Ad Area

गोरखा स्कूल हाप्किडो डोजाङलाई २७ पदक


दाङ, ९ असार । रुपन्देहीको बुटवलमा भएको १०औँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा गोरखा स्कूल हाप्किडो डोजाङका खेलाडीले उत्कृष्ठ प्रदर्शन गरेका छन् ।

प्रतियोगितामा गोरखा स्कूल हाप्किडो डोजाङका खेलाडीले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै ११ स्वर्ण, ४ रजत र १२ कास्य पदक गरी कुल २७ पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगिताभर अनुशासन, आदर्श आचरण र विनम्र व्यवहार प्रस्तुत गरेकी गोरखा स्कुल हाप्किडो डोजाङका खेलाडी अंकिता घर्तीमगरलाई ‘अनुशासित खेलाडी’ को रूपमा सम्मानित गरिएको थियो । सम्मानित खेलाडी घर्तीमगरले सम्मानले विद्यालय र डोजाङका अन्य खेलाडीलाई पनि अनुशासन र समर्पणप्रतिको प्रेरणा दिएको बताइन् ।

प्रतियोगिताभर निष्पक्ष निर्णय, अनुशासित व्यवहार र उत्कृष्ट निर्णायक क्षमताका आधारमा गोरखा स्कूल हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक तथा डोजाङ प्रमुख विशाल थापालाई ‘सर्वोत्तम रेफ्री पुरस्कार’ प्रदान गरिएको छ । हाप्किडो खेलको विकासमा प्रशिक्षक थापाको निरन्तर योगदान, प्रशिक्षण कार्य र निर्णायक भूमिकाले सफलता प्राप्त गरेको बताए ।

गोरखा स्कूल हाप्किडो डोजाङले राष्ट्रिय प्रतियोगितामा देखाएको सफलता केवल पदक संख्यामा मात्र होइन, खेलको गुणस्तर, अनुशासन र नेतृत्व क्षमतामा पनि देखिएको प्रशिक्षक थापा बताउँछन् । उनले टिमको समर्पण, कठिन प्रशिक्षण र निरन्तर अभ्यासको फलस्वरूप सफलता प्राप्त गरेको बताएका छन् ।

डोजाङ परिवार, विद्यालय प्रशासन, अभिभावक वर्ग र स्थानीय सबैले सफलतामा खुसी व्यक्त गर्दै खेलाडीलाई बधाई दिँदै आगामी दिनमा थप सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । प्रतियोगितामा देशभरका विभिन्न विद्यालय र डोजाङका खेलाडीले सहभागिता जनाएका थिए ।