Ad Area

जेसीज सप्ताहका अवसरमा उद्यमी र विद्यार्थीबीच साक्षात्कार


घोराही, ३ असार । दाङ महिला जेसीजले जेसीज सप्ताह २०२५ का अवसरमा मंगलबार त्रिभुवननगर जेसीज सचिवालयमा व्यावसायिक अन्तरक्रिया गरेको छ । महिला जेसीजकी अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा घोराही १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा विद्यार्थी, महिला अधिकारकर्मीहरुको उपस्थितीमा व्यावसायिक अन्तरक्रिया गरेको हो ।

सो अवसरमा महिला उद्यमीका रुपमा अल्लो उद्योगमार्फत व्यावसायिक पहिचान बनाउनु भएकी घोराहीकी प्रेमकुमारी पुन मगरसँग अल्लो उद्योग र महिला उद्यमका विषयमा ज्ञानसिन्धु माविमा अध्ययनरत विद्यार्थीहरुको साक्षात्कार गरेका छन् ।

कार्यक्रममा विद्यार्थीलगायत सहभागीहरुले विभिन्न खालका जिज्ञासा राख्नुभएको थियो । सहभागीहरुको जिज्ञासा मेटाउँदै महिला उद्यमी पुुनले स्वदेशी उत्पादनको महत्व बुझाउन शुरुका दिनमा गरेको संघर्षको कथा सुनाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका पाण्डेले अध्ययन, अनुसन्धान गरेर मात्रै व्यवसायमा जाँदा सफलता मिल्ने बताउनुभयो । आफ्नो रुचीको क्षेत्र अनुसारको व्यवसायमा जोडिँदा काम गर्न सहज हुने र त्यसले सफलता दिलाउने बताउनुभयो ।

सो अवसरमा, त्रिभुवननगर जेसीजका अध्यक्ष टंकबहादुर रावत अनन्त, दाङ महिला जेसीजका पूर्व अध्यक्षहरु जीवा भुसाल, सुशीला पौडेल, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष प्रमिता चौधरी, विद्यार्थीहरु सिष्टता बस्नेत, नन्जिता पाण्डेलगायत बोल्नुभएको थियो ।

उपाध्यक्ष माया चौधरीको आस्थापाठ एवम् कार्यक्रम संयोजक दिपा पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गर्नुभएको थियो ।

जेठ ३१ गते उदघाटनसँगै रक्तदान कार्यक्रम गरेर जेसीज सप्ताह शुरुवात गरेको दाङ महिला जेसीजले दोस्रो दिन असार १ गते घोराही १३ को ज्यामिरे सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम, तेस्रो दिन घोराही ञ्४ झिँगौरामा अपांगता भएकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । अब बुधबार असार ४ गते पाँचौं दिन घोराही ५ धर्नामा प्रजनन् स्वास्थ्य परामर्श कार्यक्रम आयोजना गरिएको छ भने असार ५ गते छैठौं दिन घोराही १७ गैरागाउँस्थित फुटसल मैदानमा महिलाहरुबीच फुटसल प्रतियोगिता हुने भएको छ ।

जेसीज सप्ताह समापनका अवसरमा असार ७ गते अम्बिकेश्वरी मन्दिर परिसरमा साहित्यिक कार्यक्रम गरिने भएको अध्यक्ष ढकालले बताउनुभयो ।