जेसीज सप्ताहमा अपांगता भएकालाई खाद्यान्न सहयोग

घोराही, २ असार । दाङ महिला जेसीजको जेसीज सप्ताह–२०२५ अन्तरगत तेस्रो दिन सोमबार अपांगता भएकाहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । जेसीजले नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी दाङ शाखामा बस्दै आएका अपांगता भएकाहरुका लागि खाद्यान्न सहयोग गरेको हो ।
दाङ महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीको प्रमुख आतिथ्यमा सोमबार नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी दाङ शाखामा एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरिएको हो । सप्ताह व्यापी कार्यक्रम अन्तरगत दाङ महिला जेसीजले चामल, दाल, पिठो, तेललगायत सरसफाईका सामग्री सहयोग गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि योगीले युवाले नेतृत्व गरेको संस्थाले सामाजिक उत्तरदायित्व वहनसँगै युवाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने अभियान चलाउनु पर्ने बताउनुभयो । उहाँले युवा सक्षम भए समाज सक्षम हुने र समाज सक्षम भए राष्ट्र सक्षम हुने बताउनुभयो । युवाहरुमा सकारात्मक सोँचको विकास गर्दै उनीहरुलाई दक्ष र सक्षम बनाउँदै आयआर्जनमा जोड्नु अहिलको चुनौतिलाई सबैले मनन् गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी दाङ शाखा उपसभापति निशान्त आचार्य, आदिवासी जनजाति संयुक्त मोर्चा नेपाल लुम्बिनी अध्यक्ष भीमकुमारी बुढा, महिला जेसीजकी निवर्तमान अध्यक्ष जुनकुमारी बुढा, लायन्स क्लब अफ घोराहीका पवन योगीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उपाध्यक्ष दिपा पुनको आस्था पाठबाट शुरु भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक सरस्वती वली केसीले दिनुभएको थियो ।
जेसीज सप्ताहका बारेमा मूल संयोजक लक्ष्मी घमालले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गर्नुभएको थियो ।
जेठ ३१ गते उदघाटनसँगै रक्तदान कार्यक्रम गरेर जेसीज सप्ताह शुरुवात गरेको दाङ महिला जेसीजले दोस्रो दिन असार १ गते घोराही १३ को ज्यामिरे सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
अब भोलि चौथो दिन असार ३ गते त्रिभुवननगर जेसीज सचिवालयमा व्यवसायिक अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । असार ४ गते पाँचौं दिन घोराही ५ धर्नामा प्रजनन् स्वास्थ्य परामर्श कार्यक्रम हुने भएको छ । असार ५ गते छैठौं दिन घोराही १७ गैरागाउँस्थित फुटसल मैदानमा महिलाहरुबीच फुटसल प्रतियोगिता हुने भएको छ ।
जेसीज सप्ताह समापनका अवसरमा असार ७ गते अम्बिकेश्वरी मन्दिर परिसरमा साहित्यिक कार्यक्रम गरिने भएको अध्यक्ष ढकालले बताउनुभयो । दाङ महिला जेसीजले व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको हुँदा यसले समुदायमा सकारात्मक प्रभाव पार्न सफल भएको छ ।