Ad Area

कृषि उत्पादन प्रवर्धन गर्न ८ जना किसानलाई कृषि सामग्री सहयोग


घोराही, ४ असार । कृषि उत्पादन गर्न र व्यवसाय प्रवर्धन गर्न किसानलाई कृषि सामग्री सहयोग गरिएको छ । कृषि पेशामा आवद्ध भई राम्रो काम गर्दै आएका ८ जना किसानलाई ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले करिब २ लाख ५० हजार बराबरको कृषि सामग्री हस्तान्तरण गर्नुभएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा दाङ र सल्यानमा सञ्चालन भईरहेको तरकारीको मुल्य श्रृंखलामा नवप्रर्वद्धनमार्फत ग्रामीण महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता विकास परियोजना अन्तरगत लमही नगरपालिका वडा नम्बर २ मा रहेको समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्थाका ८ जना किसानहरुलाई कृषि सामग्री हस्तान्तरण गरिएको हो ।

महिला उद्यमी सहकारीको समग्र उत्पादनलाई एकद्वार प्रणालीमार्फत उत्पादन र बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको परियोजनाले सहकारीमा आवद्ध किसानलाई प्रोत्साहन गर्न यस प्रकारको सहयोग गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।

उहाँका अनुसार, तरकारी उत्पादनको क्षेत्रमा नेपालमै पहिलो पटक ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालको पहलमा दाङमा प्रशोधन केन्द्रको स्थापना गरी दाङं र सल्यानमा रहेका १० वटा महिला उद्यमी सहकारीमा आवद्ध किसानलाई सहयोग गरिएको छ ।

अग्र्यानिक तरकारी उत्पादन गर्ने कृषक महिलाहरुलाई व्यावसायिक बनाउन परियोजनाबाट ८ जना महिला किसानहरुलाई प्रति किसान ३० हजार रुपैयाँका दरले कृषि सामग्री र समुहगत रुपमा प्राविधिक शिक्षा हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

यसअघि पनि समुन्नती सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध २४ जना महिला किसानहरुलाई ३० हजार रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको थियो ।