनाउन सफल भएकी हुन् ।
सात प्रदेशका १४ वर्षमुनि उमेर समूहका बालबालिका सहभागी भएको प्रतियोगितामा चार स्वर्ण पदकसहित लुम्बिनी प्रदेशको टिम पहिलो बनेको छ । प्रदेशको टिमले जितेका चार स्वर्ण पदकमध्ये चौधरीले सिङ्गलमा दुई र समूहमा एक गरेर तीन स्वर्ण पदक जितेकी हुन् । प्रतियोगितामा एथलेटिक्सतर्फ दुई स्वर्ण, पाँच रजतसहति कर्णालीको टिम दोस्रो, दुई स्वर्ण, एक रजत र एक कांश्यसहित गण्डकी र मधेस प्रदेशको टिम तेस्रो भएका छन् । १२ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा बाग्मती र सुुदूरपश्चिम प्रदेशको टिमले समान १÷१ स्वर्ण पदक जितेका थिए ।
सामान्य परिवारमा जन्मिएकी चौधरीले प्रतियोगितामा सहभागिताका लागि भएका पालिकास्तरीय, जिल्ला हुँदै प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट खेल क्षमता प्रदर्शन गर्दै प्रदेशस्तरीय टिममा छनोट भएकी थिइन् । प्रदेशस्तरीय टिममा छनोट भएर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तीन स्वर्ण पदक जितेकी चौधरीले उत्कृष्ट खेल प्रदर्शन गरेर पदक जित्न पाउँदा खुसी लागेको बताएकी छिन् ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै तीन स्वर्ण पदक जित्न सफल खेलाडी चौधरीलाई विद्यालयले बिहिबार सम्मान गरेको छ । विद्यालयले बाजागाजासहित चौघेरा गाउँ घुमाएको थियो । उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी चौधरीलाई विद्यालयले जुत्ता, जर्सी प्रदान गर्नुका साथै एक वर्षसम्म विद्यालयमा निःशुल्क पढ्ने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले जानकारी दिएका छन् ।
विद्यालय तहमा खेलकुदको विकास र प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका खेलहरू काठमाडौंस्थित दशरथ रङ्गशालालगायत विभिन्न खेल मैदानमा भएका थिए ।