ज्ञानमाला एकेडेमीमा बालबालिकाको चित्रकला प्रदर्शनी

घोराही, ३१ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले तयार पारेका चित्रकला प्रदर्शनी गरिएको छ ।
शुक्रबासरीय अतिरिक्त क्रियाकलाप अन्तरगत एकेडेमीले कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुबाट विभिन्न विषयबस्तु समेटेर तयार पारिएका चित्रकला प्रदर्शनी गरेका हुन् ।
कक्षा १० मा अध्ययनरत छात्रा स्मारिका चौधरीले ६ वर्षअघि आफुले पहिलो पटक चित्रकला कोर्दा परिवारबाट पाएको स्यावासीले हौसला पाएपछि निरन्तरा दिएको बताउनुभयो ।
उहाँले प्राकृतिक सम्पदा, मौलिक कला संस्कृति झल्कने चित्रहरु दुरुस्तै चित्रकलामा उतार्न सक्ने हुनु भएको छ । आफुभित्र रहेको क्षमतालाई चित्रकलाको माध्यमबाट उजागर गर्दै आउनु भएकी स्मारिकाले औपचारिक तालिम लिने अवसर नपाए पनि शिक्षकहरुबाट मार्ग दर्शन पाईरहेको बताउनुभयो । उहाँले सिर्जना गर्नुभएको १३ वटा चित्र प्रदर्शनीमा राखिएको थियो ।
कक्षा ९ मा अध्ययनरत अर्की छात्रा सुदिक्षा वली पनि कोरोना महामारीका बेला घरमा पहिलो पटक चित्र कोरेपछि चित्रकलामा लाग्नु भएको हो । पहिलो चित्र प्रकृतिको बनाउँदा परिवारबाट स्याबासी पाएपछि यसमा लाग्न हौसला मिलेको सुदिक्षाले बताउनुभयो । पढाईसँगै अतिरिक्त क्रियाकलापका माध्यमबाट आफ्नो क्षमता विकासमा ध्यान दिएको उहाँले बताउनुभयो ।
ज्ञानमाला एकेडेमीमा गठित सिर्जनशील बाल क्लबको आयोजना भएको चित्रकला प्रदर्शनीमा २२ जना विद्यार्थीहरुले सिर्जना गरेका विभिन्न प्रकारका चित्रकला प्रस्तुत गरिएको छ ।
कक्षाकोठाको नियमित पढाईसँगै विद्यार्थीहरुलाई सिर्जनात्मक क्रियाकलापमा पनि समावेश गर्दै आएको एकेडेमीले उनीहरुको क्षमता प्रस्फुटनमा पनि उत्तिकै ध्यान दिएको एकेडेमीका प्रिन्सिपल महेश बस्नेतले जानकारी दिनुभयो ।
बालबालिकाहरुको मनोविज्ञान बुझेर उनीहरुको रुचीको विषय अनुसार सिर्जनात्मक क्रियाकलापमा लगाउँदै क्षमता विकासका कार्यक्रम एकेडेमीका तर्फबाट हुने गरेको उहाँको भनाई छ ।