Ad Area

द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य बीमा


आर.के. शीतल
दाङ, २३ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १७ ले जिल्लामै पहिलोपटक द्वन्द्वपीडितहरुका लागि निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ । वडा कार्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य बीमा सुरु गरेको हो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले द्वन्द्वपीडितहरुका लागि स्वास्थ्य बीमाको उद्घाटन गरे ।

घोराही उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष खुशीराम चौधरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमसख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको जनयुद्ध, जनआन्दोलनका सहिद, बेपत्ता, घाइते परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले द्वन्द्वको समयमा विभिन्न प्रकृतिका घटनाहरु भएको र ती घटनाका पीडितहरु अहिले पनि विभिन्न समस्याबाट ग्रसित रहेको बताए ।

सहिद परिवार, बेपत्ता र घाइते भएकाहरुले देखिने पीडा भए पनि अन्य द्वन्द्वको समयमा भएका यौजनजन्य हिंसाका घटना, यातनाका घटनाका पीडितहरु कागजीरुपमा पीडित नरहेको कारण आफूहरुलाई सम्पूर्ण द्वन्द्वपीडितहरुका लागि काम गर्न अप्ठेरो भएको बताए । घोराही उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण द्वन्द्वपीडितहरुका लागि निःशुल्क स्वास्थ्य बीमा गराउने योजना रहेको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक बर्ष द्वन्द्वपीडितहरुका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको र यो चालु आर्थिक वर्षमा द्वन्द्वपीडितहरुका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको बताए । उनले पहिलो चरणमा ३३ जना द्वन्द्वपीडितहरुको स्वास्थ्य बीमा गर्न लागिएको जानकारी दिए । साथै उनले वडामा बसोबास गर्ने द्वन्द्वपीडितहरुले घटना भएको खुल्ने कागजपत्र लिएर वडा कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरे ।

स्वास्थ्य बीमा बोर्ड दाङका प्रमुख गोपीलाल वलीले जिल्लामै पहिलोपटक घोराही उपमहानगरपालिका वडा नं. १७ ले द्वन्द्वपीडितहरुका लागि निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको बताए । उनले स्वास्थ्य बीमा जनकल्याणकारी एवं सामाजिक साझेदारी कार्यक्रम भएको बताए । नेपाल सरकारको निर्देशन अनुसार जेष्ठ नागरिक, क वर्गको अपांग भएका व्यक्तिको परिवार, एचआईभी एड्स भएका व्यक्तिको परिवार, गम्भीर खालको टिभी भएका व्यक्तिहरुका लागि स्वास्थ्य बीमा निःशुल्क भएको बताए ।

अति विपन्न र अति गरिब परिवारका लागि पनि निःशुल्क स्वास्थ्य बीमा रहेको तर दाङमा अति विपन्न र गरिबीहरुको परिचय–पत्र नभएकाले लागू गर्न समस्या भएको बताए । वलीले असार मसान्तसम्म ५० प्रतिशन नागरिकहरु स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्य रहेको भन्दै यसमा जोडिन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरे । कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले द्वन्द्वपीडितहरुको पीडा महसुस गर्न नसकिने खालको भएको भन्दै ती पीडामा मलहमपट्टी लगाउनका लागि घोराही उपमहानगरपालिका वडा नं. १७ ले सुरु गरेको निःशुल्क स्वास्थ्य बीमा प्रशंसायोग्य कार्य भएको बताइन् ।

Blog Post Ad

उनले सरकारको नीतिका कारण केही वास्तविक द्वन्द्वपीडितहरु पनि सरकारबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनुपरेको भन्दै त्यसमा स्थानीय सरकारले ध्यान दिन आवश्यक भएको बताइन् । साथै द्वन्द्वको समयमा हिंसा एवं यातनामा परेका महिलाहरुको कथा झनै दर्दनाक भएको भन्दै उनीहरुलाई पनि सरकारका कार्यक्रमले समेट्नुपर्ने उनको भनाइ थियो । द्वन्द्वपीडित साझा सञ्जालका अध्यक्ष प्रकाश चौधरीले सरकारको नीति र कागजी प्रक्रियाका कारण वास्तविक द्वन्द्वपीडितहरु सरकारबाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित भएको बताए ।

उनले स्थानीय सरकारले द्वन्द्वपीडितहरुका लागि नीति नै बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए । वडा सदस्य रेवन्ता पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव मोहनसिंह सुनारले गरेका थिए ।

Blog Post Ad Blog Post Ad