Ad Area

सामाजिक सञ्जालबाट कमाएको पैसा आफूले पढेको विद्यालयलाई सहयोग


दाङ, ३ असार । विदेशमा रहेर पनि जन्मभूमिप्रतिको माया कसरी कायम राख्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेका छन् कृष्णबहादुर घर्ती।

भारतको राजधानी नयाँ दिल्लीस्थित एक प्रतिष्ठित रेस्टुरेन्टमा प्रमुख सेफको रूपमा कार्यरत घर्ती सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सकारात्मक सन्देशहरू प्रवाह गर्दै आएका छन्। हालै उनले सामाजिक सञ्जालमार्फत पाएको पहिलो आम्दानी आफूले अध्ययन थालेको विद्यालयमा सहयोग गरेर समाजसेवाको अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन्।

घर्तीले प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका–१ मा रहेको शान्ति प्राथमिक विद्यालय डुटा बेलटाकुरालाई ५०० थान कापी, ४०० थान पेन्सिल र १ थान भलिभल सहयोग गरेका हुन्। उक्त सामग्री हालै विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको छ।

प्युठानको बाह्रबिसेमा पिता विष्णुबहादुर जिसी र आमा देबादेबी जिसीको कोखबाट जन्मिएका घर्तीको परिवार दाङको घोराही उपमहानगरपालिका–३, बञ्जाडीमा बसोबास गर्दै आएको छ। उनी रोजगारीको सिलसिलामा विगत केही वर्षदेखि भारतमा रहँदै आएका छन्।

विद्यालयलाई सहयोग गर्दै घर्तीले भने, “मैले पढ्न सुरू गरेको विद्यालय अझै पनि न्यून स्रोतमा चलिरहेको थाहा पाएँ। त्यसैले सामाजिक सञ्जालमार्फत आएको पहिलो कमाइ यतै खर्च गर्ने निधो गरेँ।” उनको यो कार्यले समाजमा सकारात्मक सन्देश फैलाउनुका साथै अन्य सफल व्यक्तिहरूलाई पनि आफ्नै समुदाय र विद्यालयप्रति उत्तरदायी बन्न प्रेरणा दिने विश्वास लिइएको छ।