धर्नामा महिला जेसीजको प्रजनन स्वास्थ्य परामर्श

घोराही, ४ असार । दाङ महिला जेसीजले जेसीज सप्ताह २०२५ का अवसरमा पाँचौँ दिन घोराही ५ धर्नास्थित फूलबारी टोलमा प्रजनन स्वास्थ्य परामर्श कार्यक्रम गरेको छ ।
महिला जेसीज अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा बुधबार सो क्षेत्रका महिला, किशोरीहरुलाई प्रजनन स्वास्थ्यका बारेमा सचेतना प्रदान गर्दै प्रजनन स्वास्थ परामर्श गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि डिसीले पछिल्लो समय महिलाहरुको प्रजनन स्वास्थ्यमा चुनौति थपिँदै गएको हुँदा यस प्रकारका कार्यक्रमले महिलाहरुको स्वास्थ्यमा सुधार ल्याउन सघाउने बताउनुभयो ।
उहाँले पालिकाले महिलाहरुको पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि भिआईए स्क्रिनिङलाई प्राथमिकता दिएर काम गर्दा थुपै्रले समयमै उपचार सेवा पाउन सफल भएको बताउनुभयो ।
गाउँघरमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्यलाई लाजका रुपमा लिने र रोग लुकाएर बस्ने परिपाटीका कारण धेरैले अकालमा ज्यान गुमाउने गरेको भन्दै दाङ महिला जेसीजले प्रजनन स्वास्थ्य सचेतना अभियान गाउँसम्म पुर्याएर सराहनीय काम गरेको बताउनुभयो ।
सो अवसरमा महेन्द्र मावि धर्नामा अध्ययनरत छात्राहरु, स्थानीय महिलाहरुले प्रजनन स्वास्थ परामर्श लिनुभयो । १ सय ३० बढीलाई सचेतना प्रदान गरिँदा ३० जना बढीले प्रजनन स्वास्थ्य बारे परामर्श लिनुभएको थियो । उक्त कार्यक्रममा परामर्शदाताका रुपमा बिएस डाईग्नोष्टिक प्रालि घोराहीका स्त्री रोग विशेषज्ञ डा. मेलिना हमाल रहनु भएको थियो ।
प्रजनन स्वास्थ्य परामर्श कार्यक्रममा घोराही ५ का वडा सदस्य भुमबहादुर गिरी, सरीकोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिरालाल डाँगी, बिएस डाईग्नोष्टिक प्रालिका सञ्चालक शिशिर सुवेदीलगायत बोल्नु भएको थियो ।
दाङ महिला जेसीजकी सदस्य सरस्वती वली केसीको आस्थापाठबाट शुरु भएको कार्यक्रममा कार्यक्रम संयोजक माया चौधरीले स्वागत गर्नुभएको थियो ।
सप्ताह व्यापी कार्यक्रम बारे मूल संयोजक लक्ष्मी चौधरीले जानकारी गराउनुभएको थियो भने धन्यवाद तालिम निर्देशक आराधना सिंह ठकुरीले व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गर्नुभएको थियो ।